२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

केपी ओली नेतृत्वको सरकार गिराउन मरिहत्ते गर्ने नेताले पार्टी जिम्मेवारी कति पूरा गरे ?


-किरण देउजा

नेकपामा पार्टी भित्रको विवाद अब नौलो रहेन, कुर्सी नपाउनेहरू निरन्तर अनेक बहाना गरेर तनाव सिर्जनामा केन्द्रीत देखिए । विवाद र तनावले बैठक बस्ने कुरा अचम्म हुन थालिसक्यो । तोकिएको समय नहुने लगभग पक्कापक्की जस्तै भैसक्यो । पार्टीको आधिकारिक बैठक सार्न तत्पर हुने तर बरु गुटको बैठक भनेकै समयमा हुने, सबै उपस्थित हुने । कम्युनिस्टहरूमा यो सामान्य जस्तै भैसक्यो ।

चार महिनायता कोरोनाको कहरले नेकपाका शीर्षस्थ भनिएका नेताहरूलाई छोएन, अहिले प्राकृतिक प्रकोप (बाढी पहिरो) प्रति पनि खासै मतलब छैन् । अझ भन्नुपर्दा जनचासोको विषयमा मौन हुने, पदको बाँडफाँडको लागि चै दुइ टुक्रा हड्डीका लागि ४/५ वटा कुकुरहरूले हारालुछ गरे झै गरेर जनमतको खिल्ली उडाउदै, आङ कन्याएर छारो उडाउनै नै ब्यस्त छन् ।

एउटा राजनीतिप्रति चासो राख्ने सामान्य मानिसले पनि बुझेको कुरा के हो भने, नेकपा भित्र कुनै सैद्धान्तिक मतभेद देखिदैन्, देखिन्छ त केबल पदीय लडाइँ । किन भने सत्ताको भत्ता खाएर मैमत्त हुनु छ, आफ्ना मान्छेहरूलाई कमाउ अड्डामा राख्नुछ, केही दलालहरुको काम गर्नुपर्ने छ । ती दलालहरुको काम गर्छु भनेर बैना लिइसकेको छन्, नुनको सोझो गर्नुछ । अनि किन गर्दैनन् त झगडा ?

नेकपाको स्थायी कमिटीको बैठक गत असार १० गते देखि जारी छ। पटकपटक स्थगित हुँदै गर्दा, पछिल्लो समयमा श्रावण ४ गतेसम्मको लागि स्थगित गरिएको छ। स्थायी कमिटीको पहिलो दिनको बैठकले विभिन्न सातवटा एजेण्डा तय गरेको थियो । ती एजेण्डाहरु यस्ता थिए-

• अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य ।

• कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारबारे ।

• सीमा समस्या र समाधानबारे ।

• सरकारको कामको समीक्षा ।

• पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता ।

• एमसीसीबारे ।

• विविध । (यसअन्तरगत रुकुमको दलित हत्या सम्बन्धमा, नागरिकता विधेयकका सम्बन्धमा र सांसद एवं प्रदेशसभा सदस्यको बैठक भत्ता आदिबारे)

बैठक सुरु भएको दिन यता एजेन्डा अनुसार छलफल भयो कि भएन त ? सरकारले कति काम गर्‍यो/गरेन ? जमेर छलफल भयो कि भएन ? बैठकमा कसरी विना प्रसंग एक ब्यक्ति एक पदको कुरा उठाइयो ? छिमेकी राष्ट्रले सरकार असफल बनाउने खेलमा छ भन्दा, छिमेकी भनेको नै हामी हौं, हामीले नै हो असफल बनाउन लागेको भन्ने कुरा बाटै कुरा प्रष्ट हुन्छ ।

बैठकको एजेन्डा खासै छलफल नगरि किन विषयान्तर गरियो ? के अहिले एक ब्यक्ति एक पद भन्ने बेला हो ? पार्टी नीति, विधिले चलिरहेको भए, यो संकटमा सत्ता परिवर्तनको लागि लाग्ने कि जनताको पीडामा मल्हम लगाउने ? जनताहरुले बुझिसके की ७० आसपास पुगेका यी बुढा नेताहरूले जनताको लागि काम गर्दैनन् भन्ने ।

आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको सरकार गिराउने खेलमा लागेका केही नेताहरुले पार्टी जिम्मेवार कति बहन गरेका छन् त ? इतिहासको कुरा गर्न खोजेको होईन, २०७५ जेठ ३ मा पार्टी एकता भएको अनि एकता पश्चात् ३-६ महिना सकिने यी कामहरु अहिलेसम्म ज्युँका त्युँ छन् । पार्टी केन्द्र, केही जनवर्गीय संगठन र ७७ मध्ये ७४ जिल्ला कमिटीमा भागबन्डाको आधारमा संयोजक र सहसंयोजक तोकिए । तर धेरैजसो जिल्ला कमिटीले पूर्णता पाएका छैनन्, पाएकाहरु चलायमान छैनन् ?

अहिले सत्ताको खेलमा लागेका शीर्षस्थ नेताहरुले यो प्रश्नको बारेमा किन छलफल गर्दैनन् या गर्न चाहदैनन् ? मान्छेको जीवनको अन्तिम सत्य चिता भए जस्तै, यी नेताहरूको लागि अन्तिम सत्य सत्ताको कुर्सी मात्रै हो त ?

नेताज्यू यो विषयमा छलफल कहिले गर्नुहुन्छ ?

१) पार्टीको मार्गदर्शन सिद्धान्त बारे बहस खै ?

२) पार्टीको भावी योजना, रणनीति, कार्यनीति बारे छलफल बहस खै ?

३) प्रशिक्षण भन्ने कुन चराको नाम भैसक्यो ? नेता/कार्यकर्ताहरुमा नैतिक, आर्थिक , सांस्कृतिक विचलन देखिसक्यो, तपाईहरु किन मौन ?

४) पार्टी एकता पुर्ण नहुदा, बाकि रहेको पार्टीको काम गरौं भन्ने कुरा किन उठाउदैनन्? जब कि ७७ जिल्ला मध्य प्रदेश नं २ को धनुषा, महोत्तरी र रौतहटको जिल्ला कमिटीले अहिलेसम्म पूर्णता पाएका छैनन् ?

५) जबस (जनवर्गीय संगठन) कोमामा रहदा, त्यसलाई ब्युझाउने काम किन हुन सकेन ?

६) संगठन विनाको कुनै पनि संस्थाको कल्पना समेत गर्न सकिन्न। अझ कम्युनिस्ट भन्ने पार्टीमा त संगठन नै प्रमुख हुन्छ ।

७) आजको दिन सम्म संगठित सदस्य कति छन् भन्ने एकिन छैन्? अध्यावधिक समेत छैन्। किन मौन ?

८) पार्टी एकता भएको २ वर्ष पूरा हुँदा समेत नयाँ पार्टीको सदस्य/संगठित सदस्य वितरण भएको छैन् ?

९) अहिलेका शीर्ष नेताहरु करिब ७० वर्ष आसपासका (कोही ७० माथी, कोहि ७० को सन्निकट) छन् । उनीहरुको राजनीतिक भविष्य अबको ५ देखि ७ बर्ष बढीमा १० बर्ष । तर अहिलेका ४०/४५ देखि ५५ वर्ष उमेरका नेताहरुको भविष्यको बारेमा कस्ले सोच्ने ?

यसबाट नै प्रस्ट के बुझिन्छ भने अहिलेको लडाई वैचारिक, सैद्धान्तिक, पार्टीको नीतिबारे नभइ मात्र कुर्सीको लागि भन्ने बुझिन्छ । अबको दुइ  वर्ष पछि निर्वाचन हुन्छ । आउने २ वर्षको समेत भविष्य नदेख्ने नेताहरुबाट देश विकासको लागि असल नीति निमार्ण होला, सुशासन होला आदि भनेर आशा गर्ने जनता संसारमा हामी जति मूर्ख अरु कोहि नहोला । हस्त जयनेपाल।

(समसामयिक विषयमा कलम चलाउने देउजा अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।) 

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार १२:००