१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नुवाकोटको म्यागङमा भ्रष्टाचारको प्रमाण मेटाउन गाउँपालिकाको कार्यालयमा आगजनी !


१३ वैशाख, काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकामा भ्रष्टाचारको प्रमाण मेटाउन आगजनी गरेको बुझिएको छ । गाउँपालिकाले गरेका धेरै काममा भ्रष्टाचार भएको भन्दै वडा वडाबाट आवाज उठिरहेको समयमा लकडाउनको समयमा गाउँपालिकाको सबै महत्वपूर्ण कागजात एकैठाउँमा जल्ने गरी आगजनी भएपछि राजनीतिक दलहरू समेत शशंकित बनेका छन ।

बैशाख ८ गते दिउँसो सवा १ बजे गाउँपालिकाको भण्डारण शाखामा गरिएको आगजनीको निष्पक्ष छानविन गर्नुपर्ने भन्दै प्रतिपक्षी नेकपाले विज्ञप्ति नै जारी गरेको छ । उसले विज्ञप्ति प्रकाशन गरी  गाउँपालिकाको भण्डारण शाखामा भएको आगजनीप्रति शंका व्यक्त गरेको छ ।

नेकपाले विज्ञप्तिमा कोरोना संक्रमणको सन्त्रास र मुलुक लकडाउनको बिषम परिस्थितिमा औषधी लगायत आर्थिक बर्ष २०७४/०७५ र २०७५/०७६ का सम्पूर्ण कागजात जलेर नष्ट हुनुको पछाडी आफ्ना कमी कमजोरी ढाकछोप गर्ने दुस्साहसको गन्ध आएको उल्लेख गरेको छ । नेकपाका गाउँपालिका अध्यक्ष बुद्धिबहादुर तामाङ, सचिव सेल्कर तामाङ र इन्चार्ज मेघनाथ तामाङद्धारा संयुक्त रूपमा जारी विज्ञप्तीमा घटना सुनियोजीत भएकाले छानविनको माग गरिएको छ । गाउँपालिकाले गरेको विकासका काममा चरम भ्रष्टाचार भएको भन्दै यसअघि पनि चर्को गुनासो अाएको थियो । नेपाली कांग्रेसबाट चुनाव जितेका अाशा तामाङले गाउँपालिकाको नेतृत्व गर्दै अाएका छन ।

 

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १६:०५