१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सत्ताको लागि जे पनि गर्नेहरु फेरि अस्थिरताको बिउ बन्दैछन


-राजाराम ढकाल

राजनीति राज्यको नीति हो। राज्य, गर्ने साधन हो। राज्यको आकार र संरचना राजनीतिले नै तय गर्छ। युवामा देश देखिन्छ, बालबालिकामा बुझिन्छ। महिलाको अनुहारमा देश झल्किन्छ। वृद्धका गालामा देशका सिमाना भेटिन्छ। यस्तै-यस्तै धेरै ठाउँमा देश भेटिन्छ। देश भेटाउने र छाम्ने माध्यम नै राजनीति हो।

धर्म अफिम हो भनेको सुनिन्थ्यो तर आजकल राजनीतिमा अफिम लागेको देखिन्छ। घरनीति नबुझेकाले राजनीतिको गफ गर्दा हाँसो लाग्छ। घर मिलाउन नसक्नेले देश मिलाउने तर्क दिन्छन्। हावाको झोक्कामा समय उडिरहेछ। समयलाई महत्व दिईंदैन हाम्रो देशमा। समयलाई काल पनि भनिन्छ। काल भनेको मृत्यु हो। मृत्युसँग को डराउन्न होला र ? तर हाम्रो समाजमा समयसँग डराउने विरलै होला।

समयको मूल्य नै थाहा छैन। कसैले समयको मूल्य सिकाउँदैन यहाँ। न हामीलाई सिकाए, न हामीले सिकायौं। समयलाई संस्थागत पढाउनुपर्छ। पढ्नुपर्छ संस्थागत नै, अनि सिक्नुपर्छ समयलाई माया गर्न। विदेशमा समयलाई पैसामा बुझ्छन् मान्छेहरू। त्यही पैसा टिप्न जान्छन् हाम्रा युवाहरू। जबसम्म समयलाई बुझ्न र बुझाउन सकिँदैन, तबसम्म बेरोजगारमा दुख्ने घाउ सञ्चो हुँदैन।

वर्षौ भयो देशमा राजनीति अस्थिरता छाएको, जुन अहिलेसम्म स्थिरताको अनुभुती गर्न पाइएको छैन् । अहिले पाइन्छ कि,भन्ने थियो। तर सत्ताको लागि जे पनि गर्नेहरुले अस्थिरता तर्फ धकेल्न उद्द्त छन्, उनीहरू त्यसैका लागि वर्तमान सरकार ढाल्न कसिएका छन । यो विचमा इन्द्रावतीमा धेरै पानी बग्यो र बगिरहेकै छ। तर, राजनीतिक अस्थिरता हटेन्। अत्यास लाग्दो कुरा, हाम्रो पुस्ता यस्तै विषयमा गफ गर्दैमा बित्ने भयो। धेरै कठिन समय काट्यौ, महामारी भोग्यौं, तलका यी अवस्था अनुभूति गर्ने अहिलेको हाम्रो पुस्ताले जति अब आउने पुस्ताले नभोग्न समेत सक्छ।

– जनयुद्ध, (सशस्त्र द्धन्द्ध)
– राजाको प्रत्यक्ष शासन,
– संघीय लोकतान्त्रिक गणतन्त्र(जुन अहिलेको ब्यवस्था हो) – भूकम्प,
– नाकाबन्दी
– कोरोना कहर आदि।

देशले निकास पाउन राजनीतिक स्थिरता हुनुपर्छ। यो कसलाई थाहा छैन होला र ? जगजाहेर छ, घामजस्तै र्छलङ्ग छ, फेरि पनि हलो अड्केकै छ। हलो अड्काउने अनि गोरु पड्काउने खेलो चलिरहेकै छ।

नेपालका कठिन राजनीति गोरेटा फराकिला हुन खोजेका छन् । राजमार्ग/लोकमार्ग बन्ने तर्खरमा छन्। सबै चुनौती सजिला हुँदैनन्। राजमार्ग त्यसै बन्दैनन्। यसमा धेरैको त्याग थियो। धेरैले सिउँदो उजाडियो, धेरैको तातो रगत धर्तीमा बिलिन भयो, कयौं सपाङ्गहरु अपाङ्ग बने। तर देशले अझै काँचुली फेर्न सकेन।

अब अर्को सर्मपणको खाँचो छ देशलाई। पुराना आग्रह/ पूर्वाग्रह त्यागेर साझा एजेण्डा आर्थिक क्रान्ति नै हुनुपर्छ। उत्साह लाग्दो वातावरणको सृजना हुँदैछ । र, हुनु पनि पर्छ। स्थानीयस्तरमा जनताहरु “आफ्नो गाउँ आफै बनाउन” लागेको देखिन्छ। जनताको आकांक्षालाई राज्यले गतिलो योजना प्रस्तुत गर्दै जनताको मागमा सम्बोधन गर्दै, सरकार जनताको साथमा छ भनेर देखाउने बेला भएको छ।

केन्द्र सरकारले यस्तो प्रणालीको विकास गर्नु पर्‍यो कि, जुनसुकै काम गर्नको लागि सेवाग्राहीहरु सेवा लिन जाँदा कुनै झन्झट विना आफ्नो काम फत्ते गरून् । जस्तो कि भुइँमान्छेले सेवा लिन जाँदा घुस दिनुनपरोस, सहज पहुँच हुने ब्यवस्था गर्नुपर्‍यो। त्यसो हुँदा जनताहरु पनि खुशी, भ्रष्टाचार पनि कम हुने ।

राजनीतिले यसलाई सहज र सरल बनाउनुपर्ने हो। यो सिद्धान्तमा मात्र सीमित छ। राजनीतिक दल विनाको न त लोकतन्त्र सम्भव छ न त लोकतन्त्र विनाको राजनीतिक दल। यी दुई एक आपसका परिपूरक त हुन् नै। लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुँदैन। तर राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल नहुँदा यी दुइमा कुनै एक वा दुबै कमजोर हुन्छन्। देखिएको छ, बलिया हुन सकेका छैनन्। जसको परिणाम समाजमा द्वन्द्व पैदा हुन्छ। अस्थिरताले निम्तो पाउँछ। यी दुबै समाजका लागि घातक हुन् । त्यसैले राजनीति र लोकतन्त्र अन्तसम्बन्धित हुन्। र हुनुपर्छ पनि।

नेपालमा राजनीतिक पार्टी इतिहास हेर्ने हो भने १९९३ सालको नेपाल प्रजा परिषद नै पहिलो पार्टी हो। जुन राणा शासन अन्तको लागि जन्मेको थियो। २००७ सालमा अन्त पनि भयो राणा शासनको र प्रजातन्त्र आयो। त्यसपछि अन्य पार्टीहरू जन्मिए। अहिले आएर वर्षाको च्याउ सरि पार्टीहरू छन्। पार्टी बाट पार्टी जन्मेका छन्।

यसको पनि एउटा सीमा होला, बढुन् सीमासम्म। लोकतन्त्रले दल दर्ता गर्ने, निर्वाचनमा भाग लिन पाउने अधिकार दिएको छ। नेपाली नागरिकले जुम कुरा उपयोग गर्न सक्छन्। लोकतन्त्रको सर्वाधिक राम्रो पक्ष हो, निर्वाचन ।, चुनावबाटै नेता चुनिन्छन्। यसको विकल्प छैन।

अहिलेका युवा पुस्ता राजनीतिमा भविष्य नै देख्दैनन्, देख्छन् त केबल विदेशमा पढन जाने, उतै भासिने। अनि अहिले हरेक अभिभावक पनि आफ्ना सन्तान डाक्टर, ईन्जिनियर, पाइलट आदि बनोस, विदेश जाओस्, उतै सेटल होस भन्ने चाहन्छन् । यस्तो चाहना राख्नेले नेताहरु अनि देशलाई खुब गाली गर्छन् । देश बनेन भनेर। के देश बनाउने जिम्मा/ठेक्का नेताहरूलाई मात्र हो त ?

अनि कुनै पनि आमाबाबुले आफ्ना सन्तान नेता, शिक्षक, पत्रकार, वकिल, कलाकार आदि बन्छु भन्ने कुरा सुन्न चाहँदैनन् । हाम्रो संस्कार नै गलत दिशा तर्फ उन्मुख हुँदै गैरहेको छ। सबै पेशा एउटै हो, जुन पेशामा लाग्यो, त्यसैमा निरंतरता दिनुपर्छ, एकदिन अवश्य सफल हुइन्छ भनेर किन सिकाउन सक्दैनौ? परिवर्तन आफैबाट गर्नुपर्छ ।

के यही हो त राजनीतिक नेता बन्नको लागि चाहिने आधारभूत व्यवहार ? यस्ता नकारात्मक धारणालाई चिरफार गरेर फाल्नको लागि एउटा अभियानको जरुरी छ । जसले युवालाई आकर्षण गर्न सकोस् । जुन युवा पढाईमा अब्बल छ, अनुशासित छ, जसले देश हितको कुरा गर्छ, जसले सभ्यतामा विश्वास राख्छ । त्यस्तालाई राजनीतिमा समाहित गराउन सक्नुपर्छ ।

राजनीति स्कुलमा गरिन्छ, धारा पँधेरामा गरिन्छ, अर्काको खुट्टा तान्नमा गरिन्छ। स्कुल कलेजमा सबभन्दा बढी राजनीति गर्छन् भन्ने आरोप छ शिक्षकमाथि त्यसो त सबै क्षेत्रका मान्छेहरू जानी नजानी संलग्न छन् नै । आफूलाई नागरिक समाज भन्न रुचाउनेले पनि कुन नागरिक समाजको हितमा लागेका छन् भन्नुपर्छ। अहिलेको राजनीतिको लहर नै त्यस्तो छ कि म राजनीति विना चुप लागेर बस्छु भनेर कोही सुख पाउँदैन। कुनै न कुनै हावाको झोकामा बहनुपर्छ नै ।

राजनीति भनेको सामान्य मान्छेले फोहरी खेल हो भनेर नबुझ्नको लागि राजनीतिक आचरण सुध्रिनुपर्छ। लोकतान्त्रीक गणतन्त्र पछि मात्रै हामीले २ पटक संविधानसभाको लागि भएको निर्वाचन अनि संविधान जारी भएपछि भएको ३ तहको निर्वाचन हेरिसक्यौ। ती चुनावमा केही दलहरू अरुसँग हारेनन् बरु ती आफ्नैसँग पराजित हुनुपर्यो। सौताको रिसले पोइको काखमा फोहोर गर्ने जस्तो देखियो। आत्मघाती गोल भयो। यसले हाम्रा राजनैतिक आचरण र स्वभाव भ्रष्टीकरण भएको प्रष्टै देखिन्छ। व्यक्तिगत स्वार्थ र गुटगत अतीवादका कारण राजनीति फोहरी बनेको हो।

राजनीतिमा अपराधिकरण अर्को कुतत्व छ। आफ्नाले गरेको गल्तीलाई पनि विरोध गर्न नसक्नु र ढाकछोप गर्नु पनि दलगत कमजोरी हो। ठीकलाई बेठीक र बेठीकलाई ठीक भन्नुपर्ने संस्कारको अन्त्य गरिनुपर्छ। हरेक राजनैतिक पार्टीले आफूलाई सच्याउनुपर्छ, सुधार्नुपर्छ। विकास र विचारले जनताको मन जित्नुपर्छ। राष्ट्र र राष्ट्रियताका सवालमा जनलहर ल्याउनुपर्छ। भलै हामी गरीब छौं। तर राष्ट्रवादी छौं। छातीमा हात राख्दा हरेक मुटुको स्पन्दनले यसो भन्न सक्नुपर्छ।

दलमा एउटा व्यक्ति मात्र ठीक भएर नहुने कुरा प्रमाणित भैसकेको छ। तर एउटा व्यक्ति मात्र ठीक हुँदा त देशमा कति परिवर्तन आउँछ भने दलको नै आचरण सही दिशामा जाने हो भने असम्भव भन्ने चिज नै रहन्न। धेरै देखियो। राजनीतिले धेरै गर्न सक्दोरहेछ। महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्यो, गर्छ। त्यसैले बलवान छ राजनीति। उथलपुथल गर्न सक्छ राजनीतिले। पहाडलाई सम्याउन सक्छ र मैदानलाई पहाड बनाउन सक्छ। हाम्रा अगाडि उभिएको छ कोरिया जिरोदेखि हिरो बनेर। अनि सुस्ताएका र मुर्झाएका छन् अफ्रिकन् देशहरू राजनीतिक चपेटामा परेर।

त्यसैले राजनीतिमा हिरो बन्न राष्ट्र र समाजले खोजेका एजेण्डा अघि सार्नुपर्छ। अघि सार्ने मात्र हैन गरेर देखाउनुपर्छ। ज्ञान भएको अध्ययनशील हुनैपर्छ। समाज, समाजवाद, विकासवाद, मुकुण्डोवाद, अतिवाद आदि वादहरूको पहिचान र परख गर्नु जनताको कर्तव्य हो। यति धेरै राजनीतिको भूत चढेको छ हामीलाई कि कुनै मान्छेको नाम कुनै ठाउँमा आइहाल्यो भने सबभन्दा पहिला कुन पार्टी हो भनेर सोधिन्छ। अनि एउटा धारणा तत्काल बनाइन्छ। त्यहि धारणा अनुसार व्यक्तिको मूल्याङ्कन गरिन्छ।

अर्थ लगाइन्छ। राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखिन्छ। हाम्रा भन्दैमा राम्रा देख्न हुँदैन। त्यो संस्कारको अन्त हुनुपर्छ। अनि बल्ल सुध्रन्छ समाज। सुध्रन्छौं हामी पनि। तसर्थ राजनीति नसुधारिए हामी सुध्रन्नौ। हामी नसुध्रे राजनीति सुध्रन्न यहि कुराको मनन गर्न सके केही हुन्थ्यो कि।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १०:००