१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सत्तालाई पानी र आफूलाई माछो मात्र नठानौँ


-प्रा.डा.ऋषिराम शर्मा

पाँच वर्षे स्थिर सरकार दिएका जनता ढुक्कसँग बसेका छन्, उनीहरूले जसको कमान्डरसिपमा विश्वास भएर मतदान गरे, निजकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ, पाँच वर्षपछि सरकारका कामका उत्तर पुस्तिका परीक्षण गर्ने भनेर ढुक्क पनि छन् । सिङ्गो मुलुक लामो समयदेखि त्रिशङ्कु सरकारको दीर्घरोगबाट ग्रस्त रहेको, सिङ्गो मुलुकबासीको मनोदशा निराशा, कुण्ठा र हताशाको चरमोत्कर्षमा पुगेको, स्थिर सरकारको अभावमा सिङ्गो मुलुकमा कुन्नि केले छाउरा जन्माएझैँ छ–छ महिनामा नयाँ प्रधानमन्त्री जन्माउनु परेको र सिङ्गो मुलुकबासीका सकारात्मक संवेदना मृतप्रायः बनिसकेका बेला मुलुकले इतिहासको सबैभन्दा शक्तिशाली र स्थिर सरकार प्राप्त गरेकै हो । तर विपक्षी र कतिपय आफ्नैलाई पनि लोभको ढुङ्ग्रो भर्न नपाएर हो वा किन हो छिनछिनमा बेपत्तासँग चिलाइ रहने अस्थिरताको सुके लुताले हैरानै पारे जस्तो छ। बोलीको ठेगान नहुने पिपलपाते रोगले गाँजेर कोहीकोही बेलाबेला बुढो कमिलाले टोकेझैँ जुरुकजुरुक गर्छन् भन्ने सुनिन्छ ।

लाग्दैछ, अहिले हाम्रो मुलुकको अवस्था ठिक यस्तै छ । जब भ्रष्टाचारले ढडिएका स्यालहरू बस्तीका बीचमा गएर ‘कुखुरा चोर कुखुरा चोर’ भन्दै सोर मच्चाउँछन् र बिचरा बस्तीका जनता साँच्चै हो कि क्या हो भनेर लाठो लिएर बाटबाटै दगुर्छन्, त्यही बेला झ्याङमा बसेर हल्ला मच्चाउने तिनै स्यालहरूले कुखुरा जति लुटेर लान्छन् । अहिले तिलका दानालाई पहाडका रूपमा भाइरल बनाउने ढाडे स्यालहरूको कोकोहोलो महामारीलाई अवसरका रूपमा प्रयोग गरी छिटै सत्तामा पुगेर राज्यका ढुकुटीको खोर लुट्ने चालबाजी हो भन्ने कुरा बस्तीवालले बुझेकै छन् नबुझेको भए बुझ्न निकै जरुरी छ ।

२०४८ सालदेखि २०७६ सालसम्म स्वास्थ्य मन्त्रालयको नेतृत्वकर्ता मन्त्रीहरू को को हुन् ? तिनले त्यसभन्दा पहिलेका सरकारी अस्पताल बाहेक थप कति अस्पताल बनाए ? सेलिब्रेटी नेताका हातमा स्वास्थ्य मन्त्रालय हुँदा के कति लछार्पाटो लाए ? स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई मान्छे चिर्ने लाइसेन्स बाड्ने र निजी मेडिकल कलेज र अस्पताल खोल्न दिई मुलुकको स्वास्थ्य क्षेत्र तहसनहस कसले पारेको रहेछ ? तिनै निजी कलेजहरूबाट उत्पादित व्यक्ति के भनौँ वस्तु ( स्वस्थ मानिसलाई केकेजाति परीक्षणका नाममा लुट्ने र ज्वरो आएको बिरामी आयो भने सरकारलाई केके जाति दिएन भनी सराप्दै मैदान छाडेर भाग्ने) हरूका उत्पादनका कारखाना खोल्ने इजाजत कसले दियो ?

म एसो गम्न थाल्छु, २०४८ सालको पूर्ण बहुमत प्राप्त सरकार का स्वास्थ्य मन्त्री रामवरण(रा) हुनु हुन्थ्यो भने अहिलेका स्वास्थ्य मन्त्रीभन्दा पहिले उपेन्द्र (उ) । यसरी यसभित्रको सम्पूर्ण काललाई राउ काल भन्न सकिने भयो । राहुको जनबोलीमा राउ नै उच्चारण हुने भएकाले स्वास्थ्य मन्त्रालयमा यो कालखण्डमा राउकै दशा लागेको देखियो । राउ (खराब ग्रह) का दशा सकिए पछि भानु, सूर्य (शुभ ग्रह)का दशा सुरु हुँदा पुराना खराब ग्रह, उपग्रहले छाड्ने बेला निकै सकस दिने मान्यताअनुरूप नै विभिन्न अवरोधहरू तेर्स्याएर सास्ती दिनु त्यस्ताको धर्म नै रहेकाले लुकेर रहेका ती ग्रह पुन सलबलाउन सक्ने हुँदा आफू शुभ ग्रह नै भए पनि बेलबेला ‘नबिराउनू र नडराहनू’ मन्त्रपाठ गरी त्यसबाट बच्न जरूरी छ ।

यता पार्टी एउटै भए पछि, सबै मिलेर नयाँ स्कुल पनि बनाए पछि र नयाँ स्कुलमा नयाँ ड्रेस लाएर सबै भर्ना पनि भए पछि उही पुरानो हिङ बाँधेको टालाको पोशाक काम लाग्दैन भन्ने सबै विद्यार्थीले बुझ्नै पर्ने हो, नत्र एउटा समूहले पुराना पोशाकमोह देखाउँदा अर्को पनि त्यसो गर्न बाध्य नहोला भन्न सकिन्न । विद्रोहकै कुरा उक्काउने हो भने बन्दुकबाट सत्ता परिवर्तन गर्ने हिङ बोकेर गाउँ जङ्गल हिडदै गर्दा त्यही हिङले जम्मै जिउ कुहाउन लागे पछि हिङजति हुत्याएर र अलपत्र छाडेर दुवै हातका हत्केलाले पुछपाछ पारेर बाबु (बाह्र बुदे ) कै सल्लाह अनुसार सहर पसिएकै हो । फेरि बेलाबेला त्यही गनाउने हिङ बाँधेका टालाको टुक्रो गोजीबाट निकालेर जहिलेसुकै त्रास र चन्दाजस्ता धन्दाका नानाथरीका कारोबार मार्फत्रोडपतिबाट करोडपति बन्नेहरू र तिनकै चुरीफुरी पनि अचाक्ली देखिएकै हो । जब देशले आश र मुटुले माया गरेका व्यक्तिहरू माथि त्यस्ताबाट भ्रष्टाचारीको रटान लगाइन्छ (स्मरण रहोस् आरोप पुष्टि भए ती दण्डनीय हुनेछन् नै) हजार मुसा भोजन गरेर तीर्थ गर्न काशी कुँदेकोको बिरालाको विम्ब जनमनमा आउनु स्वाभाविकै हो ।

त्यतिबेला बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भन्दै त्यसको सत्तो सराप गर्नेहरू जब त्यही कुकुरको मासु बेच्नेपसल अगाडि बसेर यतिबेला राल काड्दै ठेलमठेल गर्न थाल्छन् र त्यही मासुसँग आफ्नै बारीमा सहिदको खेतीबाट उब्जेको रेड (रगत)लेवल पिउँदै डकार्न थाल्छन् र बजाउन थाल्छन् भ्रष्टाचार विरोधी सहनाई ! त्यतिबेला जिउभरिको भ्रष्टाचारको भैँसी नदेखेर अर्काका जिउका भ्रष्टाचारका लिखा खोज्न दगुर्ने भन्ने उखान आँखै अगाडि आएर ठिङ्ग उभिए झैँ लाग्छ !

सबैलाई थाहा भएकै कुरा हो, विद्रोहकालीन कोर्ससँग डिभोर्स गरेर आए पछि र नयाँ कोर्ससँग लगनगाँठो कसिसके पछि पुरानो कोर्सका धाक दिएर र बेमौसमका गफ गरेर समय खेर फाल्नु बेकार छ ।

नत्र पार्टी एकीकरण भइसके पछि विद्रोह र आन्दोलनका सकारात्मक उपलब्धिलाई दुवै पक्षले अपनत्व लिएपछि एक्लै बन्दुककै नालबाट आफैले राज्य सत्ता कब्जा गरेको झैँ धङधङी वा हयाङओभर बोकेर आफ्नै दुई तिहाई सरकारका विरुद्धको आत्मघाती गोल गर्ने रहर किन पलाउँछ ? विद्रोहकालीन नेगेटिभ भाइरसका पोजिटिभ लक्षण हट्नै सकेका छैनन् भने ती न उत्रुन्जेल केही समय क्वारेन्टाइन वा आइसोलेसनमा बस्ने हो कि ? विद्रोहबाट प्राप्त उपलब्धि र विद्रोह कालमा भएको क्षतिको हिसाब किताब वा अडिटिङ् गर्ने नै हो भने मुलुकमा क्षतिका पहाडका अगाडि उपलब्धिको ढिस्कामा थुप्रै बेरुजुहरू देखा पर्न पनि सक्लान्। कि आज एक भएको पार्टीका बीच एकले गरेका वीभत्स व्यक्ति हत्या र अर्काले गरेको भनिएका सुराकीका घटनाका कहालीलाग्दा एवम् निर्घृणी अतीत ब्युताउने रहरै हो भने अर्कै कुरा हो !

नत्र उही सरकारका विरूद्धको दुन्दुभि बजाएर ट्याम्के भाषामा विरोध गरेका छेनौँ भनेको कसले सुन्छ ? विकास निर्माण र दूरगामी महत्वका कामहरू देख्दै नदेख्ने दोषी चस्माको मरम्मत नगर्दा आफैलाई ठेस लाग्छ भन्ने पत्तो पाउन फेरि अबेर होला ! स्मरणीय के छ भने छिमेकीका विरुद्ध उफ्रँदै सत्तामा पुग्ने र त्यहाँ पुग्नासाथ लज्जावती झार झैँ लत्रने र दुतावासका कुकुर भुकाउने प्रचलित डिस्कोर्स भत्काउँदै आफ्नो देशभक्तिको अडान नछोडेरै पनि छिमेकीहरूसँग सहकार्य, सहयोग आदान–प्रदान गर्दै देशको स्वभिमान उँचो पार्न सकिँदो रहेछ भन्ने नयाँ डिस्कोर्स अहिलेको नेत्तृत्वले स्थापित गरेको कुरा गर्न मन नलागे नगरौँ । किनकि हिजो संविधान र सरकारका विरुद्ध नाकाबन्दी गर्नेहरूले आज तँछाड–मछाड गर्दै सहयोगका लागि हात बढाएको कुराले यस तथ्यलाई पुष्टि गरेको तस्वीर आफै बोलि रहेको छ ।

वास्तवमा यो सरकार गठन भएपछि दुइ वर्षको अवधिमा थुप्रै कामहरू भएको कुरा विभिन्न स्रोतबाट विभिन्न माध्यममा आइरहेकै पनि छन् । विश्व बैंकको प्रक्षेपण अनुसार सात प्रतिशतको आर्थिक वृद्धिदर यस अवधिमा हाँसिल हुनु, पेट्रोलियम पाइपलाइन (मोतिहारी–अमलेखगंज) र नागढुङ्गा नौबिसे सुरुङ मार्गको काम आरम्भको चरणमा हुनु, चिनसँगको पारवहन र यातायात सम्झौता हुनु, पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार हुनु, लगानी सम्मेलनमार्फत कृषि, पर्यटन लगायत ठूलाठूला लगानीहरू भित्रिनु, यही डेढ वर्षभित्रै १ हजार किलोमिटर कालोपत्रे सम्पन्न हुनु, चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युत् उत्पादनमा १ हजार मेगावाट थपिएर ठूलो परिमाणमा विद्युत् उत्पादन भई निर्यात गर्ने अवस्थामा पुग्नु, वैदेशिक रोगारीलाई व्यवस्थित र श्रमिकमैत्री बनाउनु, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोष मार्फत आम नेपाली वेरोजगार र श्रमिकहरूको हितमा महत्त्वपूर्ण कानुन बन्नु र कार्यान्वयनका चरणमा पुग्नु जस्ता सयौँ कामहरू यस अवधिमा भएका छन् ।

आज धुलोयुक्त काठमाडौँ धुलोमुक्त हुनाका साथै काठमाडौँ सडकहरूका खाल्टाखुल्टी पुर्ने काम र यहाँका सडकहरू विदेशलाई विर्साउने गरी कालोपत्रे गर्ने काम युद्ध स्तरमा भैरहेको छ। सन्तुलित परराष्ट्र नीति र वैदेशिक सम्बन्ध, ल्यान्डलक्ड देशबाट ल्यान्डलिङ्क्ड मुलुकका रूपमा रुपान्तरको चरण जस्ता महत्त्वपूर्ण कोर्स सञ्चालन भैसकेका छन् । कोरोना युद्धमा विश्वका शक्तिशाली राष्ट्हरू निरीह भै रहेका बेला सरकार पूर्ण बन्दोवस्तीका मैदानमा उत्रेर आम जनताको जिउ रक्षाका लागि लागेको कुरालाई जगतले स्वीकार गरेकै छ ।

तसर्थ ससाना निहुँमाहुइय्या गर्दै कराउने, कहिले विषादीको आदि कुरो पनि नबुझेर सरकार सम्झौता गरेरै विदेशबाट विषादि आयात गरेझैँ मौसमी कोकोहोलो मच्चाउने, त्रिताल आयोग गठन गरी मुलुकैभरिको अतिक्रमित जग्गा राज्य मातहत ल्याउन खोज्ने सरकारमाथि नै कहिले उक्त जग्गा हडपेको आरोपका वर्षा गर्ने, कहिले केक काट्दा देशै काटिएको देख्ने, कैले डाक्टरको कुरा उराल्ने त कहिले धामी झाँक्री पतुरेका धतुरे कुरा गर्ने, लकडाउन गर्दा यो अझ पहिल्यै गर्नु पर्थ्यो भन्ने, गरिसके पछि मान्छे किन नओसारेको भन्ने, प्रधानमन्त्री नबोल्दा किन नबोलेको भन्ने, बोल्दा हेर न बढी जान्ने भाको भन्ने,बाटबाटै आफै भ्रष्टाचारी घोषणा गर्ने, भट्टीभित्र बसेर आफै झुमबराबर झुम शराबी हुँदै मृत्युदण्डको फैसला गरी विपत्ति र महामारीका भट्टामा स्वार्थका रोटी सेक्न खोज्ने जस्ता काम किन गरिँदै छ ?

सत्तालाई पानी र आफूलाई माछो मात्र नठानौँ । अब त सत्ताको पानी बिना जमिनमा सास फेर्न सकिन्छ भन्ने विश्वास गरी बाँच्ने बानीको विकास गरौँ । अँध्यारो मात्र देख्ने चस्मा होइन, उज्यालो अँध्यारो दुवै देखिने चस्मा लगाऔँ, पालो नसकिँदै लाइन मिच्ने मुन्द्रे प्रवृत्ति त्यागौँ । धैर्य गरौः किनकि ढिला गरे अवश्य पुगिन्छ ,हतार गरे भन्न सकिन्न !

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार ०८:५१