१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

लकडाउन : जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्यास


– रमेश लम्साल

२२ चैत, काठमाडाैँ । तपाईँको नाम ? सुमन थापा । कुन कम्पनीको ग्यास हो ? राजधानी । एकै छिन बस्नुस् है । अर्का कर्मचारीले थापालाई हातमा स्यानिटाइजर थाप्न भने । स्यानिटाइजर दल्दै ग्यास लिन आउनुभएका थापा केही मिटरको दूरीमा परै बसे । खुद्रा पैसा मिलाएर दिनुस् है । मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने । थापाले रु ६८७ ती कर्मचारीलाई दिनुभयो । भित्रबाट ग्यास आयो, ताहाचलबाट आउनुभएका थापाले ७.१ किलो अर्थात् आधा भरिएको ग्यास लिएर आफ्नो गन्तव्यमा लाग्नुभयो ।

थापा जस्तै एक दर्जनभन्दा बढी उपभोक्ता लाइनमा हुनुहुन्थ्यो । उहाँहरुले पालैपालो ग्यासको सिलिन्डर भित्र दिए । पालैपालो स्यानिटाइजर लगाएर प्रतीक्षामा बसे । क्रमैसँग भित्रबाट ग्यास आयो । साविकको नेशनल टे«डिङ लिमिटेडको टेकुस्थित कार्यालयमा नेपाल आयल निगमको समन्वयमा विभिन्न १८ कम्पनीको ग्यास बिक्री गरिएको छ । आवश्यक पर्ने उपभोक्ताले त्यहाँ पुगेर सहजै रुपमा ग्यास लिन पाएका छन् । कुनै अवरोध छैन, कुनै अभाव छैन ।

लकडाउनपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगमले अधिकांश ग्यास कम्पनीका ग्यास एकै स्थानमा भेला गरेर उपभोक्तालाई सहज रुपमा बिक्री गरिरहेको छ । हरेक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म जुुनसुकै कम्पनीका ग्याससमेत बिक्री गरिएको छ । ग्यास उद्योगी, विक्रेता तथा डिलरका प्रतिनिधिसमेत उपस्थित छन् । त्यो दृश्य हेरिरहेका पत्रकार र उपभोक्ताका माझ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट अनुगमनका लागि पुग्नुभयो ।

लकडाउनको समयमा मन्त्री नै अनुगमनमा पुगेपछि ग्यास बिक्री गरिरहेका कर्मचारीसमेत एकछिन छक्क परे । उनीहरु सामाजिक दूरी कायम गरेरै काम गरिरहेका थिए । सरकारको निर्देशनअनुसार नै उपभोक्तालाई सहज रुपमा सेवा दिन पाउँदा उनीहरुको मुहारमा पनि खुशीका रेखा देख्न सकिन्थ्यो । विपद्को समयमा कोही पनि नेपाली नागरिक भोको नपरुन् र खाना पकाउने ग्यास नपाएर अभाव झेल्नु नपरोस् भन्नेतर्फ ध्यान दिइएको उनीहरुको भनाइ थियो ।

बिहान ७ बजेदेखि नै ग्यास बिक्रीको व्यवस्थापन

सरकारले निगममार्फत बिक्री गरिने ग्यासका लागि बिहान ७ बजेदेखि नै कर्मचारी साविकको नेशनल टे«डिङको कार्यालयमा पुग्छन् । नेपाल आयल निगमका सहायक प्रबन्धक विकास बखतीका अनुसार निगमका कर्मचारीले दैनिक १२ घण्टा खटेर सेवा दिइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारको योजनाअनुसार नै काम भएको उहाँले जानकारी दिनुभयो ।

कर्मचारीलाई खाना, खाजाको समेत सोही स्थानमा प्रबन्ध गरिएको छ । निगमको संयोजनमा विभिन्न १८ कम्पनीको ग्यास बिक्री गरिएको छ । यस्तै घुम्ती पसल चलाएर पनि सेवा दिइएको छ । निगमले त्यसका लागि आफ्नै र अन्य ग्यास कम्पनीको सवारी साधन प्रयोग गरेको छ ।

अशक्तलाई पहिलो प्राथमिकता, ११४६ मा निःशुल्क फोन

निगमले विशेष गरी सुत्केरी क्वारेन्टाइनमा बसेका, अति अशक्त, फरक क्षमता भएका, हस्पिटलमा उपचार गरिरहेका, वृद्धवृद्धा, जान सक्ने अवस्था नभएका नागरिकलाई घरमै ग्यास पु¥यादिएको छ । दैनिक १ हजार ५०० सिलिन्डरको माग भए पनि अशक्तका हकमा विशेष व्यवस्था गरिएको छ । उनीहरुको घर वा बस्तीसम्म नै ग्यास लगेर सेवा दिइएको बखतीको भनाइ छ ।

अन्यका हकमा नजिकको बिक्री केन्द्र वा बिक्रेता कहाँ सम्पर्क गर्न भनिएको छ र सोहीअनुसार पुग्दो मात्रामा ग्यास उपलब्ध भएको छ । केहीले भने आफूहरुलाई लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ गर्ने भएकाले घरमै ल्याइदिनसमेत भनेको उहाँको भनाइ छ । निगमले यही चैत १८ गतेदेखि त्यस्तो सेवा दिएकामा पहिलो दिन १५०, दोस्रो दिन १९ गते १७३, २० गते २६३ ग्यास अशक्तलाई उपलब्ध गराएको छ । यस्तै २१ गते मात्रै विभिन्न पाँच वटा टोलीले २७२ वटा सिलिन्डर उपलब्ध गराएको छ ।

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन वटा हटलाइनका रुपमा मोबाइल नम्बरसमेत सञ्चालनमा छन् । निगमको आधिकारिक टे«ड युनियनका अध्यक्ष गोपालचन्द्र राईका अनुसार विपद्को समयमा सामान्य नागरिकभन्दा बढी समस्यामा पर्ने, वर्ग तथा समुदायलाई विशेष ध्यान दिएर सेवामूलक तवरले काम गरिएको छ ।

केही उपभोक्ताले भने लकडाउनको कारण देखाउँदै घरसम्म ल्याइदिनसमेत भनेको उहाँको भनाइ छ । निगमको प्रतिनिधिले कतिपय ठाउँमा कार्डको फोटो तथा भिडियोसमेत खिचेर ल्याएको समेत उहाँले जानकारी दिनुभयो ।

दैनिक एक लाख ३० हजार सिलिन्डर

निगमले बजारमा दैनिक जसो नै एक लाख ३० हजार सिलिन्डर ग्यास पठाएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै भारतबाट २५ वटा बुलेट काठमाडौँ आएका छन् । निगमका अनुसार देशभर कुल एक करोड २० लाख सिलिन्डर छन् । काठमाडौँ उपत्यकालाई सामान्य अवस्थामा दैनिक ४० हजार सिलिन्डर जरुरी पर्ने छ । “ग्यास कम भएर आधा सिलिन्डर ग्यास दिइएको नभई, उपभोक्ताको घरमा रहेको सिलिन्डर बाहिर निकाल्न यस्तो विधि अपनाइएको हो”, पौडेलले भन्नुभयो ।

आयात उल्लेख्य बढे पनि सिलिन्डर खाली नहुँदा बोटलिङमा समस्या पर्ने देखिएको उहाँको भनाइ छ । ग्यास बिक्रीका सरकारको सञ्जाल नभएको अवस्थामा पनि विशेष तवरले बिक्री गर्दा आउने अनुभवलाई संस्थागत गर्न लागिएको उहाँको भनाइ छ । निगम आफैँले सिलिन्डर ल्याउनुपर्दा के कसरी बिक्री वितरण गर्नुपर्छ भन्ने ज्ञान लिनका लागिसमेत सबै कम्पनीको ग्यास एकै स्थानमा राखेर बिक्री गरिएको उहाँको भनाइ छ ।

ग्यासमा कुनै समस्या छैन : मन्त्री भट्ट

अनुगमनमा पुग्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारको व्यवस्थापन तथा उद्योगी व्यवसायीको इमान्दार प्रयत्नका कारण ग्यास बिक्री वितरण सहज बनेको जानकारी दिनुभयो । मन्त्रालयका सबै टिम, निगमका कर्मचारी एवं उद्योगी तथा व्यवसायीको साझा प्रयत्नका कारण आफूहरु विषम अवस्थामा समेत सहज आपूर्ति गराउन सकेको उहाँको भनाइ छ । उहाँले ग्यास अत्यधिक मात्रामा आयात भएकाले हाल राख्ने ठाउँसमेत अभाव हुने अवस्था आएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणको डर बढेपछि उपभोक्ताले सञ्चिति गरेका कारण सिलिन्डर घरमै बस्ने अवस्था आएकाले तत्कालका लागि आधा ग्यास दिएर भए पनि सिलिन्डर बाहिर निकाल्न लागेको उहाँको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले मन्त्रालयको प्रभावकारी निर्देशन र नेतृत्वका कारण हरेक डिपोमा ग्यास सहज रुपमा उपलब्ध भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले हरेक दिनजसो देशैभरको विवरण लिएको छु । कुनै पनि स्थानमा ग्यास पाइएन भन्ने अवस्था छैन । हामीले सहज रुपमा ग्यास दिएका छौँ ।”

भारतबाट पनि नियमित रुपमा ग्यास आयात भइरहेको जानकारी दिँदै उहाँले प्रहरी प्रशासनबाट पनि आफूहरुलाई सहज सहयोग भएको उल्लेख गर्नुभयो । “चार पाँच दिनअघिको जस्तो चाप र भीड छैन । डिलरमा ग्यास छ, अब आधा सिलिन्डर दिने प्रणाली हटाउनुपर्छ । धन्यवादको पात्र नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो । हामीले सुरक्षाका सबै उपाय अपनाएर डिलर खोलेर ग्यास बिक्री गरेका छौँ ।”

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १६:०६