१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

लकडाउन पूर्णरुपमा खुलेको दुई सातापछि मात्र एसईई सञ्चालन हुने


२२ चैत, काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको गोरखापत्रमा शेषकान्त पण्डितले समाचार लेखेका छन । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताउनुभयो । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उहाँको भनाइ छ ।एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उहाँको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँले बताउनुभयो ।

१२ र ११ को परीक्षा रोकिन सक्ने
यसैबीच, सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित हुने भएको छ । यस विषयमा सरकारले लिने पछिल्लो निर्णयपछि मात्रै निचोडमा पुगिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले लक डाउन लम्ब्याइएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षा रोकिने बताउनुभयो । बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार ०७:३७