२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अष्ट्रेलिया सरकारले नागरिकको घर घरमै पुगी कोरोना परीक्षण गर्ने


११ असार, काठमाडाैँ । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ । कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ ।

भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो । परीक्षण कार्यमा सम्लग्न हुनुभएका प्रिमियर ड्यानियल एन्डु«जले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिनुभयो । उहाँले यही दरमा कोरोना परीक्षणको कार्य दश दिनसम्म जारी रहेने पनि बताउनुभयो ।

परीक्षण सवै निःशुल्क गरिने छ भने नागरिकप्रतिको दायित्वको रूपमा यो परीक्षणलाई लिइएको छ । परीक्षण कार्यमा सम्लग्न भएका स्वास्थ्यकर्मीहरुलाई झण्डै एक हजार सैन्य अधिकारीहरुले समेत सघाउने जनाइएको छ । अष्ट्रेलियामा अहिलेसम्म कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या सात हजार ५०० रहेको छ भने कोरोनाका कारण १०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १९:१५