७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

‘भाइरल’ र ‘सेलिब्रेटी’ बन्ने नाममा गति छाड्न र जिम्मेवारी बिर्सन मिल्दैन


-सूर्य थापा 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७१ वर्ष पूरा भएको छ । अब यो आन्दोलन ७२ वर्षमा प्रवेश गरेको छ । यस क्षणमा संस्थापक महासचिव पुष्पलाल र अरु संस्थापकहरुप्रति विशेष सम्मान अर्पण गर्नैपर्छ । देशलाई आधा दर्जनभन्दा बढी प्रधानमन्त्री दिइसकेको र अहिले दुईतिहाई बहुमतको सरकार सञ्चालन गरिरहेको यस आन्दोलनले हासिल गरेको परिपक्वता उदाहरणी र मननयोग्य छ । तर, यस अवधिका उपलव्धि र कमजोरीहरु, आरोह र अवरोहहरु भूलचुक र गल्तीहरु एवं सम्भावनाहरुलाई अझै परिपक्वताका साथ आत्मसाथ गरिनु अत्यावश्यक छ । यसनिम्ति सबैले आआफ्नो जीवन, इतिहास र विगतका अनुभव, योग्यता र योगदानहरु सम्झेर तर्क र बहस गरौं ।

१. प्रधानमन्त्री एवं पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न भएयता झण्डै सात दशक लामो जीवनयात्राभर जहिल्यै टुटफुटमा छरिएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र गतिशील बनाउन सक्रिय रहिआउनु भएको तथ्य घामजत्तिकै उज्यालो र छर्लङ्ग छ । यसमा कोही भ्रमित हुन वा अबुझ बन्न जरूरी छैन ।

२. झापा विद्रोहदेखि नै उहाँ सचेतन ढंगले कम्युनिष्ट आन्दोलनको सही विचार, एकता, राष्ट्रव्यापी पार्टी निर्माण अनि विस्तार तथा सबल राष्ट्रिय शक्ति निर्माणको स्पष्ट लक्षका साथ समर्पित र क्रियाशील रहनुभयो । त्यसै क्रममा उहाँ १४ बर्ष विभिन्न जेल र कठोर यातनागृह गोलघरमा बिताउनसमेत बाध्य हुनुभयो । यो गौरवशाली संघर्षको गाथाकै परिणाम आज उहाँ पार्टी र सरकारको नेतृत्वदायी र निर्णायक स्थानमा हुनुहुन्छ । र, जिम्मेवारी बहन गरिरहनुभएको छ ।

३. उहाँले ५५ बर्ष लामो संगठित जीवनमा कहिल्यै फुट र विभाजनको पैरवी, अगुवाई र नेतृत्व गर्नुभएको छैन । एउटा मात्रै होइन, यसखाले अनेक कर्महरूमा उहाँको कहिल्यै योगदान र अनुभवसमेत रहेको पाइँदैन ।

४. नेकपाको पछिल्लो एकता र आजको हैसियत निर्माणमा उहाँको नेतृत्व, पहल र राष्ट्रव्यापी जनपरिचालनसहित एक्लैको ७० प्रतिशत सक्रिय भूमिका र निर्णय क्षमताले काम गरेको छ । करिब दुई तिहाई बहुमतसहितको जनताको विश्वास पनि उहाँको चट्टानी अडान, उँचो स्वाभिमान र कष्टप्रद पौरखको परिणाम रहेको तथ्यप्रति सबैको हेक्का र स्मृति रहेकै हुनुपर्छ । उहाँ बनिबनाउ होइन, सेल्फमेड नेता नै हो ।

५. २००७ सालयताका कुनै सरकारले ५ बर्ष पूरै अवधि काम गर्न नपाएको विगत ७० बर्ष लामो अस्थिरताको निरन्तर दुश्चक्रलाई तोड्न तथा स्थिरताको सुनिश्चितताका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न नै नेकपा बनेको हो । यसबाहेकका अरू कुनै खुद्रामसिना स्वार्थहरू र झिनामसिना कुरामा नेकपा र यसको सरकार किमार्थ पनि अल्मलिँदैन । सरकारले चालेका जुनसुकै कदम पार्टीको आम नीति, घोषणापत्र, एकताको भावना अनि जनता र राष्ट्रको हितमा केन्द्रित एवं गतिवान रहेका छन् । यसमा कोही भ्रमित हुन आवश्यक छैन ।

६. जसले जुन काम र क्षेत्रमा विशेष अनुभव हासिल गरेको हुन्छ, त्यही काम गर्न र सकारात्मक वा नकारातमक परिणाम हासिल गर्न खोज्ने हो । फुटाउन अनुभवीले जुटाउँदैन र जीवनभर जुटाउन योगदान गर्न लागिपरेको नेताले किमार्थ फुटाउँदैंन । टुटफुटबाहेक जीवनमा अरू केही नगरेका र १२ घाट चहारेर अहिले नेकपामा आइपुगेका कतिपय व्यक्तिहरू एउटा अध्यादेशबाटै तनावग्रस्त र भयभीत हुँदै पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरूद्ध नै मर्यादाहीन र तथ्यहीन आरोप लगाउँदै बकवास गर्न लाजमर्दो शैलीमा उत्रिएको देख्दा तिनको राजनीतिक, वैचारिक, नैतिक र साँस्कृतिक स्तर धेरै नै टिठलाग्दो रहेको प्रष्ट भएको छ । यो पनि एक परीक्षा हो ।

७. मन्त्रिपरिषदले दुईवटा अध्यादेश जारी गर्ने सिफरिशको निर्णयसँगै नेकपाका केही स्थायी कमिटी सदस्य र कतिपय केन्द्रीय सदस्यहरूले मच्चाएको रोइलो हेर्न लायकको छ । आफू असन्तुष्ट रहेको कारण आम मानिसहरूले थाहा पाइसकेका छन् भन्ने बुझ्न स्वयंलाई कति गाह्रो परेको होला ? अझ एकजना सदस्य हरिबोल गजुरेलजीले त हिमालय टेलिभिजनमा आफ्नै बोलीमा भन्न बाँकी राख्नुभएन– ४० प्रतिशत संख्या लिएर पार्टी फुटाउन प्रधानमन्त्रीले अध्यादेश जारी गर्नुभएको हो । यस्ता बकवासहरूको पनि हद हुन्छ होला ! हाम्रो नेतृत्व तहमा नै यो तहको स्खलन र दिवालियापन छ भने समस्या कार्यकर्ता वा अन्यत्र कहीं त छैन । कमसेकम तथ्यमा पुगेर बोल्न त सक्नुपर्ने हो ।

८. नेताहरूलाई जरूरी महसुस भयो, सचिवालय बैठक केही घण्टाभित्रै अध्यक्ष तथा प्रधानमन्त्रीले अर्का अध्यक्षसँग सल्लाह गरी पार्टी महासचिवले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभयो र बैठक बस्यो । त्यहाँ छलफल र बहस गरेर अघि बढ्ने काम भयो । पार्टी अध्यक्ष र प्रधानमन्त्रीले स्वभाविकरूपमा पार्टी, देश र आन्दोलन तथा लोकतान्त्रिक अभ्यासको सबलीकरणकै लागि जरूरी निर्णय र कदम चाल्दै अघि बढ्नुपरेको तथ्यमा कालो पर्दा हालेर कोही कसैले भ्रममा बाँच्ने कोसिस किन गर्ने ? कतिपय मानिसहरू आफ्ना आकांक्षाको तुष्टीकरण नभएको रिस, आवेग र छटछटी यस्ता विषयमा पोख्न र आफ्नो दयनीय हालत प्रदर्शन गर्न नलागेकै उचित हुन्छ ।

९. सरकारको काम कसरी अघि बढाउने ? यो प्रधानमन्त्री र मन्त्रीहरूले राम्रोसँग जान्ने र तदनुरूप कार्यसंपादन गरेर परिणाम हासिल गर्ने बिषय हो । सके सहयोग गर्ने, नसके विरोधी वा विपक्षीलाई समेत पछि पारेर उछिन्दै फत्तुर लगाएर जगहसाइँ नगरे नै पदको मर्यादा र अनुकूल व्यवहार हुन्छ । सबैजनाले आफू कार्यकर्ता, जनता र मतदाताको निगरानीमा रहेको यथार्थलाई हेक्का राखेर सकारात्मक भूमिका खेल्नसके अनावश्यक तनाव हुँदैन र स्वास्थ्य पनि बिग्रँदैंन ।

१०. प्रधानमन्त्रीज्यूको ध्यान खाली पार्टीभित्र हावी हुन बल गर्नेतर्फ होइन किनभने उहाँ पार्टीको एक नम्बर अध्यक्ष र प्रधानमन्त्री त बहाल नै हुनुहुन्छ । यो हैसियत उहाँले आफ्नै आजीवन संघर्ष, समर्पण र पौरख गरेर हासिल गर्नुभएको यथार्थ सबैलाई अवगत हुन आवश्यक छ । पार्टी एकतालाई सम्पन्न र सुदृढ गरेर अघि बढ्ने, राष्ट्रलाई स्थिरता र सुशासन तथा समृद्धिको बाटोमा अघि बढाउने, जनतालाई सुखी, खुशी र स्वस्थ राख्ने, मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्ने र आइपर्ने जस्तासुकै संकट र समस्याको सामना गरी सफलतापूर्वक राष्ट्रको नेतृत्व गर्ने– यी निर्धारित बाहेक अन्य तपसिलका विषयमा उहाँको कुनै ध्यान र प्राथमिकता छँदै छैन । उहाँ हरेक नेता, कार्यर्ताको योग्यता, न्यायोचित व्यवहार, जिम्मेवारी, भूमिका र मर्यादाप्रति स्पष्ट नै रहनुभएको छ ।

११. अध्यादेशले नयाँ पार्टी बन्दैन, भइरहेको पार्टी चल्दैन र फुट्दैन पनि । पार्टी बन्ने र बिग्रने वा फुट्ने र समाप्त हुने यसको सिद्धान्त, विचार, नीति र व्यवहारका आधारमा हो । शोभियत क्रान्ति गरेको बोल्सेभिक पार्टी पनि अन्ततः आफ्नै गलत नीति र नेतृत्वका कारण विघटन र समाप्तजस्तै भयो । पार्टी र आन्दोलनभित्रै गोर्भाचोभ र एल्तसिनहरु जन्मिए । जसले अन्ततः शोभियत सत्ता र कम्युनिष्ट आन्दोलनलाई नै धराशायी बनायो । हामीकहाँ पुरानो पिँढी र वर्तमान नेतृत्वले नै पार्टीलाई यहाँसम्म स्थापित गरेको छ । यो सफलताको श्रेय यही पौरखी पिँढीलाई जान्छ र समस्या पनि यहीँभित्र छन् । आफ्नो सरकारलाई आफ्नो भन्न नसक्ने, आफ्नो नेतालाई नेताको स्थानमा सम्मान र मर्यादा गर्न नसक्ने, विपक्षीले भन्दा बढी सरकार र मन्त्रीहरुलाई घेराबन्दी गर्ने, सही नीति र मार्गदर्शन होइन, निन्दा र भत्र्सनामार्फत सिङ्गो आन्दोलन, नेतृत्व र जिम्मेवारहरुलाई बदनाम गर्ने, पद, पैसा र परिवारको स्वार्थमा लिप्त रहने, जनताबाट अलगथलग हुने र जनताको स्वार्थलाई बिर्सेर आफ्ना निहीत आकाङ्क्षामा केन्द्रित हुने यस्ता तौरतरिकाले न पार्टी एकतावद्ध र सुदृढ हुन्छ, न त जनता र राष्ट्रको आकाङ्क्षा पूरा गर्ने सामथ्र्य राख्छ । यतिबेला यो सबैभन्दा गम्भीर चूनौतिको विषय हो ।

१२. नेपाली कम्युनिष्ट आन्दोलन ७० वर्ष पूरा गरेर ७१औं वर्षमा प्रवेश गरेको छ । यसले फुट, विभाजन र एकताको लामो श्रृङ्खला पार गरेको छ र अनुभवी तथा परिपक्व बन्दै आजको जिम्मेवारी बहन गरिरहेको छ । दुईतिहाई बहुमतको सरकार सञ्चालन गरिरहँदा भण्डाफोरवादी प्रतिपक्षजस्तो व्यवहार यसका कतिपय नेता कार्यकर्ताहरुलाई शोभनीय हुन सक्दैन । साथै ‘भाइरल’ र ‘सेलिब्रेटी’ बन्ने नाममा गति छाड्न र जिम्मेवारी बिर्सन मिल्दैन । जनताले दिएको जिम्मेवारी बहन गर्नु, योग्यता प्रदर्शन गर्नु र सफल हुनु यतिबेलाको यसको प्रमुख दायित्व हो । को कति भूमिगत बस्यो वा कति वर्षदेखि नेतृत्वमा रहिआएको छ भन्ने आधारमा होइन, सही विचार, सिद्धान्त र नीतिहरुको निरुपण र अभ्यास एवम् आमूल परिवर्तनको प्रक्रियामा गरेको योगदानका आधारमा मूलतः जनमुखी व्यवहारमा नै आज पार्टी, आन्दोलन र नेतृत्वको मूल्याङ्कन हुन्छ, गरिनुपर्छ र आन्दोलनको भविष्य सुनिश्चित गर्दै अघि बढ्नुपर्छ । ससाना, झिनामसिना र मनोगत आग्रहमा रुमल्लिएर न जनताको विश्वास जित्न सकिन्छ न जनताले प्रदान गरेको जिम्मेवारी पूरा गर्न सकिन्छ । यसको हेक्का राखेर नै आन्दोलनमा सबैले सकारात्मक भूमिका निर्वाह गर्न ध्यान दिनुपर्दछ ।

(लेखकः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाश विभागको उपप्रमुख हुनुहुन्छ ।)

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार ०७:४८