१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनप्रतिनिधिले जनताको विश्वास कायम राख्नुपर्छः प्रधानमन्त्री ओली


२६ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गर्नुभएको छ ।

विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनुभएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिनुभयो ।

उहाँले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लडियो भन्दै अब, देशमा सुशासन जनताको भलाइ कसरी गर्ने, सामाजिक सम्पन्नता र आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले व्यवस्था गरेका हक अधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिकरुपमा कार्यान्वयन गरी आर्थिक समृद्धि र सुशासनतर्फ केन्द्रित हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ भन्दै जनप्रतिनिधिलाई जनताको सेवकका रुपमा काम गर्न, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने संकल्पका साथ अगाडि बढ्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ । मैले त्यसैगरी, मन्त्रिपरिषद् र कर्मचारीतन्त्रलाई पनि स्वच्छरुपमा काम गर्न निर्देश गरेको छु ।”

हामी जनप्रतिनिधि प्रति जनताको सम्मान र विश्वास रहेको र जनप्रतिनिधिलाई खान पाउन पनि समस्या नरहेको उल्लेख गर्दै उहाँले ६० देखि ८० लाख गरिबीमुनि रहेका जनतालाई परिवर्तनको अनुभूति गराउनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रियताको सम्बन्धमा चर्चा गर्दै उहाँले भन्नुभयो, “मुलुक कहिल्यै पनि उपनिवेश नबनेको, स्वाधीन राष्ट्रका रुपमा रहेको र अब नेपाल उचाइमा पुगेको र सबै देशसँग बराबरीमा रहेर आफ्नो निर्णय आफैँ गर्छ ।”

उहाँले प्रदेशहरुलाई योजनाका लागि बजेटको व्यवस्था संघीय सरकारले ऋण लिएर भए पनि उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

उहाँले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै आधारभूत समझदारी, स्थायित्व, शान्ति, विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

आफ्नो भारत भ्रमणपछि भारतसँग राम्रो सम्बन्ध बनेको, भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सम्बन्ध थप राम्रो भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल–भारतको राम्रो सम्बन्धको विकासका क्रममा विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालय हटेको, सिमानामा बाँध बाँधिएका कारण डुबान क्षेत्रको सर्वे, सीमा समस्याका साथै जुलाईको प्रारम्भमा १९५०को सन्धिको अद्यावधिक गर्नका लागि विज्ञहरु काम गरिरहेका छन् ।”

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार १८:१७