१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चन्द्रगढी विमानस्थलबाट ६ महिनापछि उडान शुरु


५ असोज , झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले ६५ जना र १२ः४५ बजे यति एयरले ६८ जना यात्रु बोकेर चन्द्रगढी विमानस्थलबाट काठमाडौँका लागि प्रस्थान गरेको जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लागू गरेको बन्दाबन्दीयता मुलुकभरका विमानस्थल बन्द छन् । चन्द्रगढी विमानस्थलबाट चार्टर उडानसमेत भएको थिएन ।

यात्रु सुरक्षाका लागि विमानस्थलमा सामाजिक दूरी कायम गर्ने, स्यानिटाइजर गर्ने र लामबद्ध हुने व्यवस्था मिलाइएको हुँदा खासै भीडभाड नभएको विमानस्थल प्रमुख पौडेलले बताउनुभयो । छ महिनापछि विमानस्थलबाट उडान सञ्चालन हुँदा यात्रुमा खुशी छाएको अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालले बताउनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १५:३७