७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोनाकाे महामारीबाट प्रभावित नेपाली समुदायलाई एनआरएनए अष्ट्रेलियाद्वारा सहयाेग वितरण


-बालगाेपाल उपाध्याय

२७ चैत, अष्ट्रेलिया । अष्ट्रेलिया सरकारद्वारा अष्ट्रेलिया प्रवेश गर्नेले अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागू गरेपछि प्रवेश गरेका दुई सय भन्दा बढि व्यक्तिहरुलाई गैर आवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाले खाद्यान्न सहयोग गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले कोरोना महामारी नियन्त्रणका लागि गत मार्च १५ देखि आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएका थिए ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका महासचिव डाक्टर ज्ञानेन्द्र रेग्मीका अनुसार संघको कोषबाट २० हजार अष्ट्रेलियन डलर राहतको लागि छुट्टाईएको र हाल सम्म १५( १६ हजार डलर खर्च भैसकेको बताउनु भयो । उहाँका अनुसार संघले कोरोना महामारीबाट प्रभावित नेपाली समुदायलाई सहयोगका लागि आफ्नो कोषबाटै सहयोग गरेको र अन्य थप सहयोगका लागि नेपाली दुतावास समेतको सहभागीतामा एक समिति निर्माण गरिएको बताउनु भयो ।

यता बिद्यार्थीहरुको संगठन प्रवासी नेपाली विद्यार्थी संगठनका अध्यक्ष सम्राट् ओली १५ मार्च पछि आउने तथा क्वारेन्टाइनमा रहेकाहरुलाई खाना महत्त्वपूर्ण भए पनि बिद्यार्थीहरुको मुख्य समस्या भनेको कलेज फि र घर भाडा नै भएको बताउनु हुन्छ । उहाँका अनुसार संगठनले नेपाली दुतावास लगायत नेपाल संस्थाहरुलाई यसका लागि सहयोग र पहलको लागि अनुरोध गरेको बताउनु हुन्छ । महासचिव डाक्टर रेग्मीले संघ मुख्य गरि सदस्यता शुल्कबाटै चलेको संस्था भएकाले अहिले खाद्यान्न सहयोग मात्र गर्न सकेको र फि लगायतको समस्याका लागि अष्ट्रेलियाका लागि नेपाली दुतावासलाई कुटनैतिक पहलको लागि अनुरोध गरेको बताउनु हुन्छ ।

राहत बितरणमा क्वारेन्टाइन बसेकालाई मात्रै भने पनि बेरोजगार भइ समस्या भएको भनेर सहयोग मागेकालाइ पनि सहयोग गरेको संघका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक नवीन पन्तले बताउनु भयो । उहाँका अनुसार साउथ अष्ट्रेलियामा ३० जनालाई ४० डलर बराबरको सहयोग प्याकेज उपलब्ध गराएको बताउनु भयो ।

पन्तका अनुसार सहयोग बिद्यार्थी केन्द्रीत रहेको बताउनु हुन्छ । उहाँले अहिले मुख्य समस्या बिद्यार्थीको देखिए पनि रेष्टुरेन्ट , क्यासिनो लगायत क्लिङ कम्पनीहरु पनि बन्द हुँदै गएकाले स्थायी बसोबास भएका भएका नेपाली समुदायका सदस्यहरुको पनि रोजगारी गुमेको बताउनु हुन्छ । पन्त यो संकट लम्बिने भएकाले आफुले खाना लगायतका सहयोग गर्ने यहाँ विभिन्न संस्थाहरुबाट पनि सहयोग लिने प्रयास गरिरहेको बताउनु भयो । उहाले साउथ अष्ट्रेलियामा बिद्यार्थीहरुलाइ भिसा लगायतको समस्याका बिषयमा एडिलेडमा रहेका शैक्षिक परामर्शदाताहरुबाट नि शुल्क परामर्श दिने कार्यक्रम पनि संचालन गरिरहेको बताउनुभयो ।

संघका महासचिव डाक्टर रेग्मीले अहिले मुख्य समस्या बिद्यार्थीहरुको भएकाले बिद्यार्थीमा केन्द्रीत भए पनि छिट्टै संघले अत्यावश्यक सेवामा खासगरि अस्पताल कार्यरत भएका नेपालीले घर जान नपाउने अवस्था रहेमा उहाँको घरमा आवश्यक सामाग्री पुराउने खाल्को कार्यक्रम ल्याउने बिषयमा पनि छलफल भैरहेको बताउनु भयो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ११:४८