१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सामा बाबुराम भट्टराईको धम्कीपूर्ण स्वागत


५ जेठ, काठमाडाैँ । समाजवादी पार्टीका अध्यक्ष डा बाबुरा भट्टराईले पनि सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको स्वागत गरेका छन । ट्वीट मार्फत उनले नक्सा जारी भएकोमा स्वागत गरे पनि अहिलेको कामवारे जशलिने होडवाजी पनि नगरौं ! भन्दै धम्कीपूर्ण अर्को अपिल पनि गरेका छन ।

डा भट्टराइले उल्लेख गरेका छन ‘सुगौली-सन्धी अनुरुपको पश्चिमी सीमाना समेटेर पहिल्यै जारी हुनुपर्नै नक्सा ढिलै भएपनि जारीहुनु स्वागतयोग्य छ।विगतका कमिकमजोरीवारे समीक्षा पछि गरौंला!अहिलेको कामवारे जशलिने होडवाजी पनि नगरौं ! आफ्नो भूमिमा अर्काले सडक बनाएको थाहा नपाउनेहरूको हैसियत संसारले बुझेकै छ ! अब कोरोनाबारे सोचौं !’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न नपाउनै भन्दै पूर्खाले लडेर रक्षा गरेको भूमिको संरक्षण गर्ने बताउँदै आएका थिए ।

आइतबरकै मन्त्रिपरिषदको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव लगेकी थिइन । महत्वपूर्ण मानिएको प्रस्तावमा सोमबारको बैठकमा छलफल गरेर जारी गरिएको हो । नयाँ नक्सा आजैबाट प्रयोगमा आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्सा अब सबैखालको प्रशासनिक प्रयोगमा ल्याउने जानकारी दिनुभएको छ । उहाँले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सबैखालको प्रयोगमा नयाँ नक्सा आउने बताउनुभयो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार २१:१७