१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कोरोना संक्रमणबाट जोगिन धादिङमा उच्च सतर्कता


-विवेक अर्याल

११ चैत, धादिङ । कोरोना भाइरसको संक्रमणबाट जोगिन धादिङ जिल्लाका १३ वटै स्थानीय तह पूर्व तयारीमा जुटेका छन् । जिल्लाका २ नगरपालिका र ११ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । जिल्लाको सदरमुकाम रहेको निलकण्ठ नगरपालिकाले धादिङबेसीमा ३५ शैयाको क्वारेन्टाईन निर्माण गरेकोे छ ।

कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न नीलकण्ठ नगरपालिकाले डिभिजन वन कार्यालयको भवनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त क्वारेन्टाईन निर्माण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सोको रोकथाम र नियन्त्रण गर्न जिल्लाका सबै स्थानीय तहहरुमा रहेको एम्बुलेन्सलाई चुस्त र तयारी अवस्थामा राखिएको छ । गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थलको रुपमा २५ वटा बेड र औषधी उपकरण तयारी अवस्थामा राखिएको छ भने जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आईसोलेसन वार्ड तयार पारिएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसी, बैरेनी खानीखोला नौबिसे, महादेवबेशी, गजुरी बजार, मलेखु, बेनिघाट, बिशालटार, चरौँदि, मझिमटार तथा अन्य बजार क्षेत्र र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी सहितको हेल्थडेक्स संचालन गरिएको छ भने प्रत्येक स्वास्थ्य संस्थामा आउने नागरिकलाई सचेतनामूलक जानकारी प्रदान गर्ने, हात धुने तरिकाको बारेमा जानकारी गराइएको छ ।

यसैगरी सिद्धलेक गााउपालिका वडा नं.४ का अध्यक्ष रामहरी बराकोटिका अनुसार सिद्धलेक गाँउपालिकाकामा कोरोना भाइरस संक्रमण रोक्न आवश्यक सतर्कता अपाउने काम भएको बताए । गाँउपालिकाको हरेक वडामा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन समेत गरिएको छ । भिड हुने स्थान बन्द गराइएको छ । शंका लागेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन हेल्थ डेस्क समेत स्थापना गरिएको छ ।

गाँउपालिका वासीलाई सावुन पानीले हात धोएर मात्र खाने सामग्री प्रयोग गर्न, भेटघाट कम गर्न, घरमा नै बस्नलाई सूचित गरेको, उच्च ज्वरोका विरामीलाई जिल्ला स्थित् अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन वार्डमा पठाउन तयारी अवस्थामा राखिएको छौँ अध्उयक्ष बराकोटिले जानकारी दिए ।

यता रोगको संक्रमणबाट बच्न दैनिक रुपमा बैठक बसेर बिभिनन उपायहरु अपनाइ राखेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । जिल्लाका अस्पतालले आफ्नो सेवा दिनुपर्ने, आवश्यक चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गर्ने, दैनिक भएका घटनाको विषयमा हरेक दिन सूचना जारी गर्ने गरी तयारी भइराखेको समेत प्रजिअ तामाङले बताए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा थप क्वारेन्टाइन निर्माण गर्न आग्रह गरिएको छ । त्यसको लागि स्थानीय तहले व्यवस्थापनको काम गरीरहेको जनाएका छन् ।
यद्धपी हालसम्म धादिङमा रोगको संक्रमीत ब्यक्ती भेटिएको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १६:०७