१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भैँसीपाटी बैठक लगत्तै मध्यरातमा देउवाको ससुराली किन पुगे प्रचण्ड ?


१२ वैशाख, काठमाडाैँ । विभिन्न नाममा सरकार माथि घेराबन्दी गराइरहेको आरोप लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ससुराली घरमा पुगेको पाइएको छ । अध्यादेश फिर्ताका लागि प्रधानमन्त्रीलाइ दबाब दिन पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैँसेपाटीमा भएको भेला लगत्तै प्रचण्ड देउवासँग भेट्नकै लागि उनको ससुराली पुगेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

राससका फोटो पत्रकार प्रदीपराज वन्तले कैद गरेको यो तस्बीर देउवा निवासकै हो ।

उनले यो लकडाउनको समयमा पनि देउवासँगकाे भेटलाइ तीव्रता दिएका छन । उनले यसअघि पनि देउवासँग पटक पटक भेटवार्ता गर्दै आएका छन । देउवाको साला भुषण राणाको घरमा दुइ नेताको बीचमा करिब १ घण्टा ३० मिनेटसम्म कुराकानी भएको थियो । प्रचण्डले आफूहरूसँगको भेटमा देउवासँगको भेटको विषयमा कुनै कुरा नगरेको भए पनि केही समय यता भेटवार्ता बाक्लिएको नेकपाकै एक सचिवालय सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार देउवा भेट्न प्रचण्ड गएको कुरा थाहा पाएपछि चार नेता झसङ्ग भएका थिए । उनले भने, ‘प्रचण्ड निवास जान भनेर नै हिडेका थिए तर देउवा भेट्न पुगेछन । शायद उहाँहरूको बीचमा अध्यादेश फिर्ताको सम्बन्धमै कुरा भएको होला । अन्य विषयमा कुनै कुरा भएको रहेछ भने त्यसमा हाम्रो साथ हुन्न ।’  भैँसीपाटी छलफलमा प्रचण्ड र बामदेव गौतम सरकारविरूद्ध आक्रामक देखिएका थिए । उनीहरूले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १०:५५