७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काेराेना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको यस्ता छन् ६ निर्णय


१६ चैत, काठमाडाैं । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।

यसैगरी, नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका तर सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय गरेको हो ।  उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाइनेछ ।

बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको छ । चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय भएको छ। प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको सचिव नारायण बिडारीले जानकारी दिए।

बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने निर्णय भएको बिडारीको भनाइ छ। यो पठाउने क्रममा एक हजार थान औषधि, उपकरण पठाउने निर्णयसमेत भएको उनले जानकारी दिए।

समिति बैठकमा सहभागी मन्त्रीले लकडाउन एकसातासम्म थप्नुपर्ने प्रस्ताव गरेका छन्। यस्तै बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई निवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ।

बैठकले विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट्र बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १८:३४