१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वाग्मती प्रदेश सरकारद्धारा कोरोना नियन्त्रण तथा उपचार कोषलाई ५० करोडको बनाउने निर्णय


१७ चैत, हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा रु ५० करोड जम्मा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको रु १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पुर्याउन लागिएको हो ।

 

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो । बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिका बारेमा जानकारी आदानप्रदान गराउन संयन्त्र बनाउने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार २०:३५