२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कोरोना महामारीपछि कसरी अगाडि बढ्दैछ अष्ट्रेलिया ?


-डा भरत राज पौडेल 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले दुई महिना लामो लडाइँमा कोरोनालाई पछी पार्दै अष्ट्रेलिया अघि बढेको घोषणा गरेका छन। यसको अर्थ बिश्वमै कोरोना सँक्रमणको झट्का ब्यहोरेर पनि आगामी जुलाई अर्थात अबको ५० दिन भित्रमा अष्ट्रेलियाली अर्थतन्त्रलाई “COVID-19 Safe Economy” वा कोरोनाको जोखिम मुक्त अर्थतन्त्र भएको देश हुने घोषणा मरिसनले गरेका हुन।

कोरोना बिरूद्दको राम्रो सफलता हासिल गरेका अरू देशले यो तहको योजना भने सार्वजनिक गरिसकेका छैनन। तर सिङ्गापुर अष्ट्रिया डेनमार्क इजरायल चेक रिपब्लिक ग्रिस नर्वेलाई भने यो कोरोना बिरूद्दको लडाँई जित्ने एलिट देशहरूको समुह “The global club of coronavirus champions वा ‘First Movers COVID Group’” भनिएको छ। हिजो यि नेताहरूसँग मरीसनले भिडियो कन्फरेन्स गरेर आफु एक असली ब्यबस्थापक भएको प्रमाणित गरेका छन। तर पनि न्युजिल्यान्ड र द. कोरिया जस्ता देशलाई यो छलफलमा किन राखिएन एकिन छैन। छिमेकी देश न्युजिल्यान्ड सानो अर्थतन्त्र भएर पनि कोभिड-१९ बाट सबैभन्दा सुरक्षित छ। चीनलाई यो चर्चामा नसमेटिए पनि जापान र जर्मनीले औपचारिक रुपमा कोभिड सेफ ईकोनोमी घोषणा गर्न बाँकी नै छ।

मरिसन सरकारले अब तीन चरणमा देशका बिभिन्न क्षेत्रलाई खुल्ला गर्दै जाने निती र योजना सार्वजनिक गरिदिएर बाँकी काम राज्यहरूको काँधमा सुम्पिएको छ। जसको पहिलो सुनुवाई क्वीन्सल्याण्ड, दक्षिण अष्ट्रेलिया, तास्मानिया र उत्तरी टेरीटोरी डार्बिनले गरेका छन। भिक्टोरियाले सोमबार बिज्ञहरूसँग छलफल गरेर के गर्न सकिन्छ त्यो हेर्ने बताएर आफु सँघिय सरकार चलाउने पार्टी लिबरलको सरकार नभएर लेबरको भएको पहिचान दिएको छ। केही कुरा भने अहिले नै खुकुलो नपार्ने प्रिमियर ड्यानियल एन्ड्युले बताए। लिबरलकै नेता भएर पनि न्यु साउथ वेल्स कि प्रिमियर ग्ल्याडस बेरेक्जिक्लिनले पनि सबै सेक्टर खुल्ला नगरे पनि बिस्तारै केन्द्रको निर्देशन लागु गर्दै जाने बताइन। तास्मानियाका प्रिमियर पिटर गट्विन र साउथ अष्ट्रेलियाका प्रिमियर स्टेफन मार्सलको पनि राज्य खुकुलो पार्ने योजना आएको छ। राजधानी क्यानबेरा करिब करिब नर्मल डेली रूटिनमा आउन शुरू गरेको छ। पश्चिम अष्ट्रेलिया पनि बिस्तारै खुकुलो हुँदै जाने योजना सार्वजनिक गर्ने तयारीमा रहेको प्रिमियर मार्क म्याकगोवानले जनाउ दिएका छन।

रोचक त के भने नेशनल फ्ल्याग क्यारियर क्वान्टास एअरले केही दिनमै सस्तोमा सिड्नी मेलबर्न उडान शुरू गरेर यात्रुहरूलाई एकलौटी आफ्नो बनाउने खोजे जसरी रणनिती लिएको छ। ल तयार हुनुहोस् है, २० डलर सम्मको सस्तो उडानको स्किम पनि देखिन्छ। कोल्याप्स भएको भर्जिन एअर पनि नयाँ र सुदृढ ब्यबस्थापन सहित उडानमा फर्कने स्थिती देखिन्छ। रिजनल एअरलाईन्सलाई सरकारले पैसो दिएर अड्याएको छ। अष्ट्रेलियामा उत्पादित कृषि उपज र मेडिकल उपजको निर्यात अहिलेलाई हुने छैनन। स्टोरेज क्यापासिटी र कृषि क्षेत्रलाई बुस्ट गर्ने कुरा एक्सनमा आएको छ। शपिङ जायन्ट मध्ये उलवर्थ र केही अन्यले सरकार र जनताको बिश्वास जितेका छन यसपटक। अब स्यानिटाईजर र हाईजिन स्टफ्स्स फार्मेसीमा सहज हुन थालेका छन। दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध हुन थालेको केही हप्ता भैसक्यो।

अझै पनि अष्ट्रेलियाले बिभिन्न निकायहरूलाई सकिन्छ भने केही प्रतिशत कामदार कर्मचारीलाई तेस्रो चरण शुरू नभए सम्मलाई मिले सम्म घरबाट काम गर्न प्रोत्साहन गर्न भनेको छ। तर जुलाई सम्म प्राय सबै काममा फर्कनेछ। त्यतिबेलासम्म अहिले जागिर गएका मध्ये १० लाख मानिस काममा फर्कने छन। यसकारण हाल दिईएको जब किपर पेपेन्ट पाउनेहरूको सँख्या जुलाई अघि नै घट्नेछ। तर जुन महिनासम्म अष्ट्रेलिया छोड्नेहरूको सँख्या ६ लाख पुग्ने भएबाट हाउजिङ र ब्यापारका अन्य आयाममा यसले भ्याकुम क्रिएट गर्नेछ। कर उठ्तीमा असर त पर्ने नै छ। कृषिको अझ द्रुततर बिकास र रिजनल अष्ट्रेलियाको अर्थतन्त्र बुस्ट गर्न अध्यागमन खुकुलो पार्नुपर्ने नै भयो। अन्तराष्ट्रिय शिक्षाबाट ४० अर्ब उठेपनि त्यो सेक्टरले जागिर दिएका अढाई लाख मानिसले कति योगदान गर्थे अर्थतन्त्रमा त्यो हिसाब बिस्तारै निकाल्ला नै अष्ट्रेलियाले। अन्तराष्ट्रिय बिध्यार्थीहरू जो भर्ना भएर पनि आआफ्नै देशमा अड्किरहेका छन, उनीहरूलाई आउने ब्यबस्था गरिने र नयाँलाई पनि बिस्तारै जुलाई देखी आउने प्रक्रियाका लागि सम्भावित क्षेत्रको रूपमा राखिएको छ। तर हेल्थ प्रिकशन सहित आगामी अगस्ट सेप्टेम्बर उता नोभेम्बर सम्ममा बिध्यार्थीको चहलपहल शुरू हुने देखिन्छ। तर पहिले जस्तो होइन।

यता आन्तरिक हबाई उडान पुरै नखुले पनि उल्लेख्य सँख्यामा खुल्ने र मुलत न्युजिल्यान्ड लाई समेटेर समग्र ट्रान्स-तास्मन हबाई सेवा र पर्यटन ठिक्क ठिक्क अनुपातमा खुल्दैन जाने त देखियो नै। प्रोपर्टी मार्केटलाई बिस्तारै चहलपहलमा ल्याउन केही कदम उठाइएको छ। बजार पसल रेस्टुरेन्ट आगामी हप्ता देखी केही सामान्य हुँदै जाने तर पब र क्लब भने केही दिन नखोल्ने तर पहिलो चरणको योजना प्रभाबकारी भए तेस्रो चरण नपर्खि कनै सरकारले त्यो पनि खुल्ला गर्ने देखिन्छ। तर रेस्टुरेन्टहरूले देखिने गरेर पहिलो दोश्रो र तेस्रो चरणमा सेवा दिँदा चाहिने सँख्या र सेफ्टी मेजर यसरी यसरी लागु गर्नु भनेरै तोकिदिको छ सरकारले। यसको कडा मनिटरिङ हुनेछ। अफिसहरूमा हाईजिन र सरसफाई आधुनिक हिसाबले कायम हुनुपर्ने छ। सेफ वर्क अष्ट्रेलियाको प्रोसिडियर हेरे अफिस ब्यापार ब्यबसाय सँचालन गर्न पर्ने र कोभिड सेफ वर्किङ ईन्भाईरनमेन्टको ग्यारेन्टी हुन पर्नेछ। स्कुलहरू अब पूर्णतया खुल्नेछन। आउटडोर रिक्रिएशन, पार्क र जिम चाहीँ अर्को हप्ता देखी खुल्न थाल्नेछ। तर ईन्डोर जिमखाना पूर्ण स्वास्थ्य अभ्यासमा जान नसक्ने भएसम्म जुलाई नलागी खुल्ने छैनन। राष्ट्रिय खेलकुद अर्को हप्ताबाट खुल्दै जाने स्थिती देखिन्न तर दोश्रो चरण उता यो सम्भब हुने सरकारी भनाई छ। बिश्वबिध्यालयहरूलाई जुलाई सम्ममा नर्मल अप्रेशनमा लाने योजना देखियो।

यसरी हेर्दै जाँदा के देखियो भने केही महिना अघि देशैभरी आगलागी भएर ठुलो क्षति भएर आलोचना खेपेका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो पब्लिक एप्रोभललाई १० बर्ष यताका सबै नेताहरूको भन्दा माथि उठाउन सफल भएर मिर्याकल नै गरेका छन । भन्न त यिनले कसैले नजित्ने अनुमान गरेको बेला निराश भएर निर्बाचन परिणाम स्विकारेर कन्सेसन स्पिच दिन तम्तयार भएका बेला पार्टीलाई बहुमत सहित आँफुलाई प्रधानमन्त्री मै कायम राख्न सफल भएर दिएको बिजयी भाषणमा भनेका थिए” I have always believed in miracles” आँफुलाई भोट हाल्ने जनतालाई साइलेन्ट भोटरको चमत्कार भनेका थिए। यिनै मरिसन आजका मितीमा चुनाब भएको खण्डमा दुई तिहाइ बहुमत ल्याउने स्थितीमा आइपुगेका छन।

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डन पनि आजभन्दा ६ महिना अघि अलोकप्रिय हुँदै गएकी थिइन यिनले पनि सँकटलाई भरपुर उपयोग गर्दै जनमत आफ्नो पक्षमा पार्दै हालको जस्तो मिलीजुली सरकार नै नचाईने र आँफै एक्लै सरकार बनाउने स्थितीमा आइपुगेकी छन। त्यसैले ठुला ठुला सँकटले नेतृत्वको परिक्षण गर्छ र यो पटक बिश्वका नेताहरू मध्ये स्कट मरिसन, जसिन्डा अर्डन, लि सेन लुङ, साई ईङ वेन, सन्ना मरिन, ईर्ना सोल्बर्ग, कटरिन जकोब्स्डोटिर, मेट्टे फ्रेडरिक्सन, काईरियाकोस मिट्सोताकिस, एन्जेला मर्केल, मुनजाई इन, सेबास्चियन क्रुज जस्ता नेताले सँकटमा भरपर्दो नेतृत्व दिएर आफै खटेर जनताको मन जितेका छन। जस्टिन ट्रुडे र सिन्जो आबेलाई सबैले मनपराएकै थिए तर यो पटक अनुदारबादी बेन्जामिन नेतान्याहु र बोरिस जोन्सन एबम छुट्टै एक दलिय कम्युनिष्ट शासन ब्यबस्थाको बिशाल नमुना चीनका नेता सि जिङ पिङले पनि बिश्व स्तरमा आफुलाई अझै सुदृढ बनाएका छन। भ्लादिमिर पुटिन यो पटक त्यति सफल देखिएनन। यही बिचमा डोनाल्ड ट्रम्प, जायर बोल्सेनारो र बिश्वका अरू १०-१२ जना अनुदारवादी नेताले जनताको जिबनलाई जोखिममा राखेर राजनिती गरिरहेका छन। भुटान र माल्दिभ्स बाहेक दक्षिण एसियाका नेपाल र भारत लगायतका देशका सरकार र राष्ट्रप्रमुखहरू सँकटलाई राजनितिक दाउपेचमा भजाएर सत्तामा रमाएका रमायै छन।

आज अष्ट्रेलियाका प्रधानमन्त्रीले भाषणको शुरूमा यसो भने। “There will be risks. There will be challenges. There will be outbreaks, there will be more cases, there will be set backs. Not everything will go to plan.
“But we cannot allow our fear of going backwards from stopping us from going forwards.”

तर अन्तर्राष्ट्रिय फ्रन्टमा अष्ट्रेलियाको डिप्लोमेसी अलिकती सन्तोषजनक छैन यतिखेर। साँढेको जुधाई बाच्छाको मिचाई जस्तो स्थिती उत्पन्न भएका कारण। कोरोना र बढ्दो रेसिस्ट सेन्टिमेन्टका कारण चीनसँग ब्यापार र कुटनितिक सम्बन्धमा अलिकती उतारचढाव आएको छ। डोनाल्ड ट्रम्पसँग कसरी टोन मिलाउने वा पश्चिमी फ्रन्टलाई कसिलो ढँगले अँगालिरहन के गर्ने वा एशिया प्रशान्त क्षेत्रमा चिनियाँ प्रभाब कसरी कम गर्ने भन्नेमा यतिखेर अष्ट्रेलिया घोत्लिएको पनि छ। तर विश्व मन्चमा बिस्तारै छाउने अष्ट्रेलियाली चाहना कसरी पुरा होला ? प्रश्न कायमै छ। कोरोना पछिका दुई वर्ष अष्ट्रेलियाले कसरी आफ्नो अर्थतन्त्र र सामरिक शक्तिलाई अभिवृद्धि गर्ने भन्ने चिन्ता चाहीँ नयाँ ढंगले पेचिलो बनेर आएको छ। धन्यबाद ।

(सञ्चार विज्ञ पाैडेल हाल अष्ट्रेलियामा हुनुहुन्छ )

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १०:०१