१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाह्रबीसे–तातोपानी सडक अवरुद्ध, उद्धारमा कठिनाइ


२६ असार, चौतारा । अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता र आठ घरमा क्षति पुगेको छ । भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एक जना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । बाह्रबीसे–तातोपानी सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ ।

विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उहाँले बताउनुभयो । दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पुर्याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ । सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

सतर्कता अपनाउन आग्रह

भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबीसेको पुरानो बजारमा बाढी पस्ने जोखिम बढेको छ । स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ । बाह्रबीसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । लामोसाँघु बजारको पश्चिम भेगका बासिन्दाले घर छाडेका छन् । सुनकोशीले तल्लो भागबाट कटान गर्न थालेका जनाइएको छ ।

लार्चा खोलाको पश्चिमतर्फ बासोबास गर्दै आएका स्थानीय घरबाट निस्केर डाँडाडाँडामा पुगेका छन् । उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन् । जताततै पहिरो नरोकिएकाले उनीहरु भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले जानकारी दिनुभयो । लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खा बन्दगाहमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी ढकालले स्थानीय प्रहरी र नेपाली सेनालाई खबर गरेको जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा बाढी आएको छ । नदीमा पानीको बहाव वढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ । पाँचपोखरीे, मेलम्ची, हेलम्बुलगायत गाउँपालिकाले स्थानीयलाई सुरक्षित बस्न र सजग हुन आग्रह गरेका छन् । बाह्रबीसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार १३:१६