६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

विज्ञको सुझाव अनुसार नै कोरोना रोकथाम र नियन्त्रणको काम भैरहेको छः मन्त्री ढकाल


२२ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझाव अनुसार नै सरकारले कोरोना रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनुभएको छ । जनस्वास्थ्यका विज्ञहरूसँग मन्त्रलयमा भएको छलफलमा मन्त्री ढकालले सरकार उच्च सतर्कता अपनाउँदै कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर भएर काम गरिरहेको बताउनुभो ।

उहाँले कोरोना रोकथाम र नियन्त्रणको सरकारी प्रयासमा नागरिकको महत्वपूर्ण साथ रहेको भन्दै स्वास्थ्यकर्मी र चिकित्सकले दिएको साथको मुक्तकण्ठले प्रशंशा गर्नुभयो । बिहीबार मात्र विश्वका ११ राष्ट्रका स्वास्थ्यमन्त्रीसँगको बैठको सन्दर्भ उल्लेख गर्दै मन्त्री ढकालले कोरोनाविरूद्ध लड्न नेपालको तयारी राम्रो रहेको निष्कर्ष निकाल्न सकिने बताउनुभयो । उहाँले अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोरोना नदेखिएको भन्दै यो ती व्यक्तिबाट अरूमा कोरोना सर्न नदिनका लागि काम भैरहेको बताउनुभयो ।

उहाँले नेपाल र भारतको सीमामा रहेका नागरिकहरूको लागि दुबै देशले क्वारेन्टाइनमा राख्ने व्यस्था मिलाउने विषयमा पनि काम भैरहेको जानकारी दिनुयभो । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले अर्बौँ खर्च गरेर पनि हजारौँ मर्ने कि भोकै बसेर बाच्ने भन्ने सन्दर्भमा नगारिकलाइ सचेत गराउनुपर्ने बताउनुभयो । उहाँले कोरोनाको नमुना परीक्षण कम्तिमा दैनिक एक हजार जनाको गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनको समय लम्ब्याउनुपर्ने बताउनुभयो ।

डा अर्जुन कार्कीले जनस्वास्थ्यका दृष्टिकोणले सरकारले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंशा गर्नुभयो । उहाँले कोरोना संसारकै लागि नौलो भएकाले वैज्ञानिकहरू समेत अन्यौलमा रहेको बताउनुभयो । उहाँले केही मान्यता स्थापित भएको र त्यसैलाइ हामीले पनि फलो गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमित मध्ये ८० प्रतिशतमा सामान्यमात्र लक्षण देखिएको भन्दै गम्भीर बनेर सामाना गर्पनेर्ने बताउनुभयो । उहाँले लकडाउनको समय लम्ब्याउनुपर्ने बताउनुभयो । छलफमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, मन्त्रालयका सचिव यादव कोइराला, प्रा डा शरद वन्त, डा दिपेन्द्र रमण सिंह, डा प्रदीप वैद्य, डा केदारप्रसाद बराल लगायत विज्ञहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १५:०८