४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

सरकारविरूद्धको नीचता, दुष्टता र डीप फेकका विरूद्ध एकजुट भएर लडाैँः सल्लाहकार थापा


१६ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारविरूद्धको नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भएर लड्नुपर्ने बताएका छन । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो टिप्पणी सार्वजनिक गर्दै सरकारका मन्त्रीहरूको विरूद्धमा एक पछि अर्को गर्दै भैरहेको आक्रमण नियोजित र निचताको पराकाष्टा भएको बताएका छन ।

सरकारका विरूद्धमा एकपछि अर्को गरी योजनावद्ध ढंगले आक्रमण सुरू भएपछि सल्लाहकार थापाले भनेका छन ‘खासमा यो व्यक्तिविशेषभन्दा नेकपामाथिको ‘गजेटेड’ दलाल र भ्रष्टहरूको हमला हो । त्यसैले कसैले पनि पानीमाथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चो मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा मौन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ । सत्यसँग त कसैको कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन ।’

थापाले सामाजिक सञ्जालमा लेखेको विषय यस्तो छ 

“पहिले उनीहरू
कम्युनिष्टलाई खाेज्दै आए
म चुप रहें
किनभने म कम्युनिस्ट थिइनँ
त्यसपछि उनीहरू यहुदीलाई खाेज्दै आए
म चुप रहें
किनभने म यहुदी थिइनँ
त्यसपछि उनीहरूक्याथाेलिकलाई खाेज्दैआए
म चुप रहें
किनभने म प्राेटेस्टेन्ट थिएँ
त्यसपछि उनीहरू मलाई नै खाेज्दै आए
मेराे लागि बाेलिदिने काेही थएन ।”
-मार्टिन निमाेलर
नेकपाका हरेक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आज पटकपटक पढ्नुपर्ने याे कविता अंश निकै मार्मिक छ ।
सरकारका हरेक मन्त्रीहरूले त झनै मनन गर्नु अपरिहार्य छ ।किनभने,
हिजाे देशलाई बिकृति र बेथितिकाे दलदलमा पु-याउनेहरूकाे दुष्ट र अपराधिक हमला छानीछानी चलिरहेकाे छ ।
तिनले भ्रष्टाचारकाे कथा आफै लेख्छन्, आराेप आफैले लगाउछन्, भ्रष्टाचारी अाफैले करार गर्छन् र रिस उठ्नासाथ त्यसताे पगरी लगाइदिन्छन् ।
आफ्नाे रजगज गुमेकाेमा असैह्य छटपटी छ, किनभने लामाे समयदेखिकाे हालीमुहाली अहिले चलेकाे छैन । मुठ्ठीभरकाे स्वर्गमा तनाव छ । र, याे दुश्चक्र जारी छ ।
अनि शिकार खेल्ने उपक्रम चलिरहेकाे छ – याेग्य, कामकाजी र निष्ठाकासाथ जिम्मेवारी बहन गरिरहेका अाशालाग्दा व्यक्तिहरूविरूद्द !
रवीन्द्र अधिकारीलाई केही निर्णय नै नगरेकाे तथाकथित वाइडबडीकाे प्रपंचमा बदनाम गर्न लखेटियाे, उहाँलाईदजीवनपर्यन्त एकथरि दुष्टहरू लखेट्न लागिपरे ।
गाेकुल बाँस्काेटा अर्काथरि दुष्टहरूले सत्यजस्तै लाग्ने झूठ(डीप फेक)काे प्रपंच रचे र निशाना बनाइनुभयाे ।
गुठी विधेयकमा पद्मा अर्याल र शेयर बजारकाे कृत्रिम संकटकाे लखेटाइमा परेर पनि डा. युवराज खतिवडा बल्लबल्ल जाेगिनुभएकाे छ । तर, निशाना निरन्तर साेझिरहेकै छ !
याेगेश भट्टराईलाई लखेट्न नपुगेर आफ्नै याेग्यता र पाैरखमा नर्सिङ काउन्सिलकाे रजिस्टार हुनुभएकी श्रीमती विन्दा घिमिरेविरूद्द जालसाजी गर्ने अपराधिक प्रयाश भयाे, तर त्यस नियाेजित कृत्यकाे कुनै पार चलेन ।
अहिले काेराेना महामारीविरूद्द अहाेरात्र खटिरहनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियतवश लखेटाइमा पारिनुभएकाे छ; हिजाे
अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत माैज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयकाे खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेकाहरूकाे शहरमा काेलाहल छ ।
तिनीहरू
एक दिन चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीकाे उपचार गर्छन् भनेर उचाल्छन् । जाे हाे कि जस्ताे सुनिन्छ !
अर्काे दिन मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्ने भन्न मिल्छ ? सरकारले सारा व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन् !
तेस्राे दिन अस्पतालमा प्रधानमन्त्रीकाे स्वास्थ्य बुझेर फर्किदा तेर्साइएकाे क्यामेरासँग नबाेलेर पाहुना आएका हुनाले हतारमा छु भनेकाे एउटा अंश टिपेर हुर्मत लिन्छन् ! जबकि जहाँ पायाे त्यहाँ बाेल्नैपर्ने कुनै करकाप र बाध्यता हुँदैन ।
नाे बाइट भन्न मज्जाले पाइन्छ ।
चाैथाे दिन स्वास्थ्य सामग्री नल्याउने ? भनी तिनैले आगाे बाल्छन् ।
पाँचाै दिन जहाज समग्री लिन प्रस्थान गरेपछि सत्यजस्तै गरी झूठ पस्कन्छन् – २० कराेड भ्रष्ट्राचार भनेर ! कठै तिम्राे मनाेदशा ? कति दयनीय हर्कत ?
सबै तिमीहरूजस्तै त हाेइनन् र पक्कै त्यस्ता छैनन् नै ।
काँक्राे चाेरेर आफूले खाने, अनि बियाँ अरूकाे गालामा टाँसिदिएर दाेष लगाइदिने र बदनाम गर्ने ?
“फाटेकाे जालाेले छेकेकाे, छेके पनि छर्लङ्ग देखेकाे”जस्तै छ याे दुष्टता र पाखण्डीपन ।
यति ठूलाे राष्ट्रिय संकटमा पनि रचनात्मकसम्म नभएर यत्राे जालझेल ?
यस्ताे नीचता, दुष्टता र डीप फेकका विरूद्द एकजुट भई नलडे याे षडयन्त्र र घेरा हालेर अप्ठेराेमा पारी मार हान्ने रवैया निरन्तर जारी रहनेछ ।
अहिले आफूबाहेक अरू, सरकार संचालनमा रहेका व्यक्तिहरू र मन्त्रीहरूलाई त हाे भनेर खुच्चिङ कसैले नगरे हुन्छ।
यता कसले कस्ता टिप्पणी र स्टाटसहरू पाेष्ट गरिरहेकाे छ ? जनताले निगरानी सबैकाे गरेका छन् ।
खासमा याे व्यक्तिविशेषभन्दा नेकपामाथिकाे “गजेटेड” दलाल र भ्रष्टहरूकाे हमला हाे । त्यसैले कसैले पनि पानीमाथिकाे आेभानाे बन्न, आफ्नाे कुण्ठा र असन्ताेषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा हाइसञ्चाे मानेर रमिते बस्न र शत्रुवत् व्यवहार गर्नसमेत पछि नपर्ने वा माैन बस्ने तरिका अपनउने तरिका बदल्नै पर्छ ।
सत्यसँग त कसैकाे कुनै लडाई अावश्यक छैन,
झूठ र बकवासहरूकाे सामना नगरी सत्य स्थापित हुँदैन ।
यस्ताे सद्बुद्दि हरेकमा बेलैमा आउन जरूरी छ ।
अन्यथा पछुताउनुबाहेक केही बाँकी नरहेपछि हाेस पाउने दिन आउने निश्चित हुनेछ । त्यतिबेला बाेलिदिने काेही रहनेछैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १५:३३