१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कास्कीका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान


२१ चैत, चिप्लेढुङ्गा । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा खटिएर समाचार संकलन गर्ने करीब ६० पत्रकारलाई आवश्यक स्यानिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कोरोना महामारीका बारेमा सही र सूचना दिएर नागरिकलाई सुसूचित गराउने पत्रकार पनि यतिबेला जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाएर समाचार संकलन गर्नुपर्ने बताउनुभयो ।  डा शर्माका अनुसार गण्डकी प्रदेशका विभिन्न १४ स्थानमा १३३ सघन उपचार कक्ष र ५४ भेन्टिलेटर छन् । प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन बनाइएको छ । दुई सय ५८ जना हाल क्वारेन्टाइमा छन् भने एक हजार ८५ होम क्वारेन्टाइनमा छन् ।

त्यस्तै १७७ आइसोलेशन बेड रहेकामा पाँच जनालाई आइलोशनमा राखेर उपचार गरिएको छ । कोरोना सम्बन्धी पोखराका चार अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १७:२६