१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

र्यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा


२७ चैत, गलकोट । नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ । मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ । टोलीमा प्राविधिक किशोर पाण्डे सहभागी हुनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ ।

टोलीले बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिएपश्चात परीक्षण शुरु गर्ने तयारी छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तिनका परिवार, सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद ९०० भन्दा बढीको परीक्षण गर्ने गरी बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १०:३०