२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

साेमबार गुल्मी र पर्वतमा थपिए ५० जना नयाँ कोरोना संक्रमित


१५ असार, काठमाडाैँ । साेमबार गुल्मी र पर्वतमा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गुल्मीमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिकाका २१ जना, रुरु क्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ जना रहेका रहेका छन् ।

उनीहरु ६ देखि ६० वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। संक्रमण देखिएका सबै भारतबाट आएका कार्यालयले जनाएको छ। जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ भने ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै गुल्मीमा काेराेना संक्रमितको संख्या ३२४ पुगेको छ।

यसैगरी पर्वतमा पनि १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । पर्वत अस्पतालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षेत्रीय क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा १ जना स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काेराेना पुष्टि भएका स्वास्थ्यकर्मी पर्वत कोरोना अस्पताल (अस्थायी) मा कार्यरत हुन् भने १२ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन्। संक्रमितलाई अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रवक्ता तथा तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए। संक्रमित भई गुप्तेश्वर बहूमुखी क्याम्पसको आइसोलेसनमा राखिएकामध्ये १९ जना भने कोरोनामुक्त भई भर फर्किसकेका छन्।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १६:१३