१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सल्यानमा एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना


१७ चैत, सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो ।

भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो ।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिनुभयो । “उहाँलाई भारतबाट आउनुँभन्दा एक महिना अगाडिदेखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य चार जनामा ज्वरो देखिएको छैन, सबैजनाको अवस्था सामान्य रहेको छ”, डा बुढाले भन्नुभयो । भर्ना भएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा बुढाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार ०९:५६