८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शेयर कारोबार आजदेखि एक हप्ताका लागि बन्द


१० चैत, काठमाडाैँ । कोरोना संक्रमणका कारण अन्योलमा रहेको शेयर बजार सोमबार (आज)देखि यस साताभर बन्द हुने भएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतबारसम्मका लागि शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । बोर्डले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि धितोपत्र ऐनअनुसार ५ दिनका लागि शेयर कारोबार बन्द गर्न लागेको हो ।

विश्वभरी फैलिएको कोरोना भाइरसको कारणले मानिस जम्मा हुन तथा सेयरको साफसाफ गर्नसमेत समस्या हुने भएकाले तत्कालका लागि कानुनबमोजिम कारोबार रोका गरिएको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।

‘लगानीकर्ता, मर्चेन्ट बैंकर तथा ब्रोकरले आम जनमानसमा देखिएको त्रासका कारण शेयर कारोबार बन्द गराउनुपर्ने मागअनुसार आगामी ५ कारोबार दिनका लागि शेयर कारोबार बन्द गर्ने निर्णय भएको हो,’ ती अधिकारीले भने ।

शेयर कारोबारमा कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै कारोबार बन्द गरिएको उनले बताए । धितोपत्र ऐन २०६३ को दफा ९० मा रहेको बोर्डको विशेष अधिकारअन्तर्गत धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ । सोही दफाको आधारमा धितोपत्र बोर्डले आगामी ५ दिनका लागि कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

मंगलवार निकै विवादका बिच अर्थमन्त्रीको समेत सहभागितामा बजारको विषयमा नियामक निकायले निर्णय गर्नुपर्ने भनेपछि आइतबार नै बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से)लाई पत्राचार गरेको थियो । बोर्डको पत्रको जवाफमा नेप्सेले अन्तराष्ट्रिय परिप्रेक्षमा पुँजी बजार बन्द भएको घट्न न्यून रहेको भए पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर बन्द गर्न सकिने रायसहित जवाफ दिएपछि आइतबार नै बोर्डको सञ्चालक समितिले कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा भएको छलफलका आधारमा धितोपत्र बजार बन्द गर्न आवश्यक रहे नरहेको राय पाउन भनी सुझाव मागेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । “विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि तथा लगानीकर्ताको स्वास्थ्यको हितमा राखी बजार बन्द गर्न सकिने राय दिएको हो,” उनले भने, “बजारका सम्पूर्ण सम्वद्ध पक्षहरू शेयर कारोबारभन्दा स्वास्थ्य ठूलो रहेको हुनाले तत्कालका लागि बन्द गर्नुपर्ने लिखित अनुरोधसमेत आएको हुनाले हामीले सो राय दिएका हौं ।”

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा्भन्दा बाहेक बन्द गर्न निर्देशन दिएसँगै शेयर बजार बन्द हुने कि नहुनेमा अन्योल रहेको छ । अन्योलका बिच आइतबार पुँजी बजारमा शेयर कारोबार भए पनि अवस्था भने सहज रहेन । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई र नेप्सेले धितोपत्र बोर्ड तथा अर्थमन्त्रालयलाई देखाउँदै आफू जोगिने मात्र काम गरे । आइतबार अर्थ मन्त्रालयमा भएको बैठकले बजारको विषयमा नियामक निकायले नियर्ण गर्नुपर्ने भनेपछि बन्द गर्न आवश्यक रहे नरहेको भन्दै धितोपत्र बोर्डले नेप्सेसँग राय मागेको थियो ।

धितोपत्र बजार पनि वित्तीय क्षेत्रभित्र परेको छ । त्यस आधारमा धितोपत्र बजार पनि अत्यावश्यक सेवा भित्र पर्ने देखिन्छ । तर, बोर्डले देशको परिस्थितिअनुसार विशेष अधिकारको प्रयोग गर्दै कारोबार रोक्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा पनि संकटको अवस्थामा बैंकिङ क्षेत्रपछि बन्द हुनेमा बल्ल पुँजी बजार परेको देखिन्छ । कोरोना भाइरसको संक्रमणले आक्रान्त भएका देशहरूले पनि पुँजी बजारमा सुरक्षका उपायहरू अपनाएर सञ्चालन गरिरहेको अवस्था छ । तर, नेपालको सन्दर्भमा नियामक निकायले नै बन्द गर्ने निर्णय गर्दा संकटको समय सम्पत्री बिक्री गरेर गर्जो टार्नेलाइ समस्या हुनसक्ने सन्दर्भमा पनि ध्यान दिन जरुरी हुने देखिन्छ । कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ०९:४९