८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चीनमा बुधबार एकजना मात्र कोरोना संक्रमित भेटिए


५ चैत, बेइजिङ । चीनमा बुधबार कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य शहर उहानमा लगातार दोस्रो दिन एकमात्र सङ्क्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

हुबेई प्रान्तको वरिपरि नयाँ सङ्क्रमण विगत सात दिनमा ९ भन्दा कम सङ्क्रमित पाइएको बताइएको थियो । फेबु्रअरीको शुरुमा चीनको हुबेइ प्रान्तको उहान शहरमा दिनहूँ हजारौंको संख्यामा कोरोना भाइरसका सङ्क्रमित हुने गरेकोमा गएको हप्तामा ९ जनाभन्दा कम मात्र विरामी पाइएको सो आयोगले जनाएको छ ।

उहान शहरमा गत जनवरी २३ मा ११ करोड मानिसहरूलाई अलग्गै राखिएको थियो । तर हालैका दिनहरुमा प्रान्तको केही भागहरुमा प्रतिबन्धहरुमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई “मौलिक रुपमा रोकेको” जनाएको छ । हाल चीनमा स–साना शहरहरूले स्वस्थ मानिसहरूलाई काममा फर्काउन वा आफ्नो गाउँहरू फर्काउन अनुमति दिएका छन् । तर बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ ।

बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ । सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ ।  चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १५:४७