१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वास्थ्य पूर्वाधार, रोजगारी र कृषि क्रान्ति आगामी बजेटकाे प्राथमिकताः अर्थमन्त्री खतिवडा


२८ वैशाख, काठमाडौँ । सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गर्दै बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्तिमा आधारित हुने उल्लेख गर्नुभएकाे छ ।

तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उहाँले जानकारी दिनुभयाे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिनुभएकाे हाे ।

भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयाे ।

उहाँले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

आव २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि यही वैशाख २९ र ३० गते छलफल गर्ने कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आईतवार १३:५५