२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अपाङ्गता भएकाहरूको तर्फबाट प्रधानमन्त्रीलाई खुलापत्र


सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार,
सिंहदरबार काठमाडौँ, नेपाल

सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल र नेपालीका अभिभावक एवं सुन्दर, शान्त तथा विशाल हाम्रो देश नेपालका संरक्षक हजुर समक्ष नेपालमा रहेका विभिन्न तवरले अपाङ्गता हुन पुग्नु भएका तथा एकल महिलाहरुको भावनालाई समेटदै एक प्रतिनिधि पत्रको रुपमा जिवनमा यो पहिलो पटक हजुरको नाममा यो पत्र लेख्दै छु र सबै नेपालमा रहनु भएका अपाङ्गता र एकल महिला आमा दिदी बहिनीहरुको तर्फबाट नमस्कार गर्न चहान्छु ।

अपाङ्ता भएका व्यक्तिहरु र एकल महिलाहरुलाई ध्यानमा राखी सरकारको नीति तथा कार्यक्रमबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरु र ज्येष्ठ नागरिकहरुका लागि उपलब्ध भइरहेको सर्वविदितै छ । गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको मिति २०७६ चैत्र २६ गते को निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानिय तहलाई अति अशक्त अपाङ्ता (निलो कार्ड ) भएका व्यक्तिहरु र ६० वर्ष मुनिका एकल महिलाहरुको भत्ता रोक्न स्थानियतहहरुलाई पत्र पठाइएको जानकारी हुन गयो आर्थिक वर्ष २०७५/०७६ को विपन्न र अशायसम्बन्धी ऐन तर्जुमा गर्ने भन्दै नेपाल सरकारले सुविधा कटौती गरेको रहेछ ।

अपाङ्ता भएका र एकल महिलाहरुलाई गाउँ, समाज अनि समुदायमा विभिन्न प्रकारका विवेदहरुको जोखिम समालेर जिउदो लास जस्तो भएर जिवन काट्न बाध्य छन् । अरुको मन जितेर, अरुलाई खुसी बनाएर मात्र अति आधारभुत आवश्यकता पुरा हुने गर्दछ । अति अपाङ्ता भएका व्यक्तिहरुलाई त झन शरिरमा लगाएको नाना फेर्ने र थालमा मुसेको खाना अरुले नै खुवाउनु पर्ने अवस्था छ । अनि ति एकल आमा, दिदि, वहिनीहरुलाई समाजले हेर्ने नजरको बयान गरिरहन सम्मानिय प्रधानमन्त्री ज्यु सगँ म चाहान्न किनकी यो कुरा हजुरले थाहा पाउनु भएकै छ ।

नेपाल सरकारको यो निर्णयले ३ लाख ५० हजार एकल महिला र करिब ७० हजार अपाङ्गता भएका व्यक्तिहरु भत्ता पाउनबाट बञ्चित भएका छन् । संसारका अरु देशमा एकल महिला र अपाङ्गता व्यक्तिहरुलाई विभिन्न थप सुविधाहरु उपलबध गराईरहेको बेला नेपालमा कटौती गर्नु हितकारी नभएको हो जस्तो छ ।

सम्मानिय प्रधानमन्त्री ज्यू हजुर नेपाल र नेपालीको आशाको केन्द्र विन्दु हुनुहुन्छ , सुखी नेपाली र सम्बृद्ध नेपालको परिकल्पनाकार हुनहुन्छ त्यसैले आशा छ गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको मिति २०७६ चैत्र २६ गते को पत्र संख्या ०७६/०७७, पत्र नं. १३७० निर्णयलाई पुनरबिचार गरी पछाडी परेका वा पारिएका अपाङ्गता भएका र एकल महिलाहरुको खुसी फर्काउनु हुनेछ भन्ने दरिलो आशाका साथ हजुर समक्ष यो प्रतिनिधि पत्र पेश गरेको छु ।

फडिन्द्र अधिकारी झटारे
सचिवः प्रकाशपुर मिलिजुली अपाङ्ता समन्वय समिति
ठेगानाः बराहक्षेत्र न.पा.–१०, प्रकाशपुर, सुनसरी

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १७:३८