६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बहराइनमा एकैदिन १० नेपालीमा कोरोनाकाे सङ्क्रमण


२७ चैत, काठमाडौं । बहराइनमा रहेका १० जना नेपालीमा कोरोना भाइरस संक्रमण भएकाे छ । यसअघि १२ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे बहराइनमा बुधबार एकैदिन १० जनामा संक्रमण पुष्टि भएकाे छ । याेसँगै बहराइनमा संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो । सोही क्रममा थप १० जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ ।

बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०९:०१