१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारी चिकित्सक संघमा रविन खड्काको प्यानल विजयी, कांग्रेस निकट उम्मेदवारको शर्मनाक हार


२४ साउन, काठमाडाैँ । सरकारी चिकित्सक संघ (गोदान)मा नेकपा निकट राष्ट्रिय चिकित्स संघका उपाध्यक्ष डा रविन खड्काको प्यानल नै विजयी भएको छ । शनिबार भएको निर्वाचनबाट भारी मतका साथ डा खड्का अध्यक्षमा विजयी भएका छन । नेकपा निकटका डा खड्कले कांग्रेस निकटका अध्यक्षका उम्मेदवार डा समाज गौतमको भन्दा दोब्बर मत ल्याएका छन ।  डा खड्काले ४८० मत पाउँदा उनका प्रतिस्पर्धी डा गौतमले २३७ मत मात्र पाए । खड्का गोदानका निवर्तमान महासचिव समेत हुन ।

संघका ७६८ मतदाता मध्ये ७२३ जनाले मतदान गरेका थिए । निर्वाचन समितिका संयोजक डा रुद्र मरासिनीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा डा विजय थापा विजयी भएका छन् उनले ४३९ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी डा राम प्रसाद सापकोटाको २६८ मत प्राप्त गरेका छन । उनीहरू सबै कांग्रेस निकटका उम्मेदवारलाइ शर्मनाक हार चखाउँदै विजयी भएका हुन ।

उपाध्यक्षमा डा सुशील मोहन भट्टराई, महासचिवमा डा कीर्तिपाल सुवेदी, सचिवमा डा रोशन भगत चौरासिया, कोषाध्यक्षमा डा सुधा शाही विजयी भएका छन । यस्तै संघको सदस्यमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरव शाह, डा प्रकाश भट्टराई, डा विजय कुमार मेहता, डा विजय गुरुङ, डा हेमा जोशी र डा सुशन भट्टराई निर्वाचित भएका छन् । कुल ७ सय ६८ मतदातामध्ये ७ सय २३ जनाले मतदानमा भाग लिएका थिए ।

मतपरिणामपछि दैनिकीसँग कुरा गर्दै राष्ट्रिय चिकित्स संघका अध्यक्ष डा सन्तोष पौडेलले सरकारले लिएको नीति र संघको निरन्तरको पहलकदमीप्रति सरकारी चिकित्सकहरूले विश्वासका साथ थप जिम्मेवारी सुम्पेको बताए । उनले नयाँ नेतृत्वले सरकारी चिकित्सहरूले गरेको विश्वास गुम्न नदिइ चिकित्सक मैत्री नीतिका लागि थप पहल गर्नुपर्ने बताए ।

राष्ट्रिय चिकित्स संघले चिकित्सक मैत्री स्वास्थ्य नीतिका लागि लिएको पहलकदमी निर्वाचन मार्फत सरकारी चिकित्सकले अनुमोदन गरेका छन । संघले एक चिकित्सक एक स्वास्थ्य संस्था लगायतको महत्वपूर्ण विषयमा पनि निरन्तर नीतिगत पहल गर्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व सम्हेलेदेखि नै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी चिकित्सकले पाउने सुबिधामा व्यापक परिवर्तन गराउनका लागि आवाज उठाउँदै आएका छन । उनले सोही तहका निजमति सेवाका कर्मचारीले आकर्षक सुबिधा पाए पनि सोही तहका स्वास्थ्य सेवा चिकित्सकहरूले सुबिधा नपाएको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताउँदै आएका छन ।  उनले सरकारी चिकित्सकको दरबान्दी थप्ने र उनीहरूको सुबिधा बढाउने लगायको विषयमा निरन्तर सार्वजनिक रूपमै प्रतिवद्धता जनाउँदै आएका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार २०:४६