१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खोटाङका काँग्रेस जिल्ला सभापतिले पत्रकार चौलागाईलाई दिए ज्यान मार्ने धम्की


– केदार मगर

२६ चैत, खोटाङ । समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाईलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईलाई सभापति श्रेष्ठले धम्क्याएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नुपर्ने यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाह नगरी समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्नुको सट्टा असुरक्षा महसुस हुने गरी धम्क्याउनु सिङ्गो पत्रकारिता जगत्का लागि दुखद् विषय भएको शाखाको ठहर छ ।

शाखाका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागाईंको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।”

सभापति श्रेष्ठले पत्रकार चौलागाईंलाई समाचारको विषयलाई लिएर “ पैसामा बिकेर समाचार किन लेखेको ? होस् गर्नु ज्यान पनि जान सक्छ ।” भनी धम्क्याएको राईको विज्ञप्तिमा उल्लेख छ । सभापति श्रेष्ठले फोनमार्फत धम्क्याएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको पत्रकार चौलागाईले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका व्यक्तिलाई राख्ने क्रममा सभापति श्रेष्ठले अवरोध गर्नुभएको थियो । श्रेष्ठको असहयोग र अभिव्यक्तिप्रति काँग्रेसकै भातृ सङ्गठनले समेत विरोध जनाएका छन् । बिरामीलाई क्वारेन्टाइनमा राख्न नदिन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई दबाब दिएको भन्दै काँग्रेसकै १० भातृ सङ्गठनले सोमबार विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

पत्रकार चौलागाईकाँग्रेसनिकट नेपाल प्रेस युनियन खोटाङका अध्यक्षसमेत हुनुहुन्छ । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागाई प्रभाव न्यूज डटकमका प्रबन्ध/सम्पादक हुनुहुन्छ । सभापति श्रेष्ठले भने सो विषय पार्टीभित्रको आन्तरिक सवाल भएको र आफूलाई बदनाम गरिएको जनाउनुभयो । सभापति श्रेष्ठले यसअघि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन नबनाउन दबाब दिनुभएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०८:३४