Logo

स्वास्थ्य सामग्रीको प्रयोगः लडाइँमा प्रयोग हुने गोली चरा मार्न प्रयोग गरेजस्तै नगराैँ



-डा. खेमबहादुर कार्की

विश्वमा देखिएको कोरोना महामारीले सबैलाई अतङ्कित मात्र बनाएको छैन यसले विश्व सम्बन्ध र जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको छ ।
कोभिड १९ ले चिनिने नयाँ कोरोना भाइरसको सङ्क्रमण आगो लागे जसरी फैलियो । अहिलेसम्म साढे १२ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ भने ७५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । करिब चार महिना अघि चीनबाट सुरु भएको यो सङ्क्रमण नेपालमा प्रवेश गरेको पनि करिब तीन महिना पुग्दैछ ।

तीन महिनामा विदेशबाट आएका नेपाली आठजनामा मात्र सङ्क्रमण देखिए पनि चैत २२ गते भने विदेशबाट आएका सङ्क्रमित व्यक्तिबाट उहाँको नजिकको आफन्तमा सरेको पुष्टि भएसँगै कोरोना सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेका छौँ । छिमेकी मुलुक भारत र इटालीमा एकैचोटी सङ्क्रमण सुरु भएकोमा भारतमा देखिएको कम सङ्क्रमणले नेपालमा पनि सङ्क्रमणको दर न्यून नै रहने विश्वास गरिएको छ । तर कोरोना भाइरसले स्वरूप परिवर्तन गरिरहेको र चीनमा भन्दा युरोप, अमेरिकामा बढी आक्रामक ढङ्गले फैलिरहेको हुँदा नेपालले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो साधनस्रोतको उच्चतम प्रयोग गर्दै सम्पूर्ण शक्तिलाई एकत्रित गरी अगाडि बढ्नुको विकल्प छैन ।

सङ्क्रमणको फैलावट न्यून रहेको अहिलेको अवस्था हेर्दा नेपालले अपनाएको नीति सही साबित भएको छ । चौधौँ शताब्दीको मध्यतिर युरोपलगायत विश्वमा फैलिएको प्लेगले २० करोडभन्दा बढी मान्छेको ज्यान लिएको थियो । कालो मृत्यु (ब्ल्याक डेथ) भनेर चिनिएको प्लेगको त्यो महामारीलाई पनि रोक्न सफल भएको विधि लकडाउन नै थियो । कोर्डेन स्यानिटाइजर भनेर चिनिने यो विधिले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग नसार्न हिँडडुल बन्द गर्ने हो । टाढा टाढा बस्ने हो । आफू र आफू वरिपरिको वातावरणलाई सफा राख्ने र हरेक पटक कुनै नयाँ वस्तु छोएपछि हात धुने वा कीटाणु मार्न सक्ने अल्कोहलमिश्रित स्यानिटाइजरको प्रयोग गर्ने भन्ने हो । यही विधिको प्रयोगबाट चीनले अहिलेको महामारी नियन्त्रण ग¥यो ।

यो विधिको प्रयोग गर्न हिचकिचाउने वा ढिलो गर्ने इटाली, अमेरिकालगायत युरोपेली मुलुकमा महामारीले भयावह रूप लियो तर जुन मुलुकले लकडाउन विधि अपनाए, त्यहाँ सङ्क्रमण तीव्र भएन । त्यसैले सङ्क्रमण रोक्न लिएको यो कदममा नेपाली जनताले दिएको साथ र सहयोग अभूतपूर्व छ । सङ्क्रमण फैलिएका देशहरूबाट आएका व्यक्तिहरूलाई घरघरमा परिवारका अन्य सदस्य र छिमेकीहरूलाई सङ्क्रमण नसरोस् भन्नका लागि छुट्टाछुट्टै बस्न अनुरोध गरिएको छ । परिवारका अन्य सदस्य र छिमेकीहरूले पनि उहाँहरूलाई छुट्टै रहन सहयोग गरेका छन् । यो बेला व्यक्ति आफैँ जिम्मेवार बन्ने हो ।

नेपाल सरकारले लिएको दोस्रो नीति कोभिड १९ को लक्षण चिन्हहरू देखिएमा अर्थात् विदेशबाट आएको वा उसको सम्पर्कमा आएका व्यक्तिहरूको जाँच गर्ने हो । यो जाँचका लागि चाहिने प्रयोगशाला सामग्री, दक्ष जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था गरिएको छ । अहिले सातवटै प्रदेशबाट आरटी पीसीआर प्रविधिबाट जाँच सुरु भइसकेको छ । चैत २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार दु्रतगतिमा गरिने परीक्षण पनि सुरु भएको छ । पश्चिम नेपालका कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लाबाट सुरु गरिएको परीक्षणलाई देशव्यापी बनाउने हो । अहिले क्वारेन्टाइनमा रहनुभएका सबै व्यक्तिलाई परीक्षण गर्ने र दुई हप्ताभन्दा धेरै क्वारेन्टाइनमा बसेका र कोभिड १९ को कुनै पनि लक्षण चिन्ह नदेखिएका व्यक्तिलाई क्वारेन्टाइनबाट मुक्त गर्ने हो । फेरि पनि व्यक्तिहरूको हिँडडुल र घुलमिल त रोक्नैपर्छ । जति घुलमिल भयो, त्यति सङ्क्रमण बढ्छ । यसमा सबैको उत्तिकै दायित्व र जिम्मेवारीबोध हुनुपर्दछ र भएको छ ।

तेस्रो कुरा, कोभिड १९ को सङ्क्रमण दर बढ्दै जाँदा कोभिडका बिरामीहरूको उपचारका लागि अस्पताल चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई पूर्व तयारी अवस्थामा राखिएको छ । काठमाडौँ उपत्यकामा पाँचवटा र उपत्यकाबाहिर १३ वटा अस्पताललाई कोभिड १९ को उपचारका अस्पताल छुट्याएको छ । ती अस्पताल र त्यहाँ काम गर्ने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीको समूह समूह बनाएर उपचारमा खट्ने व्यवस्था मिलाउन अस्पतालहरू अहोरात्र खटेका छन् । ती अस्पताललाई आवश्यक चिकित्सकीय सामग्री, जनशक्ति र भौतिक संरचना तयार गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम पठाउनेदेखि चिकित्सकीय सामग्रीहरू समेत पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा महामारी तथा विपत्तिका बेला प्रभावकारी कार्य गर्न स्थापना भएको स्वास्थ्य आपत्कालीन व्यवस्थापन केन्द्र र विपद् महामारी व्यवस्थापन प्रणालीलाई क्रियाशील गराइसकिएको छ ।

अस्पतालको तयारी स्वास्थ्यकर्मीको सुरक्षा र महामारी रोकथाम प्रतिकार्य सँगसँगै जोडिएर आउने पेचिला र चुनौतीपूर्ण विषय हुन् । कोभिड १९ जस्तो सङ्क्रामक रोगको नियन्त्रण, रोकथाम र उपचारको लडाइँको पहिलो मोर्चामा खटिने लडाकु भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरूलाई कोभिड १९ को सङ्क्रमण हुन दिनुहुँदैन । त्यसका लागि उहाँहरूलाई आवश्यक सुरक्षा कवच पूर्ण रूपमा उपलब्ध हुनुपर्छ । सबै सरकार यसका लागि क्रियाशील छन् तर अहिले ठूलो समस्या यसको सही प्रयोग हो ।

सामाजिक सञ्जालमा आएका तस्बिरहरू हेर्दा जनप्रतिनिधि र स्वास्थ्यकर्मीबाहेक अन्य क्षेत्रका कर्मचारीले प्रयोग गरिरहेको देखिन्छ । यो दुरुपयोग मात्र होइन, गम्भीर अन्याय हो । स्वास्थ्यकर्मीहरू जो यो लडाइँको अग्रभागमा छन्; उनीहरूले प्राप्त गर्नुपर्ने सुरक्षा सामग्री अरूले प्रयोग गर्नु भनेको शत्रुको विरुद्धमा लडाइँमा प्रयोग हुने गोली चरा मार्न प्रयोग गरेजस्तै हो । अमेरिकामा स्वास्थ्यकर्मीले लगाउने मास्कको अभाव भएकाले सार्वजनिक रूपमा सर्वसाधारणसँग भएको मास्क अस्पताल र स्वास्थ्यकर्मीलाई दिनुस् भनेर अनुरोध गरिएको छ । यतिसम्म कि चिकित्सकलाई एउटा मास्क दिएर दुई हप्तासम्म प्रयोग गर्न भनिएको छ । त्यस्तो मास्क अरूबेला चार घण्टाभन्दा बढी प्रयोग गर्न मिल्दैन भनिन्छ । अमेरिकामा आएको जस्तो सङ्कट हामीकहाँ पनि नआउला भनी ढुक्क हुन सकिन्न ।

सरकारले कोरोनाका बिरामीहरू राखिने अस्पतालहरूलाई विशेष ध्यान दिएर औषधि, उपकरण र स्वास्थ्यकर्मीको सुरक्षा सामग्रीको बन्दोबस्ती गरेको छ । स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रको सक्रियतामा पनि धेरै ठाउँमा औषधिजन्य सामग्रीको सङ्कलन तथा वितरण भएको छ तर यो एकपटक वितरण गरेर मात्र हुँदैन । आवश्यकता अनुसार पटक–पटक वितरण गरिराख्नुपर्ने भएकोले त्यसको जोहो गर्न सरकार लागिपरेको छ ।

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी, चालक, सुरक्षाकर्मीलगायत संलग्न व्यक्तिहरूलाई कार्यको प्रकृति हेरेर सरकारले ५० प्रतिशतदेखि शतप्रतिशत भत्ता, २५ लाखसम्मको बीमाको व्यवस्थासमेत गरेको छ । यो महामारी को सरकारी, को निजी, सबै बराबर हो भन्ने ध्येयले स्वास्थ्यकर्मीले पाउने सुविधा सबैका लागि हो । अहिले हामी रोगविरुद्ध लड्ने हो । कोभिड १९ भाइरसले को पक्ष को विपक्ष, को धनी वा को गरिब केही छुट्याउँदैन । सबै मानवलाई यसले सङ्क्रमण गर्छ । त्यसैले हामी सबैको सामूहिक प्रयासबाट यो महामारी रोकौँ । (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सल्लाहकार हुनुहुन्छ ।)

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १०:०९
प्रतिक्रिया दिनुहोस्