२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कमरेडहरूको माग सुनेर ‘नैतिकता’ र ‘राजीनामा’ जस्ता शब्दहरू लाजले पानीपानी हुँदै होलान


-प्रा डा ऋषिराम शर्मा 

नेपाली राजनीति अहिले लाजनीतिले ग्रस्त छ । यो देख्दा हजार मुसा हजम गरेर रामनामी पीतवस्त्र ओढी तीर्थ हिँडेको साधु बिरालाको झल्को पो लाइराछ । अनैतिकाताका आहालमा डुबेकाहरू एक जमानामा संसदमा सत्र पटकसम्म प्रधानमन्त्रीमा उमेदवार भएर हार्दै संसदलाई बन्धक बनाई लोकतन्त्रको लाखे नाच्नेहरू, त्यसैको सराप लागेर चुनावमा धुलो चाट्दै हारका डरले घडीको पेन्डुलमझैँ दुक्की जुट खेलेर एक्कालाई हराएँ भन्ठान्दै जुगा मुसार्नेहरू, हजारौ सहिदको कारखानाबाट उत्पादित रगतले नुहाएर सुकिला देखिनेहरुले जब नैतिकताका आधारमा कसैको राजीनामा माग्दछन् तब यस्तो लाग्छ ! ‘नैतिकता’ र ‘राजीनामा’ जस्ता शब्दहरू लाजले पानीपानी हुँदै होलान्, अनि तिनले समेत शब्दकोशमा लेखिएको आफनो अर्थसँग असहमति र आपत्ति जनाउँदै आफै राजीनामा माग्ने सुरसार गर्दै होलान् !

अझ विडम्बना त के लाग्छ भने बिसौँ वर्ष सङ्गठनको एउटै गोठ र चौरमा चरेका भेँडाहरू मध्येबाट कुनै लायक खालको भेडालाई नालायक बनाउने दाउमा जब जङ्गलतिरबाट आएको ब्वाँसाले अगाडि कुर्सीको हरियो घाँस देखाउँदै पछाडिबाट हात हालेर आन्द्रा थुतिरहेको हुन्छ र त्यही एकछिनको हरियो घाँसको लोभमा परेर भेँडाले पनि ब्चाँसाले भट्याएको ‘ए भन भन भाइ हो !’ को तालमा नैतिकता र राजीनामा (को) देउ (सी) भट्याउन थाल्छ, त्यतिबेला चाहिँ ‘ यो कलि धपक्कै बली बाउको न्वारान छोराको ‘ब्रतबन्ध’ भन्ने गीत झल्झली पो याद आइरहन्छ !

अहिले प्रधानमन्त्रीको राजीनामा माग्नेहरूले लगाएका आरोप मध्ये देखिने आरोप दुईओटा छन् पार्टीको लोकप्रियता र नैतिकता । पार्टीको लोक प्रियता भनेको (पा)र्टीको (लो)कप्रियता अर्थात् पालो चाहिएको हो । अब धुन्धुकारीको पछि लाग्ने यो झुन्डलाई के लाग्दै छ भने यो दुई तिहाइ विजय मल्लको चर्चित कथाको अन्तिम भोज हो र यसपछि यी भस्मासुर हरूलाई पुनः सत्तामा पुग्न सकिन्छ भन्ने कुनै आश र विश्वास समेत छैन । जनता र आम मतदाताका सपनाका घाँटी निमोठ्दै त्यसैका रगतको भुटन पालैपालो भोज गर्ने भस्मसुरहरूका कारण मुलुकले अझै कति सास्ती भोग्नु पर्ने हो ?

यो राजीनामा माग्नेहरूको विगतको कुण्डली पल्टाएर हेर्दा नैतिकताको भजन गाउनेहरूका विकृति, कुकृत्य र बर्वादीको महाभारतै बन्ने देखिन्छ । तपाईँहरू ओलीका कारण पार्टी अलोकप्रिय भयो भन्दै डाँको छाड्दै हुनुहुन्छ ! त्यसो भए आमचुनाव आउन साढे दुई वर्ष छ भने महाधिवेशन त अहिले घोषणा गरेर एक वर्षभित्र गर्ने कुरामा तपाईँहरू राजी हुनुहुन्छ ?

महाधिवेशनमा त तपाईका नजरमा देखिइनु भएका यी अलोकप्रिय र अनैतिक प्रधानमन्त्री र तिनको पक्ष पराजित होला लोकप्रियता(! )को शिखर चुम्नुभएका यहाँहरूको विजय दुन्दुभि रन्कने होला ! त्यसबेला विजेता सिकन्दर बनेर यहाँहरूले सबै हिसाब किताब राम्ररी नै गर्नु हुने नै होला ! अनि आम चुनावमा दुई तिहाइ मात्र होइन तीन चौथाई मत ल्याएर देखाउने यहाँहरूका खुट्टी पनि राम्रैसँग देखिने पनि होलान् नै ?

नत्र एकताको सङ्क्रमणकालीन व्यवस्थामा सहमतिबाट काम गर्न छाडेर बहुमतीयको डाँको छाड्दै महाधिवेशनबाट जितेको सिँहलाई बगरे (बगरबाट टिपेर ल्याएका) लोभीपापी स्यालहरू जम्मा भएर हटाउँछु भन्दै हुइय्या गर्न मिल्छ ?

अँ, थुकका बाछिटाले टीभीका स्क्रिन नै फोहोर पार्ने गरी डिजिटल मिडियामा आएर खोक्नेहरूले बुझ्नु पर्छ ! आफ्ना शरीर भरि विगत २० वर्षदेखि अनैतिकताको सिनो बोकेर मुलुकलाई खुबै नैतिकताका पाठ पढाउनेहरू महामहिमहरूले डुङडुङती गनाइरहेको आफ्नो जिउ त सुघेर हेर्नु नि !

तपाईहरूको नैतिकताको परिभाषा के हो ? कोरोना रोकथामका लागि कडा कदम चाल्नु र नेपाललाई ग्रिनजोनमा पार्न सफल हुनु अनैतिकता हो ? कसैले उठाउन नसकेको एन सेलको १० अरब राजस्व उठाउनु अनैतिकता हो ? राजधानीका सडक चिल्ला पार्नु अनैतिकता हो ? सार्वजनिक जग्गा सरकारका मातहत ल्याउनु र अझै ल्याउन खोज्नु अनैतिकता हो ? उपचार गर्न विदेश नजानु र नेपालकै सरकारी अस्पतालको विश्वास गर्नु अनैतिकता हो ? भ्रष्ट ठेकेदारलाई घरबेटी बनाउँदै उसैलाई राज्यका ठेक्कापट्टा दाइँजो नदिनु अनैतिकता हो ? मतपत्र नच्यातेरै जित्नु अनैतिकता हो ? विगत तीस वर्षदेखि कब्जा जमाएर बसेको र यस अघिका शान्तिक्षेत्रवादी देखि रक्तपातकारी सम्मका प्रधानमन्त्रीले समेत कसैले पनि कालापानी र लिम्पिया धुराको भूभाग नेपाली भूभाग भन्न नसकेको अवस्थामा नेपालकै भूभाग हो भनी भारत समक्ष जोडदार दावी प्रस्तुत गर्नु अनैतिकता हो ?

अनि तपाईहरूले प्रधानमन्त्रीका बारे जे आश गर्नु भएको थियो त्यसका विपरीत प्रत्यारोपण सफल हुनु अनैतिकता हो ? नत्र अस्पतालमा प्रधानमन्त्रीको होस आएको सुने पछि यहाँहरूको होस गुम्न किन थाल्यो र कर्नर मिटिङमा सेटिङ गरेर बैठकमा आउने भूतले सतायो ? होइन भने डिस्चार्ज नहुँदै बेचैनी र छटपटी पूर्वक राजीनामाका तानाबानामा यहाँहरू भोक र निदको पर्वाह नगरी किन मरिहत्ते गरेर लगिरहनु भो ?

अँ, पार्टीमा विधि र प्रक्रियाको खूब गफ गरिन्छ अचेल ! सुकेनास भएको रोगी झैँ केन्द्रीय समितिको टाउको मात्र देखिने र तलका अङ्ग प्यरालाइसिस बनाएर बस्ने अनि सङगठन र विधिको फुइँ लगाएर त्यै सङ्गठनको नामबाट निर्वाचित अध्यक्षलाई निष्कासन गर्ने धम्की दिनेहरूले आआफ्ना खुट्टी र हैसियत हेर्नु नि ! म दङ्ग परिरहेछु अहिले ! यतिका समयसम्म दुई अध्यक्षले मुख र कान जोडेर चल्दा रमिते बन्नेहरूलाई थाहा हुनु पर्ने हो, त्यतिबेला तीतीन महिनामा स्थायी समिति मिटिङ बस्नु पर्ने नियम कुन डस्टबिनमा थन्किएको थियो ?

अँ, यत्रो अवधिमा एकपल्ट बसेको केन्द्रीय समितिको बैठकमा यो सरकारले गरेका काम राम्रा भनेर प्रशंसा गरेको मसी पनि त अझै चिसै छ क्या र ! अध्यादेशको निको भैसकेको घाउलाई क्यन्सरै भो भने झै गरी जुन हौवा पिटाइँदै छ र यत्तिका आधारमा राजीनामाको दमाहा बजाइँदै छ, यदि यस्तै मुद्दाका आधारमा राजीनामा माग्दै जाने हो भने प्रत्येक छ छ महिनामा यो मुलुकका प्रधानमन्त्री फेर्नु पर्ने हुन्छ भन्ने बुझ्ने कि नबुझ्ने ? यसो नगर्ने हो भने सबैको पालो कहिले आउँछ भनेर पालो पुर्याउन खोजिएको हो स्थिरता नपचेको हो भने केही भन्नु छैन ।

त्यसैले आदरणीय, श्रद्धेय, क्रान्तिकारी, वरिष्ठ नेताज्यूहरू ! यो सरकारका कमी कमजोरी छन भने सच्याउनेतिर लाग्नुस् । निधारमा घाउ भयो भनेर घाउको उपचार तिर नलागी टाउको काट्ने काम नगर्नुस् । सरकार र पार्टी दुवै बेलगाम नहुनुस्, बलियो सूत्रमा बाँधिनुस् । जनता र मतदाताका सपनामा आगो नझोस्नुस् ! सरकार फेर्ने होइन सरकार र पार्टीका सबैले आ-आफ्नो बानी फेर्नुस् !

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १०:३९