१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

म्यानपावरका फरार अभियुक्त थपलिया १० कराेड बोकेर श्रममन्त्री हटाउने अभियानमा


२५ जेठ, काठमाडौँ । सिन्डिकेट खडा गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैध ढंगले रकम असुल्दै आएका मेडिकल व्यवसायी विरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गृहमन्त्रालयको समन्वयमा कारबाही सुरु गरेपछि ठगहरु तिलमिलाएका छन । केही ठगहरु अहिले पनि प्रहरी कस्टडीमा रहेका छन भने कतिपय प्रहरीकै सेटिङमा फरार अभियुक्त बनेर बसिरहेका छन ।

सरकारकाले कारबाही सुरु गरेका ती व्यवसायीहरुले साढे दुई वर्षको अवधिमा साढे ५ अर्ब ठगी गरेको अुनसन्धनको क्रममा देखिएको छ । यता प्रहरीले भने व्यवसायीको बिगो भने २२ करोड ५६ लाख ५६ हजार मात्र भराउने निर्णय गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ । यसले गर्दा प्रहरी ठग व्यवसायीसँग मिल्न पुगेको आशंका गरिएको छ । सिन्डिकेट खडा गरेका ३९ मेडिकल व्यवसायीले माइग्राम्स, बायोमेट्रिक्स, भिएलएन, ओएसजी, आइएससीलगायतका ५ संस्थाबाट मलेसिया जाने कामदारसँग अवैधरुपमा रकम असुल्दै आएका थिए ।

प्रहरीले गत जेठ ३ गते मलेसिया जाने कामदारलाई अवैध रुपमा ठगी गरेको आरोपमा २४ मेडिकल संस्थाका ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये १४ जना कार्यालयमा काम गर्ने कर्मचारी परेको भन्दै केही दिनमा छाडिएको थियो । ठगीमा संलग्नमध्ये १२ जना मेडिकल सञ्चालक अझै फरार छन् फरार रहेका मध्ये आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) र कोसी इन्टरनेशनल प्रालिका संस्थाका सञ्चालक गोविन्द थपलिया भने मन्त्री नै परिवर्तन गर्छु भन्दै व्यवसायीका बीचमा गफ दिइरहेका छन ।

दरबारमार्गको अन्नपूर्ण कफी सपमा बसेर श्रममन्त्री विष्टलाई नै परिवर्तन गर्छु भेनर गफ दिने थपलियालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उच्च राजनीतिक संरक्षण र प्रहरीको समेत उच्च अधिकृतसँगको मिलेमतोमा आफ्नो ठगी धन्दा चलाउँदै आएका थपलिया सामान्य अवस्थामा सहरमा रहँदा समेत पक्राउ नगर्नुले प्रहरीको नियमतमा शंका देखिएको छ । थपलिया मन्त्री नै परिवर्तन गर्छु गाडीमै १० करोड बोकेर हिडेको छु भन्दै गफ दिँदै हिड्ने अनि प्रहरीले चाहिँ फारकारको सूचीमा राखेर आँखा चिम्लिनुले थुप्रै प्रश्नहरु जन्माएको छ । यद्यपी दैनिकीसँगको कुराकानीमा थपलियाले आफूले १० करोड बोकेर हिडेँको विषय स्वीकार नगरेपनि मन्त्री हटाउन चलखेल गरिरहेको बारेमा घुमाउरो पाराले स्वीकार गरे ।

राष्ट्रिय अनुसन्धान विभागको जागिरको सिलसिलामा गलत आचरणका कारण कारबाहीमा परेपछि थपलिया वैदेशिक रोजगार व्यवसयामा प्रवेश गरेका थिए । नेपाल प्रहरीका पूर्व डिआइजी नवराज ढकालसँग समेत पार्टनशीप गरेका थपलियाले मलेसिया जाने कामदारमाथि थप आर्थिक शोषणको योजना ल्याएपछि ढकालले समेत साथ छााडेका थिए ।

ठगीको आरोपमा २०७३ पुष २८ गते नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको थियो । कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले कारबाही गरिएको तत्कालीन अवस्थामा मञ्चका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिएका थिए । आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको थियो ।

सिन्डिकेट खडा गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैध ढंगले रकम असुल्दै आएका मेडिकल व्यवसायी विरुद्ध कारबाहीको कमाण्ड सम्हालेका नेपाल प्रहरीका डिइजी धिरु बस्नेतले दैनिकीसँग कुरा गर्र्दै मन्त्रीकै निर्देशन अनुसार काम गरिरहेका भन्दै फरारहरु पनि केही दिनमै पक्राउ पर्ने बताए । उनले केही नयाँ तथ्यहरु समेत भेटिएको भन्दै ठगीको ठूलो जालो तोड्न मन्त्रीको अभियानमा कुनै पनि कसर बाँकी नराख्ने बताए ।

यो पनि पढ्नुस्

–वैदेशिक राेजगारीमा रहेको सिण्डिकेट अन्त्य गर्ने श्रममन्त्री विष्टको निर्णय (भिडियोसहित)

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १९:०२