१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एक हजार पर्यटक तथा पथप्रदर्शकको उद्धार


१७चैत, काठमाडौं । एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार लकडाउनपछि १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो ।

उहाँका अनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको थियो । तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको थियो ।

फाइल फाेटाे

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ । टानका अध्यक्ष खुम सुवेदीका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो । उहाँले काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन् ।

बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको हो । लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार १२:१६