१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

चीनमा राष्ट्रिय शोक, प्रम ओलीद्वारा ऐक्यवद्धता, सञ्चारमाध्यम श्यामश्वेत


२२ चैत, काठमाडौँ । चिनियाँहरुले आफ्ना दिवंगत पुर्खाहरुको सम्झनामा हरेक वर्ष मनाउने चाडलाई यस वर्ष शानिबार राष्ट्रिय शोक दिवसको रुपमा मनाएका छन् । चीनभरि उनीहरुले आ–आफ्ना पितृकार्य गर्नुका साथै कोभिड १९बाट दिवंगत चिनियाँ जनतालाई श्रद्धाञ्जली ब्यक्त गरेका छन् । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दा गर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

हरेक वर्ष राष्ट्रिय चाडको रुपमा मनाइने छिङ्गमिङ्ग पर्वमा चीनमा पुर्खाहरुको समाधिस्थलको सरसफाइ गर्ने तथा पितृहरुलाई प्रसाद चढाउने चलन छ । यो चाडमा चीनमा तीन दिन सार्वजनिक विदासमेत दिने गरिन्छ । कोभिड १९ को महामारीपछि चीनमा पहिलो पटक शोक दिवस मनाइएको हो । शोक ब्यक्त गर्न चीनका मुख्य संचार माध्यमहरु चिनियाँ अन्तरराष्ट्रिय रेडियो, सिन्ह्वा समाचार समिति, चाइना डेली, ग्लोबल टाइम्सलगायतका वेभपेज श्यामश्वेत बनाइएको छ ।

शनिबार चीन तथा विदेशस्थित उसका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । मुलुकभरि मनोरञ्जनात्मक कार्यक्रम बन्द गरिएको छ । आजै बेइजिंग समयअनुसार १० बजे मुलुकभरि तीन मिनेट मौन धारण गरिनुका साथै गाडी, रेल, जहाजलगायतका यातायातका साधानको हर्न तीन मिनेटसम्म बजाइएको थियो । कोभिड १९को उपचारमा अग्रपङ्तिमा रहेर काम गरि सहादत प्राप्त गर्ने १४ जनालाई राष्ट्रिय शहीद घोषणा गरिएको छ । शुक्रबार मध्यरातसम्म हंगकंगका चार र थाइवानका पाँच गरि चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार २१:४०