८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विश्वव्यापी रूपमा महामारी बनेको कोरोना भाइरस र हामी नागरिकको दायित्व


-तिलोत्तम पौडेल

मानिस परिस्थितिको दास हो । संसारको परिस्थिति सधै हाम्रो अनुकुल हुँदैन । वातावरणको उचित संरक्षण गर्न सकिएन भने भावि पुस्ताको लागि पर्यावरण मानव अनुकुल राख्न नसकिने वास्तविकता देखिएको छ । अत्यन्त जटिल परिस्थितिहरु हाम्रो सामु आएको छ । आज महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले संसार भरिका देशलाई अछुतो राखेको छैन ।

यो भाइरसलाई हामीले विश्वमानचित्रमा बनाएका कुनै पनि काला, गोरा र जुनसुकै रङ्गका मानिसका रगतले कोरोको सीमा रेखा पार गर्न राहदानी नचाहिने र प्रवेश आज्ञा नचाहिने भएका कारण आज विश्वलाई विरामी बनाएको छ । आज हाम्रो सामु पृथ्वी विरामी परेको छ त्यसैले हामी पनि विरामी परिरहेका छौँ । यस प्रकोपले हामीलाई स्वास्थ्य रहन र हाम्रो स्वास्थ्य तथा परिवारको हेरविचार र परिवारको महत्वलाई दर्शाएको छ । धनी, गरिब, उच्च निच र सबै मानव जातिको बीचमा समानता रहेको कुराको पाठ सिकाएको छ ।

एक व्यक्ति र अर्को व्यक्तिबीचको सम्बन्धलाई मानवीय सम्वेदनाका पर्खालबाट चिहाउन विवस बनाएको अवस्था छ । घमण्ड र अरुको बर्खिलाप गर्दा निकै पछताउनु पर्ने वास्तविकता देखाएको छ । विश्वमा समयसमयमा विभिन्न प्रकारका राजनैतिक, आर्थिक, सामाजिक, वातावरणीय उतारजढावहरु हुने गर्दछन् । तर यस पटक भने स्वास्थ्यसँग सम्बन्धित नोबेल कोरोना नामक भाइरसको कारणले विश्वलाई चिन्तित र संवेदनशील बनाएको छ ।

चिनको हुवान शहरबाट २०१९ डिसेम्बरबाट सुरु भएको यस भाइरस र त्यसबाट सिर्जित मानवीय जोखिमले सबैलाई स्तब्ध बनाएको छ । हामी विश्वका शक्ति सम्पन्न राष्ट्र हौँ भनेर दावी गर्ने देशहरु जसको आर्थिक, सामाजिक, राजनैतिक र स्वास्थ्यमा हाम्रो देश भन्दा निकै माथि रहेको भन्ने गरिन्छ । त्यस्ता देशहरु पनि यो कोरोना रोगको संक्रमणले झनै बढी ग्रसित हुन पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार यस रोगको सुरुवातदेखि आज यस लेख लेख्ने समयसम्ममा २२ हजार भन्दा बढि मानिसको ज्यान गएको छ भने ४८८०५५ मानिसहरु ग्रसित भएका र जसमध्ये ११७६०३ जना मानिसहरु पूर्ण रुपमा निको भएर फर्किएको अवस्था रहेको छ । शक्ति राष्ट्रहरुले समेत आवश्यक उपचार, इकोपमेन्टहरु पुर्याउन र व्यवस्थापन गर्न कठिन भईरहेको अवस्था छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा यसको सही व्यवस्थापन गर्न कठिन हुनु स्वाभाविक हो । खुला सिमाना, पर्यटकले माया गर्र्ने भारत र चिन बीचको देश पनि भएकोले हामी कहाँ घुम्न आउनेहरु वा कोरनाबाट बढि प्रभावित देशबाट नेपाल फर्कनेहरु कुनकुन समयमा कुनकुन अवस्थामा के कति आयो भनेर एकिन गर्न कठिन नै छ ।

२० वर्षसम्म स्थाई सरकार नभएको, भूकम्प, १० वर्षे सशस्त्र द्वन्द्वको चपेटाबाट भर्खरै मात्र बामेसर्दै गरेको र समृद्धीको बाटो कोर्ने समयमा कोरना भाइरसको महामारी नेपालमा पनि प्रवेश गरेको तथा उच्च जोखिमको अवस्थामा रहेको समाचार र त्यसबाट भविष्यमा हुन सक्ने प्रभावको सन्दर्भमा राज्यले उपप्रधानमन्त्रीको संयोजकत्वमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय र त्यससँग सँगै प्रदेश र स्थानीयतहमा समेत रोकथाम सचेतना व्यवस्थापन तयारी समिति बनाई कार्य अघि बढाउनुलाई सकारात्मक पहलको रुपमा लिनु पर्दछ ।

हामी पूर्व तयारीमा जहिले पनि चुकिरहेका छौँ । चाहे भूकम्पको समयमा होस् चाहे कोरना जस्ता महामारीको समयमा हामीसँग प्राप्त स्रोत, साधन, जनशक्ति र प्रतिबद्धताको कमी नै छ । अप्ठेरो परिस्थिति हुनासाथ हतार हतारमा तयारी गर्ने तर समयमा सचेत र सुचित हुने पूर्व तयारीको लागि आवश्यक विधि प्रक्रिया नीति, कार्यविधि बनाएर तयारी अवस्थामा रहने कुरामा हामी पछाडी नै छौँ । आफू जिम्मेवार निकायमा पुग्दा र हुँदा केही नगर्ने अनि हामी आफै पनि आफ्नो स्वास्थ्य र सरसफाई प्रति प्रतिबद्ध नहुने र समय खस्की सकेपछि सरकारलाई आलोचना गर्ने बानी नै परेको छ ।

स्वास्थ्यसँग सम्बन्धित हरेक समस्याको समाधानको लागि पहिलो दायित्व भनेको सरसफाई हो । हामी आफू, आफ्नो परिवार, आफ्नो समाज, समुदायलाई सरसफाई, खानपानमा नै विशेष ध्यान दिनु नै हो । मलाई सम्झना छ “१० वर्षको हुँदा साबुन पानीले हात धुनुपर्छ, शौचालयमा मात्र दिसापिसाब गर्नुपर्दछ, दात माझ्नुपर्छ भनेर जागृति बालक्लवबाट गाउँघरमा साथीहरुसँग मिलेर अभियान चलाउँदा यस्तो कुरा पनि सिकाउनुपर्छ र यो त आफै जान्नु पर्छ तिमीहरुले भन्नु पर्दैन” भन्नेहरु पनि भेटाएका थियौँ । आज पनि हामी फेरी साबुन पानीले हात धुनुस् भनेर घर–घरमा पुग्नु पर्ने बाध्यता भएको छ ।

२० वर्ष पछि स्थानीय तह, प्रदेश र संघीय सरकार छ । स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु पनि छन् तर प्रयाप्त छैन । बालक्लवमा भाइबहिनीहरु स्वास्थ्य सचेतनाका कार्यक्रमहरुको लागि खाजा खर्च र स्टेसनरी माग्न जाँदा त्यो गरेर के हुन्छ, बाटो, घाटो, पानी, विद्यालय भवन बनाए त अर्को पटक भोट पाइन्छ भन्ने जनप्रतिनिधी पनि नभएका होइनन् । हामीले कुन कुन विकास मान्ने त भन्ने कुराको पनि समीक्षा हुन जरुरी छ । एक वर्ष ढिलो बाटो पिच गरी एक वर्ष अगाडि स्वास्थ्य चौकी मर्मत निर्माण, उपकरणको व्यवस्थापन र गाउँ गाउँमा सचेतना जनाउने महिला स्वयम्सेवी सहितको मानव संसाधन व्यवस्थ ागर्न सकेऊकी सकेनौँ भन्ने तर्फ हामीले सोच्नै पर्दछ ।

नागरिक संघसंगठनले सरकारका निकायसँग समन्वय, सहकार्य र स्वीकृति लिएर सचेतना, पैरवीका कार्यक्रमहरू लिएर गाउँजाँदा यस्तो कार्यक्रम भन्दा त भौतिक निर्माणको कार्यक्रम छैन भनेर प्रति प्रश्नहरु पनि हुने नगरेका होइनन् । तथापी हामीले शिक्षा र स्वास्थ्यको सचेतनामा लगानी गर्ने हामी चुकेका छौँ । त्यसैका कारण विश्वमा बेला–बेलामा आउने कोरना जस्ता प्रकोपबाट जोगिन चुनौती थपिएको छ ।
हरेक व्यक्ति, राज्य, संघसंस्था, परिवारले सिक्दै जाने हो । समस्यासँग जुध्दै समाधानको लागि अघि बढ्ने हो । अहिले हामी यसै दायित्व पुरा गर्ने समयमा छौँ ।

त्यसका लागि हामीले नेपाल सरकार र विश्व स्वास्थ्य संगठन भनेका कुराहरुलाई अक्षररस कार्यान्वयन गर्न सहयोग गर्ने हो । राज्यले पनि यही अपेक्षा आम समुदायबाट राखेको छ । कोरना भाइरसका लक्षणहरु र सम्भावित जाखिमबाट पनि आफू र परिवारलाई जोगाउँदै यसबाट बच्ने उपायको वारेमा आ–आफ्नो ठाउँबाट योगदान पुर्याउने हो ।

सरकारले यो रोगबाट बच्न घरमानै बस्नुपर्छ, मानिसहरु जमघट गर्नु हुँदैन । व्यक्तिगत सरसफाई र विशेष गरी हात धुने कुरा र माक्सको प्रयोगलाई जोडदिएको छ । रुघाखोकी ज्वरो आउँदा विशेष ख्याल गर्ने, विदेशबाट आएकाहरु कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने, घरबाहिर ननिस्कने, गर्भवती महिला, बालबालिका, अपाङ्गता भएका, जेष्ठ नागरिकहरुलाई विषेश ध्यान दिने, अति आवश्यक स्वास्थ्य सम्बन्धी समस्या बाहेक अन्य कार्यको लागि राज्यले बाहिर ननिस्कने भनेर लकडाउन समेत गरेको छ ।

अतिआवश्यक खानेकुराहरु घरमा नै पठाउने समेत प्रयत्न राज्यले गरेको छ तिनै तहका सरकारले आ–आफ्नो स्थानबाट कोरोना विरुद्ध लड्ने प्रण गरी यथासम्भव प्रयास गरेको नै देखिन्छ । विगतमा व्यक्तिगत, राजनैतिक आर्थिक, सामाजिक रुपमा असहमती र विरोध गर्नेहरु पनि कोरोना विरुद्ध सबै एक ठाउँमा रहेको देखिन्छ ।

स्वास्थ्यकर्मीहरु प्रयाप्त स्रोत साधनहरुको अभावको बीचमा विरामीको उपचारमा क्रियाशील भएकै छन् । कहिकतै छिटपुट घटनाहरु बाहेक स्वास्थ्यकर्मीहरुको प्रतिबद्धता र कामलाई नागरिकले सम्मान गर्नुपर्दछ । नागरिक संघ–संगठन संस्थाहरुले पनि सामाजिक सञ्जाल आ–आफ्नो सञ्जालहरु मार्फत सचेतनाका कामहरु गरिराखेका छन् । सुरक्षाकर्मी, सञ्चारकर्मीहरु आफ्नो सुरक्षालाई समेत प्रवाह नगरी खटिएका दृश्यहरु हामीले देखिनै रहेका छौँ ।

यस्तो विषयमा परिस्थितिमा राज्यबाट भएका सकारात्मक कार्यको प्रचारप्रसार गर्दै सुधार गर्नुपर्ने कुराहरुलाई राज्यका सम्बन्धित निकायका व्यक्तिहरुलाई फोन, इमेल, टोलफ्रि नं., म्यासेज मार्फत पनि सुझावहरु दिने दायित्व हामी सबैको हो । सामाजिक सञ्जाल तथा आधिकारिक रुपमा राज्यले समेत मान्यता नदिएको केही अनलाईनहरु र युट्युवहरुले समाचार, भिडियो प्रकाशन प्रशारण गरेकै सामाग्रीहरु राम्रोसँग अध्ययन नगरी आधिकारिक हो होइन भनी नबुझी भ्रामक समाचारहरु सियर, लाइक, कमेन्ट गर्ने, मानिसहरु भयविद र त्रसित पार्न नहुने तर्फबाट ध्यान दिनुपर्छ ।

लकडाउनको समयमा, विभिन्न समस्यामा परेका मानिसहरुलाई उद्दार, सहयोग, समन्वय र सहकार्यको लागि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन जरुरी छ । सरकारबाट जारी हुने अपडेट र सूचनाहरु प्रचारप्रसार गर्ने लकडाउनको आफूले लागु गर्दै अरुलाई पनि लागु गर्न प्रोत्साहित गर्ने तर्फ ध्यान जान जरुरी छ । चिनबाट सुरुभएको कोरोनाले हाल स्पेन उछिनीसकेको छ । इटलीमा चीनको भन्दा दोबर मानवीय भन्दाबढि क्षती भईसकेको छ ।

अमेरिका, इरान, फ्रान्स लगायत देशहरु नियन्त्रण बाहिर जान थालीसकेको यो अवस्थामा हामीले पूर्व तयारी, आफू आफ्नो परिवार र राष्ट्र प्रति समर्पित गर्दै स्वास्थ्यको लागि मात्र भए पनि राज्य भनेको कुरा मानेर घरमा नै बस्न मात्र सकेमा पनि हामी कोरोनालाई हराउन सक्छौँ । यस महामारीबाट आफू जोगिदै अरुलाई जोगाउन लकडाउनको विकल्प छैन । सुरक्षित रहदै राज्यको कुरालाई पालन गर्ने दायित्व अब तपाईं हाम्रो काधमा छ ।

(लेखकः राष्ट्रिय युवा परिषद्म आबद्ध सामाजिक संघसंस्था सञ्जालको अध्यक्ष हुन )

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २१:४१