१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

धरानकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना भाइरसको नमूना परीक्षण शुरु


१५ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण आजदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि आजदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो ।

उहाँका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ । उहाँले आजदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ ।

उहाँले शुक्रबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड–१९ सङ्क्रमित १९ वर्षीया युवती घर फिर्ता नभएको पनि बताउनुभयो । ‘‘हिजो(शुक्रबार) सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो उनको डिस्चार्ज भएको छैन’’, उहाँले भन्नुभयो, ‘‘उनको टेकु अस्पतालमा नियमित उपचार भइरहेको छ ।’’मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार आज थप एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै आएकी वाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको छ । ती युवतीसँंगै नेपाली पाँच जनामा सङ्क्रमण देखिएको छ । ती युवतीको वाग्लुङमा नै उपचार हुने उहाँले जानकारी दिनुभयो । दिनदिनै सङ्क्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उहाँले बताउनुभयो । उहाँले सङ्क्रमण धेरै फैलिन नदिनका लागि सर्वसाधारणलाई घरभित्र बस्न अनुरोधसमेत गर्नुभयो ।

यसैगरी अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण देखिएको छ । उहाँले शुक्रबार धनगढीस्थित प्रादेशिक अस्पतालमा सङ्क्रमण देखिएका एक युवकको अवस्था अहिले सामान्य रहेकाले तिनलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र तालीम दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले टेकु अस्पतालमा चार जना आइसोलेशन र छ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार १९:१५