१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

स्वास्थ्य मन्त्रालयको समन्वयमा टेलिकमको मोबाइलमा कोभिड-१९ को सन्देशमुलक ‘रिङ ब्याक टोन’


६ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन सुरू गरेको छ ।

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयको समन्वयमा सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने सङ्क्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् । स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका प्रमुख सुनिल शर्माले स्मार्ट फोन र एनसेलसँग पनि कोभिड १९ को ‘रिङ ब्याक टोन’ मा जनचेतनामुलक सन्देश राख्ने विषयमा समन्वय भएको चाँडै नै कार्यान्वयनमा अाउने जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार २१:५२