१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कक्षा ११ र १२ को परीक्षा स्थगित (सूचनासहित)


२५ चैत, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ” उनले भने “अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।”

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सारिएको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो १५ गतेदेखि २६ गतेसम्म तथा कक्षा ११ को आउँदो २९ देखि जेठ ८ गतेसम्म गर्ने निर्णय गरेकोमा लकडाउनको अवस्था हेरेर हेरफेर हुनेछ । यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुलिकन परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गनुभएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १३:०३