८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उद्योगी, व्यवसायीको मनोबललाई आघात पुर्याउने गतिविधि नगर्न ध्यानाकर्षण


२१ चैत , जनकपुरधाम । अति जोखिममा रहेर सेवा दिइरहेका उद्योगी, व्यवसायीको मनोबललाई सुरक्षा निकायद्वारा आघात पुर्याउने गतिविधि गर्न नहुनेतर्फ ध्यानाकर्षण गराइएको छ । अत्यावश्यक वस्तु बिक्री वितरण गरिरहेका उद्योगी, व्यवसायीमाथि लौरो प्रहार गरी पक्राउ गर्ने गतिविधिमा वृद्धि भइरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको हो ।

सर्जिकल वस्तु, औषधि, खाद्यान्न, दूध, तरकारी, ग्यास, फलफूल बिक्री वितरण गर्दा सुरक्षा निकायबाट व्यवसायीको जीउ रक्षा नगरी मनोबल कमजोर पार्ने क्रम बढ्दै जानु चिन्ताको विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सङ्घका अध्यक्ष ललितकुमार साह र महासचिव जितेन्दकुमार महासेठद्वारा गराइएको ध्यानाकर्षणमा विगतमा विपद्का बेला प्रशासनद्वारा सङ्घसँग समन्वय गरी समस्या समाधानको प्रयास भएको स्मरण गराइएको छ । लाखौँ मोलको सामान दिनहुँ खराब भइरहेको अवस्थामा उद्योगी, व्यवसायीको मनोबल उच्च राखी उत्पन्न समस्याको समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार १०:३६