१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वर्गीय प्रेमसिंह धामी जसले कालापानी चिनाए


-अनुजकुमार श्रेष्ठ

कालापानीको मुद्दा पेचिलो बन्दैछ। आज कालापानीमा भारतीय सेनाले परेड खेल्दै गरेको घट्नाको बारेमा काठमाडौंमा मात्रै होईन सिङ्गै मुलुकमा चर्चा चुलिएको छ। राष्ट्रिय अन्तरास्ट्रिय जगतमा भारतीय सेनाले नेपाली भूमि मिचेको बारे समाचार प्रकाशित भएकाछन्। संसारभरि छरिएर बसेका नेपाली जनको छातीमा आज कालापानी बिझाएको छ। २०५० को दशक सम्म कालापानी समस्याको बारेमा नेपाली जनता अनभिज्ञ थिए । दार्चुला जिल्लाबाट निर्वाचित तत्कालीन सासंद प्रेमसिंह धामीले जब भारतीय सेना, नेपाली भूमि कालापानीमा परेड खेल्दै गरेको दार्चुलाका जनताले कहिले सम्म टुलुटुलु हेरेर बस्ने, काठमाडौंलाई कालापानी किन दुख्दैन, भन्दै संसदमा गर्जिए पछि मात्रै कालापानीको मुद्दा अगाडि देखिएको हो ।

प्रेमसिंह धामीको काठमाडौंलाई कालापानी कहिले दुख्ने शिर्षकको देशभक्तिले भरिएको लेख राष्ट्रिय पत्रिकामा छापिएपछि मात्रै कालापानी समस्याको बारेमा देश व्यापी चर्चा हुन थालेको हो । भारतीय सेनाले सन् १९५२ देखि कालापानीमा नेपाली भूमि कव्जा गरि बसेको बारेमा विभिन्न लेखहरु प्रकाशित हुन शुरु भयो। कालापानीमा भारतीय सैनिक ईन्डो टिबेटिन बोर्डर फोर्स खडा गरि सिमाना मिचेर बसेको समाचारहरु आउन थाल्यो, नेपाली जनताले कालापानीको बारे यथार्थ कुराहरु सुन्न थाले, त्यहाँका नेपालीले भोगेका पीडा महसुस गर्न थाले।

राष्ट्रियता सम्बन्धि जोडदार आवाजहरु उठिरहेको बेला असमान टनकपुर सन्धि हुन लागेको विरोधमा सारदा व्यारेज, टकनपुरबाट उनै प्रेमसिंह धामीको नेतृत्वमा शुरु भएको साईकल र्यालीलाई काठमाडौं पुग्न नदिन बिरोधी तत्वले रोक्न खोज्दा कावासोतीमा भएको झडपले राष्ट्रिय रुप लियो । टनकपुर सन्धि रोक्न अदालतमा मुद्दा पर्यो । सन्ताउन्न दिन सम्म तत्कालीन एमालेले संसद अबरुद्ध गर्यो। सडक आन्दोलन भयो। राष्ट्रियताको आवाज झन चर्को हुन थाल्यो । त्यसै बिचमा मध्यावधि निर्वाचन घोषणा भएपछि टनकपुरको मुद्दा एकाएक सेलाउदै गयो तर नेकपा एमाले र काङ्ग्रेस विचको खाडल निकै बढ्न पुग्यो। त्यस पछि एकीकृत महाकाली सन्धिले तत्कालीन एमाले पार्टी नै फुटेर नेकपा मालेको जन्म भएको थियो। यस अघि नै महाकालीको मुहान लिम्पियाधुरा हो महाकाली नदी नै नेपाल भारत बिचको सिमाना हो, यसर्थ कालापानीबाट भारतीय सेना तत्काल हट्नु पर्छ भनेर प्रेम सिंहधामीले आवाज बुलन्द गरेका थिए ।

तर दुर्भाग्य २०५४ भदौ २८ गते नुवाकोट पुगेका उनै राष्ट्रियताका आवाज उठाउने नेता प्रेमसिंह धामी भोली पल्ट बिहान सबेरै काठमाडौं फर्किने क्रममा नुवाकोटको मदानपुर, बाराही मन्दिर देखि माथि केउरिनी भिरमा भएको दुर्घटनामा परेर दुखद निधन हुन पुग्यो। देशले एकजना राष्ट्रवादी नेता गुमायो। महाकाली नदीको उद्गम स्थल लिम्पियाधुरा हो भनेर निरन्तर संसदमा कुर्लने नेताको मृत्युको बारे आफ्नै हातले समाचार लेखेको र घट्ना स्थलमा पुगेर मृतक गाडि चालक स्थानीय दाजु रामजी के सी लगायतको फोटो हात कमाउदै खिचेको याद मन भित्र अझै ताजै छ। उक्त दुर्घटनामा प्रेम सिंह धामी सहित चालक रामजी के सी र पोखरा तिरको गुरुङ थरका एक व्यक्ति समेतको घट्नास्थलमै मृत्यु भएको थियो भने चालकका छोरी यमुना के सी भने घाइते भएका थिए।

महाकाली सन्धि हुदै गर्दा प्रेमसिंह धामीले उठाएको महाकाली नदीको मुहान पहिचान गर्ने तर्फ ध्यान गएको भए, महाकाली नदीको मुहानको बारेमा औपचारिक छलफल हुन सकेको भए आज समस्या यति जटिल हुने थिएन कि भनेर सोच्न पनि सकिन्छ। यसरी दिन अघि बढ्दै थियो, त्यस समय म अनेरास्ववियु नुवाकोटको अध्यक्ष समेत रहेकोले राष्ट्रियताको नाराले उत्साहित थिए। पार्टी भित्र महाकाली सन्धिको बिरोध चर्किदै थियो। ठिक र बेठीकको पक्ष विपक्षमा बहस चर्किदै थियो। यसैबीच एकीकृत महाकाली सन्धि सम्पन्न भए पछि पार्टी बिभाजन हुन पुग्यो। राष्ट्रियताको उग्र नारा उठाएर जन्मिएको पार्टी नेकपा माले तर्फ उभिनु मेरालागि स्वभाविक हुन पग्यो। भारतीय बिस्तारवादको बिरोध, कालापानीमा भारतीय सेनाको रजाइँ अनि प्रेमसिंह धामीले उठाएको लिम्पियाधुराको विषयले त्यस बेला राजनीतिमा सकृय युवाहरुमा जोस थपिएको थियो। देशभक्ति भावनाले शिखर छोएको थियो ।

यहि सन्दर्भमा तत्कालीन नेकपा माले समर्थक अनेरास्ववियुले कमरेड योगेश भट्टराईको नेतृत्वमा कालापानी सम्म मार्चपास गर्ने कार्यक्रम घोषणा गर्यो। राष्ट्रियता रक्षाको लडाइँमा सहभागी हुनको लागि म नुवाकोटबाट काठमाडौं तर्फ हानिए। जेष्ठ महिनाको धुप भएकोले साधारण कपडा झोलामा बोकेको थिए। तर यात्रा तयारी बैठकमा कालापानीमा हिउँ परेको हुन सक्ने थाहा पाए पछि नयाँ बजारको मेरो दाइहरु ९फुपुको छोरा० दिपेश श्रेष्ठ संग एउटा ज्याकेटर र दिनेश श्रेष्ठ संग पाँच सय रुपैया सापटी मागेर हिडेको थिए कालापानी। मित्र अच्युत कुईकेलले दिएको पछाडि भिर्ने व्यागमा दालमोठ चिउरा बोकेको थिए। निकै उत्साहका साथ बागबजार रातोघरको आँगनमा तत्कालीन मालेका महासचिव वामदेव गौतमले टोली नेता योगश भट्टराईलाई राष्ट्रिय झण्डा प्रदान गरेर २०५५ जेष्ठ २२ गते विहान शुरु भएको थियो कालापानी मार्चपास।

बाजागाजा, झाँकी र हजारौं जनताले हामी सहभागी सन्ताउन्न जनालाई विदाई गरेको त्यो क्षण अझै मेरो मानसपटलमा ताजा छ। नागढुङ्गाबाट ओरालो झरेपछि धादिङ, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु हुदै दाङ देखि बाके, कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बैतडी सम्म स्थानीय जनताले स्वागत द्वार बनाएर स्वागत गरेका थिए। हामी भारतीय सेना कालापानी छोड् लेखिएको टिसर्ट लगाएर राष्ट्रिय झण्डा बोकेर भारतीय बिस्तारवाद मूर्दावाद भन्दै नारा लगाउदै अगाडि बढेका थियौ। दार्चुला जिल्ला पुग्न त्यसताका बल्ल गोकुलेश्वरमा पुल बन्दै थियो। हामी गोकुलेश्वरबाट हिडेर दार्चुलाको सदरमुकाम खलंगा तर्फ लागेका थियौं। पैदल यात्राको पहिलो रात तिनै राष्ट्रवादी नेता प्रेमसिंह धामीको जन्म स्थल शंकरपुरमा बसेका थियौ। खलंगामा प्रेमसिंह धामी र दिगंवत सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर २०५५ जेष्ठ २७ गते खलंगाबाट गन्तव्य स्थल कालापानी तर्फ अगाडि बढेको पैदल यात्रा दिन बिते संगै कठिन हुदै थियो। कहिले महाकाली नदीको तिरैतिर, कहिले कहालीलाग्दो भिर, कहिले अनकन्टार जंगलको बिचबाट मार्ग पहिचान गर्दै यात्रा निरन्तर अघि बढ्यो।

नेपाली विद्यार्थीहरुको कालापानी मार्चपास सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएको समाचारले पुर‌ै देश तातिरहेको थियो। तर आजको जस्तो संचार सुविधा थिएन। हामी यात्रा छिचोल्दै थियौ तर हाम्रो यात्राले देशमा सृजना भएको अवस्थाको बारे भने अनभिज्ञ थियौ। हामी सुनसेराबाट अग्लिदै गएको पहाड चढ्दै महाकाली नदीको छङछङ पछ्याउँदै अघि बढ्दै थियौं। अत्यन्तै पातलो बस्ती भएकोले राति बस्ने ठाउँ थिएनन्, आफैले बोकेका केही खाने कुरा खाएर राष्ट्रियताको गित गाउँदै, कविता सुन्दै, सुनाउदै ओडारमा सुतेका थियौ। भोली पल्ट बिहानै हिडेर हामी उज्यालो मै छाङ्ग्रु पुगेका थियौं।

छाङ्ग्रुमा केही पातलो बस्ती थियो। छाङ्ग्रुबाट भारतीय सेनाले जमिन ओगटेर बसेको कालापानी करिव १७ किलोमिटर पर हो। छाङ्ग्रुमा नेपाल प्रहरीको चौकी पनि थियो। चौकीमा तिन चार जना प्रहरीहरु थिए। तर प्रहरी गाउँमा शान्ति सुरक्षा कायम गर्नका लागि मात्रै थियो। प्रहरीको कुरा सुन्दा सिमानामा हुने भारतीय सेनाको गतिविधि संग कुनै लिनुदिनु नभएको भान हुन्थ्यो। त्यस दिन हामी छाङ्ग्रुमै बस्यौं। राति खाना खाने समयमा जम्मा भएका केही छाङ्गरुवासीले गरेको कुरा सम्झिदा अहिले पनि रगत उम्लिएर आउँछ।

काठमाडौंबाट जुन दिन हाम्रो यात्रा शुरु भयो त्यस दिन देखि भारतीयले नेपाल तर्फबाट भारत जाने महाकाली नदी माथिको तुईन बन्द गरेका रहेछन्, झोलुङ्गे पुलमा एकतर्फी ताल्चा लगाएका रहेछन्। अनि पिडित नेपाली दाजुभाइहरु हामी संग गुनासो गर्दै थिए। एक जना दिदी हामी संग रिसाएर उफ्रिदै कराएको हिजो जस्तो लाग्छ। तर आज २२ वर्ष पछि सम्झिदा ती दिदीको मन भित्रको पीडा महसुस गर्दैछु। सिमानामा बसोबास गर्ने हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुले आफू नेपाली हुनुको पीडा पोख्दा छाती भत्भत्ती छाती पोलेको थियो। मनमनै कालापानी पुगेर बदला लिने सोच्दै थियौं। छाङ्गरुबाट जब हामी अगाडि बढ्यौं, विस्तारै भारतीय सेनाहरु देखिन थाले। महाकाली नदी पारी भारतीय सेना हाम्रो गति संग संगै एक एक निगरानी गर्दै अघि बढ्दै थियो।

शून्य वस्ती रहित बगरमा हामी पंक्तिबद्ध भै अगाडि बढ्दै थियौ। तिङ्कर भञ्ज्याङ् सम्म मानव वस्ती देखिए पनि जाडो याममा सबै छाङ्गरु र खलंगा तिर बसाइँ सर्ने रहेछन्। साधारण मोटर बाटो मात्रै बन्न सकेको भए, न्युनतम मानवीय आवश्यक्ताका लागि केही सुविधा उपलब्ध गराउन सकेको भए त्यहाँका स्थानीयहरु भारत तर्फ बसाइँ सर्दैन थिए कि१ त्यहा देखिएको खण्डहर भत्किएका घरका अवशेषहरुले त्यहि बताउदै थियो। यसरी हामी कालापानी पुग्नै लागेका थियौ। तर एउटा खोल्सा पारी करिव सय जना जति सैनिकले माइकिङ गर्दै भन्दै थिए त्यहाँबाट एक पाईलामात्रै अगाडि बढेमा गोली चल्न सक्नेछ। हामी त्यही अडियौ।

हाम्रो उदेश्य भारतीय सेनासंग लडाइँ गर्ने थिएन। हामी, हाम्रो जमिनमा झण्डा गाड्न पुगेका थियौ। मिचिएको जमिन हाम्रो हो भन्न पुगेका थियौं। तर करिव छसय मिटर वरैबाट हामी फर्किन बाध्य भयौ। त्यहा उपस्थित भारतीय सेना कमान्डर संग केही छलफल भयो र पनि अगाडि बढ्न नदिए पछि त्यहि नारा लगायौ, राष्ट्रिय झण्डा फहरायौ, आफ्नो झोलामा भएको खुकुरी झिकेर प्रदर्शन गर्यौ। अनि राष्ट्रियताको लागि यो लडाइँको प्रारम्भ हो अन्त्य होईन, एकदिन हाम्रो जमिनबाट तिमी भारतीय सेनालाई धपाउने छौ। हाम्रो जमिन हामी फिर्ता लिने प्रण गरी हामी गह्रौं मन लिएर फर्कियौ। हाम्रा लडाइँ जारी छ। भारतीय सेना कालापानी छोड्। कालापानी हाम्रो हो।

(लेखक श्रेष्ठ नेकपाका युवा नेता हुन । लेखक स्वयं कालापानी मार्चपासमा गएका व्यक्ति हुन ।)

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार २१:३३