१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेविसंघको इकाइ जस्तो बन्यो नुवाकोट आदर्श बहुमुखी क्याम्पस, दिनहुँ हुन्छ अनैतिक काम


-अनुजकुमार श्रेष्ठ

नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टार नुवाकोटको पूर्व बिद्यार्थीको नाताले क्याम्पसमा ब्याप्त बेतिथीहरुका बारेमा मौन बस्न सकिन। आफू अध्ययन गरेको क्याम्पसको बारेमा धेरै नकारात्मक टिप्पणी सुन्नु पर्दा साह्रै नमज्जा लाग्ने रहेछ ! शैक्षिक क्षेत्र नैतिकता र मर्यादाको ज्ञान सिकाउने शिक्षा मन्दिर हो ।

बुद्धिजीवी प्राज्ञिक व्यक्तित्वहरुको समूह रहने स्थानमा सधैं राजनीतिक खिचातानी, जालझेल षड्यन्त्र हुनु दुस्खद कुरा हो। नुवाकोट जिल्लाको केन्द्र विदुर नगर पालिका ४, बट्टार बजारमा रहेको नुवाकोटको सबैभन्दा पुरानो र ठूलो क्याम्पसमा बेथितिको चाङ लाग्नु लाजमर्दो विषय हो।

चार महिनापछि दर्ता लागि तोक लगाएको त्रिविले लेखेको पत्र ।

२०४२ सालमा पश्चिम १ नम्बर बिकास केन्द्र खारेज भएपछि उक्त स्थानमा क्याम्पस स्थापना भएको हो । क्याम्पस स्थापना हुनुमा स्थानीय समाजसेवी, व्यापारी तथा नुवाकोटका नेताहरुको ठूलो योगदान रहेको छ। नुवाकोट क्याम्पस स्थापना भएपछि रसुवा, धादिङ र नुवाकोटका धेरै सर्वसाधारण जनताका छोराछोरीले सहजरूपमा उच्चशिक्षा हासिल गर्न सकेकाछन् ।

धेरैले स्तातकोत्तर तह सम्म आफ्नै घर आँगनमा पढ्न पाएकाछन् । तर पछिल्लो समय क्याम्पसमा भए गरेका अनियमितताको खबरहरु श्रृङखलाबद्धरुपमा विभिन्न पत्रपत्रिकामा आउन थालेकाले हामी पूर्व विद्यार्थीहरु र सरोकारवालाहरु समेत नतमस्तक हुनुपर्ने स्थिति बनेको छ। बाहिर अाएका खबर र वास्तविकता हेर्दा क्याक्पस नेविसंघको एउटा इकाइ जस्तो भएको छ ।

क्याम्पस प्रशासन, संचालक समिति र विद्यार्थी युनियन तथा अध्ययनरत सबै विद्यार्थीहरुको सामूहिक प्रयासबाट क्याम्पसको विकास हुने हो । स्थानीय निकाय, जनप्रतिनिधिहरु र प्रतिष्ठित व्यापारी, समाजसेवी, विभिन्न संघसंस्था तथा जनसमुदायको साथ र सहयोगबाट क्याम्पस अगाडि बढ्नुपर्ने हो।

तर क्याम्पस प्रशासन र संचालक समितिको मिलेमतोमा दिन प्रतिदिन अनैतिक कार्यहरु सम्पादन भैरहदा हामी लज्जित भएकाछौ। चरम आर्थिक अनियमितता, भौतिक संरचनाहरुको दुरुपयोग, कर्मचारी तथा प्राध्यापकहरुको नियुक्तिमा मनोमानी, राजनीतिक आस्थाका आधारमा विद्यार्थीहरुमाथि धाकधम्की र भेदभाव देखि संचालक समितिका सदस्यहरुमाथि समेत दुर्वव्यवहार भएका घटनाहरु सार्वजनिक भएकाछन्।

स्ववियु निर्वाचनको मुखमा सुचना टाँसेर जबर्जस्ती ढंगले स्थगन गरि विद्यार्थी आवाज दबाउने कार्य गरेकाछन्। मनोमानी ढंगबाट क्याम्पस प्रशासन अगाडि बढ्न खोज्दा भविष्यमा अझै द्वन्द्व बढ्ने देखिन्छ। संचालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखको मिलेमतो र षड्यन्त्रमूलक क्रियाकलापका कारण विद्यार्थी, अभिभावक तथा स्थानीय जनताहरु समेत आजित भैसकेकाछन्। त्रिभुवन विश्वविद्यालयमा दिनप्रतिदिन क्याम्पसका विरुद्धमा उजुरी थपिएकाछन्।

पछिल्लो समय क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयलाई समेत गुमराहमा राखेर त्रिविको निर्देशनलाई समेत लत्याएको घट्ना बाहिरीएकोछ। त्रि. वि. उपकुलपतिको कार्यालय योजना निर्देशनालयले तीनवर्ष अगाडि २०७४ चैत २ गते नै क्याम्पस को नयाँ बिधान बनाउन सुचना गरेको थियो। नयाँ बिधान स्वीकृत नभए सम्म संचालक समितिले कुनै पनि नियुक्ति लगायत नीतिगत निर्णयहरु नगर्न भनेको छ। तर क्याम्पस संचालक समितिका अध्यक्ष र क्याम्पस प्रमुखले त्रिविको उक्त निर्देशन धोती लगाएकाछन्।

नियम विपरित नियुक्ति दिएको पत्र ।

त्रिविको निर्देशन विपरीत संचालक समितिमा मौजुदा सदस्यहरुलाई निस्कासन गरि नयाँ सदस्यहरु नियुक्त गरेकोछन्। त्रि.वि. सम्बन्धन सम्बन्धि विनियम २०७३ को परिच्छेद १४ नियम ३४ बमोजिम त्रि.वि. सभा तथा कार्यकारी परिषद सचिवालयले निर्णय गरि प्रेषित निर्देशन सम्बन्धि पत्र समेत केही समय गायब गरि अनियमित कार्यमा लिप्त क्याम्पस प्रशासनको जति निन्दा गरेपनि कम हुन सक्छ।

त्रिभुवन विश्वविद्यालयको निर्देशन विपरीत अनियमित कार्यहरु गरेको कारणबाट क्याम्पसको प्रतिष्ठा माथि गम्भीर प्रश्न उठेकोछ। क्याम्पस प्रशासनको ज्यादतीका विरुद्ध सरोकारवालाहरु एकजुट भै कानुनी उपचार खोज्न विलम्ब गर्न नहुने देखिन्छ।

(श्रेष्ठ २०५३ सालको अनेरास्ववियू नुवाकोटको अध्यक्ष एवं सोही क्याम्पसको पूर्व स्ववियू सदस्य समेत हुनुहुन्छ ।)

प्रकाशित मिति : १७ असार २०७७, बुधबार ०८:४१