२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सम्झनामा भूमि आन्दोलनका अभियन्ता


-विश्वास नेपाली

यही साउन १७ गते किसान आन्दोलनको अगुवाहरु भिमदत्त पन्त, तुलसीलाल आमात्य र बलदेव रामको स्मृती दिवस परेको हुँदा यसलाई संस्थागत रुपमा अघि बढाउने गरी भूमि अधिकार अभियान कार्यक्रम तय भएको छ । अभियान र आन्दोलनलाई सफल रुपमा अघि बढाउनको लागि विभिन्न समयमा विभिन्न अगुवा तथा नेतृत्वहरुको भूमिका र योगदान रहेको हुन्छ, उनीहरुलाई सम्झने, स्मरण गर्ने र उनीहरु देखाएको बाटोलाई पछ्याउँदै अघि बढेको एक दिन अवश्य पनि सपना पूरा हुनेछ ।

भूमि, कृषि र दलित अधिकार अभियान तथा आन्दोलनमा बलदेव रामको योगदान महत्वपूर्ण छ । सप्तरीको कञ्चनपुरमा जन्मिएका बलदेव रामले जीवनभर अधिकार विहीन वर्गको अधिकार प्राप्ती र मुक्तीको लागि सङ्घर्ष गर्नुभयो । उनी अहिले हामी सामू छैनन् । हामी सामू उनको सम्झना मात्र बाँकी छ । उनले सुरुवात गर्नु भएको अधिकार प्राप्तीको आन्दोलन निरन्तर छ । यो देशभर फैलदो छ ।

अधिकार प्राप्तीको आन्दोलनमा उनको ठूलो सङ्घर्ष र योगदान छ । बलदेव रामले जीवनभर अधिकार र मुक्तिको लामो लडाईं लडे । व्यक्तिगत स्वार्थ कहिल्यै हेरेनन्, सम्पूर्ण अधिकारविहीनको अधिकार रक्षाको लागि बोले । डटे र जीवनको अन्तिम क्षणसम्म पनि सङ्घर्ष गरिरहे । उनले नेतृत्व गरेको आन्दोलनहरू सफल भएका छन् । त्यसैले त उनको सम्झना धेरैले गर्छन् । भूमि अधिकार आन्दोलनको इतिहासमा बलदेव राम सम्झीरहने पात्र बनेका छन् ।

 

बलदेव राम एक अथक योद्धा थिए । उनले दिएका प्रेरणा, देखाउनु भएको बाटो, पुर्याउनु भएको योगदानको सम्झनाहरू ताजै छन् र रहिरहनेछन् । वि.सं. २०७४ साउन १७ गते ६७ वर्षको अल्प उमरमै उनी यो संसारबाट विदा भएका थिए । हृदयघातको कारण यो संसार छोड्न पुगेका थिए । उनको देवसाहनसँगै भूमि अधिकार आन्दोलनले एक अथक अभियान्ता गुमाएको छ । भूमि अधिकार आन्दोलन, दलित अधिकार आन्दोलन र सिनो छोड आन्दोलन ।

यी आन्दोलनमा उनले कुशल नेतृत्व गरेका थिए । सामान्य गरिब, भूमिहीन र दलित परिवारमा जन्मिएका बलदेवले जीवनभरी कडा सङ्घर्ष गर्नु पर्यो । दुःख के हो चिनेका थिए र दुःखमा सङ्घर्ष गर्दै अघि बढ्न प्रेरणा दिएका बाँडेका थिए । भूमि अधिकार अभियानलाई देशव्यापी बनाउन जिल्ला जिल्ला पुग्दा उनी यस्तै प्रेरणाहरू बाड्थे । जीवनमा औपचारिक शिक्षा धेरै नलिएका बलदेवको झोलामा भने सधैं जीवन दर्शन, सामाजिक आन्दोलन, अहिंसात्मक आन्दोलनका पुस्तकहरू हुन्थे । कलम र कापी टुट्दैन थिए ।

उनी अध्ययन गर्थे र सिकेको कुरा सङ्गठनका अगुवाहरू र साथीभाई माझ बाड्थे । उनको यो शैलीले आन्दोलनमा थप ऊर्जा मिलेको थियो । उनीसँगको विभिन्न आन्दोलन र अभियानको काममा भेट हुँदा हामीले पनि धेरै कुराहरू सुन्ने र सिक्ने अवसर पाएँका थियौं । एक पटक उनकै घरमा समेत पुगी उनीसँग कुराकानी गर्ने अवसर पनि जुरेको थियो । मलाई सम्झना छ, २०६२ सालको पुस महिनातिर बलदेव राम रसुवा सदरमुकाम धुन्चे आइपुग्नु भएको थियो । जतिबेला म भर्खरै भूमि अधिकार अभियानमा सङ्गठित हुँदै खोज्दै थिएँ ।

रसुवा सदरमुकाम सधैंभरी अति नै जाडो क्षेत्र हो । बाक्लो लुगा लगाउनुपर्ने बाध्यता हुन्छ । तर उनी एउटा कछाड (सेतो कपडा) बेरेर पातलो लुगा लगाएर टाउँकोमा फेटा बाँधेर लुगलुग काम्दै धुन्चे पुग्नुभएको थियो । अति नै साधारण भेषमा । उहाँलाई जाडो–गर्मीको प्रवाह थिएन, आफूजस्तै अधिकार विहीनलाई कसरी अधिकार प्राप्तिको अभियानमा सङ्गठित गर्ने भन्ने चिन्ता थियो । उहाँहरूको रसुवा आगमनपछि नै रसुवमा भूमि अधिकार अभियानको सङ्गठित रुपमा सुरुवात भएको हो ।

औपचारिक शिक्षाले मात्रै मानिसमा वाक शक्ति बलियो हुन्छ भन्ने होइन रहेछ भन्ने उदाहरण हुन् बलदेव राम । मानिसले जीवनमा गरेको काम, भोगेको अनुभव र सङ्घर्षले पनि धेरै ज्ञान र सिकाई वृद्धि गर्न सकिन्छ र अरुलाई पनि बाड्न सकिन्छ भन्ने एक साक्षी उदाहरण थिए बलदेव राम । आफ्नो मुद्दामा तिख्खर र स्पष्ट वाक शक्ति, सामाजिक तथा अहिंसात्मक आन्दोलनको कुशल नेतृत्व गर्न सक्ने उनमा खुवी थियो । जुन उनले आफ्नो जीवनमा गर्न सफल भएका थिए ।

जीवनभर दुःख पाएर पनि दुःखको बदला लिन हुन्न भन्ने भावना, अधिकार लिने लडाईं अहिंसात्मक र रचानात्मक हुनुपर्छ, यसैबाट अधिकार स्थापित गर्न सकिन्छ भन्ने प्रेरणादायी विचार, सादा जीवन उच्च विचार राख्ने व्यक्ति बलदेव दाइको धेरै सङ्घर्षका क्षणहरू छन् । उनले सङ्घर्षपूर्ण आन्दोलन ‘सिनो छोड’ आन्दोलनबाट गरेका थिए । वि.स. २०५६ सालमा सप्तरीको मधपट्टिको एउटा गाउँबाट चमार समुदायले सिनो नफाल्ने अडान लिएर आन्दोलन गरेका थिए । त्यसको कुशल नेतृत्व गर्दै बलदेव रामले त्यसअघि चमार समुदायले सिनो पाल्नुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य गराई वषौंदेखिको एउटा बन्धनबाट मुक्त गराएका थिए ।

भूमि आन्दोलनका अभियन्ता बलदेव राम

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको २ कार्यकाल नेतृत्व सम्हाल्नु भएका बलदेव रामले जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नु भएको पाएका छौं । पटक पटक भएका आन्दोलन र अभियानहरू अहिंसात्मकरुपमा भएका थिए । भूमि अधिकार मञ्चमा तेतृत्व गर्दा गर्दै उहाँ २०६५ मा नेपाल सरकारले गठन गरेको उच्चस्तरीय वैज्ञानिक भूमि सुधार आयोगको सदस्य समेत भएर योगदान गर्नुभयो । उहाँले अधिकार प्राप्तीको आन्दोलमा पुर्याउनुभएको योगदानको पछिल्लो पुस्ताहरूले अनुशरण गर्नुपर्ने धेरै पाटाहरू छन् ।

अधिकार प्राप्तीको अभियान सकिएको छैन, अभियान सकिने विषय पनि होइन, यो निरन्तर छ त्यसैले अधिकार प्राप्तीको लडाईंमा सङ्गठित अगुवा, कार्यकर्ता र बलदेव राम जस्ता असल अगुवाहरूले देखाउनुभएको बाटोको अनुशरण गर्नुपर्ने भूमि तथा कृषि सुधारको अभियानमा सङ्गठित सबैले गर्नुपर्ने आवश्यकता छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १२:०५