१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद्काे निर्णय


१३ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारको २३औँ मन्त्रिपरिषद् बैठकले प्रदेशका तीन अस्पताललाई आइशोलेसन अस्पताल तोक्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको आजको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, कर्णाली प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई आइशोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका आइशोलेसनका रुपमा तोकिएका तीनै अस्पतालको समन्वय तथा परिचालनका लागि उक्त बैठकले तीन मन्त्रीको संयोजकत्वको समन्वय तथा परिचालन समिति गठन र रु दुई करोड ५० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र परिचालनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको र उक्त प्रतिष्ठानका लागि रु एक करोड बजेट उपलब्ध गर्ने निर्णय भएको उहाँले जनाउनुभयो ।

त्यसैगरी, रु एक करोड उपलब्ध गर्नेगरी कर्णाली प्रदेश अस्पताल सुर्खेतको समन्वय तथा परिचालनका लागि सामाजिक विकासमन्त्री दल रावल संयोजकत्वको सात सदस्यीय समिति र रु ५० लाख बजेट उपलब्ध गर्नेगरी चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमको समन्वय तथा परिचालनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी संयोजकत्वको सात सदस्यीय समिति गठन गर्ने निर्णय उक्त बैठकले गरेको जनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २०:४८