७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोना परीक्षणको दायर बढाउँदै सरकार, उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु


२६ चैत, काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायर फराकिलो पारेकाे छ । उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार धनगढी, पोखरा र नेपालगञ्जमा ठूला मेसिन जडानको काम सुरु भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यी ठूला मेसिनबाट ठूलो संख्यामा संकलन भएका नमुनाको परीक्षण एकसाथ हुनेछ। ‘प्रोटेबल पीसीआर मेसिनबाहेक ठूलो पीसीआर मेसिनले ठूलो संख्यामा कोरोना परीक्षण गर्न सजिलो हुनेछ’, प्रवक्ता देवकोटाले बताए ।

नेपालमा अहिलेसम्म २३ सय ६६ जनामा कोरोना परीक्षण भएको छ। जसमध्ये ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठजना टेकु, धनगढी र बागलुङमा उपचारत छन्।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशाला, टेकुमा मात्र १९ सय ६२ जनामा कोरोना टेष्ट भएको छ भने बाहिर ४ सय १ जनाको परीक्षण भएको छ। बुधबार मात्र १८० जनामा कोरोना परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

कैलाली र कञ्चनपुरमा र्यापिड किटबाट १९८ नमुना संकलन भइसकेको छ। अछाम र जुम्ला र सुर्खेतबाट आठ सय २ नमुना केन्द्रीय प्रयोगशालामा ल्याइएको छ। सरकारले दिपायलमासमेत बुधबारबाट नमुना संकलन कार्य सुरु गरेको छ।

अहिलेसम्म कोरोना आशंकामा उपत्यकामा १४ र बाहिर १२२ गरी एक सय ३४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। विभिन्न देशबाट फर्किएका आठ हजार पाँच सय ८० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले बताए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १७:२९