२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

पत्रकारिता पूर्वाग्रह र भिडतन्त्रको मजाकबाट माथि उठ्नुपर्छ


–रुपेश खतिवडा

प्रेस अथवा पत्रकारिता राज्यको एउटा महत्वपुर्ण अंग हो, यसमा कुनै दुईमत छैन । यसको शक्तिलाई कम आँक्न मिल्दैन । प्रेस स्वतन्त्र हुन्छ र हुनुपर्छ यो पनि सत्य हो । तर प्रेस स्वतन्त्रताको अर्थ स्वतन्त्रता र कर्तव्य विमुखता कहिल्यै पनि हुनसक्दैन । आज विश्व समुदाय कोभिड–१९ को विकराल अवस्थाबाट गुज्रिरहेको छ । ५० औं लाख मानिसहरु संक्रमित भएकाछन् र लाखौ मृत्यु संग संघर्स गरिरहेका छन् । २ लाख ६५ हजार भन्दा वढीको अकालमा मृत्यु भईसकेको छ । यस महामारीबाट नेपाल पनि अछुतो छैन । २/४ जना हुँदै आजसम्म सयको संख्यामा यो माहामारीबाट नागरीकहरु संक्रमित भएका छन् । बढ्ने क्रम जारी छ र अझै जारी नै रहने अनुमान गरीएकोछ ।

यदि यसरी नै संक्रमितको संख्या वृद्धि हुंदै गएमा अब के कस्तो अवस्था आउला कसैले अनुमान गर्न सकेको छैन । जसरी हावा भरिएको वेलुन आकाशमा छोड्दा कहां पुगेर अवतरण हुन्छ या विचैमा फुटेर नष्ट हुन्छ ? यकिन गर्न नसके जस्तै भएको छ यो कोरोना भाइरस । अर्थात कोभिड–१९ ले के राजा के रंक भने जस्तै, के व्यक्ति, के संस्था, के राजनीतिक पार्टी, के नेता, के कार्यकर्ता, के धर्म, के जात, के पेशा–व्यवसाय, के गरिब, के धनि, के बालक, के वृद्ध कसैलाई पनि यसले छोडेको छैन । यदि यो वास्तविकता हो भने हामी सम्पुर्ण नागरिकहरुले कोरोनाका विषयमा एउटै बुझाई, एउटै भाषा र एउटै अभिव्यक्ति गर्नु पर्दछ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस संक्रमणलाई वृद्धि हुन नदिन नियन्त्रण र रोकथामका सकेसम्मका उपायहरु अबलम्बन गरिरहेकैछ । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने श्रमिक वर्ग कठिनाई व्यहोर्न वाध्य भएकाछन । उनिहरुका लागि सबै मिलेर एकद्धार प्रणालीबाट सहयोग गर्नु अहिलेको आवश्यकता हो र यस्तो राहात/सहयोग जारी नै छ । राज्यले अगाडी बढाएको कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन हामी सवै नेपाली नागरिकहरु एकजुट हुनु पर्दछ अनिमात्र साझा सत्रु माथि विजय हासिल गर्न सकिन्छ । यो भन्दा वाहेक अरु हामी सँग कुनै विकल्प छैन । यदि यो नै आजको हाम्रो साझा कर्तव्य र दायित्व हो भने राष्ट्रिय दायित्व बोकेको चौथो अंग प्रेस अर्थात पत्रकारीता क्षेत्र जिम्मेवार वन्नुपर्छ की पर्दैन ? पत्रकारीता जस्तो मर्यादीत पेशामा लाग्नु भएका विद्धान मित्रहरुले गंभिर भएर सोच्नुस त !

राष्ट्रिय आवश्यकता र आफ्नो दायित्व एकातिर छ तर यसलाई विर्सिएर भनौ या जानाजान पत्रकारीता गरिरहेको छु भन्ने भुलेर आज केही मिडिया र पत्रकारहरु भ्रामक कुराहरु दुष्प्रचार गर्दै सामान्य जनताहरु, जो वौद्धिक रुपमा पछाडी परेकाछन् उनीहरुको मन मष्तिस्कलाई खल्वल्याउन उद्यत छन् । “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ” भने जस्तै कोरोना महामारीको नाममा देशलाई अस्थिरता तिर धकेल्ने दुष्प्रयास गरिरहेका विखण्डनवादी र अराजक प्रवृत्तिलाई सघाउ पुग्ने गरीको “शाही प्रवृति” र तथाकथित पत्रकारीताले स्वतन्त्र प्रेस र निष्ठावान पत्रकारहरु प्रति पाठकहरुको विश्वास गुम्दै गईरहेकोछ । यसले पत्रकारीता पेशा प्रति नै आम श्रोता एवं पाठकको विश्वास टुट्ने त हैन भन्ने कुरामा पत्रकारहरुको प्रतिनिधि संस्था पत्रकार महासंघ र प्रेस काउन्सिलले ध्यान पुर्याउन आवश्यक छ ।

पाठक वा श्रोताहरु सामान्यतः तीन किसिमका हुन्छन । पहिलो वर्ग – लेखिएको वा भनिएको कुरालाई व्रम्हवाक्य मानेर त्यसमाथि पुर्ण रुपले विश्वास गर्दछन् । सामान्य जनता यस वर्गमा पर्दछन् र यो हिस्सा ठुलो हुन्छ । यस वर्गका मानिसले प्रकाशित सामग्री माथी सहजै विश्वास गर्दछन् । के ठीक के वेठीक छुट्याउन सक्दैनन् र तुरुन्तै अनुकरण गरिहाल्छन् । यदि प्रेस जिम्मेवार बन्न सकेन भने र धुर्तहरु प्रेसको हर्ताकर्ता भए भने राष्ट्रले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । दोस्रो वर्ग – यस वर्गमा अलि पढे–लेखेका र अरु मानिस माथी तुरुन्तै विश्वास नगरिहाल्ने स्वभाव हुन्छ । तर यो वर्ग प्रथम वर्ग भन्दा सानो अंशमा हुन्छ ।

यस वर्गमा प्रथम वर्गबाट आएका केहि मानिसहरु हुन्छन् जसको प्रकाशित सामाग्री र प्रेस माथी नै विश्वास हटि सकेको हुन्छ र उनिहरु यस्ता लेखिएका वा वाचन गरिएका विषय वस्तुलाई पढन सम्म पनि चाहादैनन् । उनीहरुले प्रेसलाई “झुटको खेती” बाहेक अरु केहि मान्दैनन् । यस्ता मानिसहरुबाट पनि पत्रकारीता जगत विमुख रहन सक्दैन । तेस्रो वर्ग – यो वर्ग संख्याको हिसावले ज्यादै थोरै हुन्छ । यस्ता मानिसहरु संस्कार, परिवेश र शिक्षाको कारण जुनकुनै विषयको गहिरो अध्ययन, विश्लेषण गर्दछन र स्वतन्त्र निर्णय लिने वुद्धिजिविहरु पर्दछन् । यस किसिमका मानिसहरुले मिडियामा प्रकाशित एवं प्रशारीत विषयवस्तुहरु तुरुन्तै विश्वास गरि हाल्दैनन ।

यो वर्गलाई सितिमिति प्रभावित पार्न निकै कठिन हुन्छ । तर विडम्बना यो छ की प्रथम र दोस्रो वर्गका मानिसहरुको तुलनामा यो संख्या न्युन हुन्छ । यो वर्ग सधैं अल्पमतमा पर्दछ र वहुमतले वास्तविकतालाई ढाकछोप गरिदिन्छ । यो मानिसको स्वभावको यथार्थतालाई गहिरो संग आत्मसात गरेर प्रेस जगत र पत्रकारीता संचालित हुन सक्यो र राज्यले परिचालित गर्न सक्यो भने मात्र राष्ट्रिय उद्देश्य र लक्ष्य हासिल गर्न संभव छ । अर्थात कोरोना माथि विजय प्राप्त गर्न प्रेस, पाठक र राज्यको वुझाई र गराईमा एकरुपता हुन आवश्यक छ ।

यस प्रति राज्य र प्रेस जगत सवैभन्दा वढी जिम्मेवार हुन आवश्यक छ । पत्रकारीता पेशालाई अझ विश्वासिलो अनुशासित र जिम्मेवार वनाउन राज्य र प्रेस जगत मिलेर ठोस कदम चाल्न अब ढिलाइ गर्नु हुँदैन । आजको पत्रकारीता क्षेत्रलाई “ पुर्वाग्रह, भिड मनोविज्ञान र हिरोइज्म” बाट मुक्त गराई राज्यको चौथो अंगको रुपमा पुर्नःस्थापित गर्नु नितान्त आवश्यक छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १६:४७