१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भारतकी चर्चित गायिका कनिका कपूरलाई काेरोना भाइरसकाे सङ्क्रमण


७ चैत, काठमाडाैँ ।  भारतकी चर्चित गायिका कनिका कपूरलाई कोरोना भाइरसकाे सङ्क्रमण भएकाे छ । कोरोना भाइरसकाे सङ्क्रमण देखिएपछि कनिकालाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

गायिका स्वयंले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सङ्क्रमण भएकाे जानकारी दिएकी हुन् । कनिका कपूर गएकाे मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कनिकाले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन ।

पार्टीमा करिब ५ सय मानिसहरुको सहभागिता रहेकाे थियो । कनिकालाई कोभिड १९ पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले कनिकाको पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने बताइएको छ ।

कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँदा काेराेना भाइरस पोजेटिभ देखिएको बताएकी छिन्। कनिकाको इन्स्टाग्राम पोष्टमा बलिउड कलाकारहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार २१:३४