१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पर्यटकीय सम्भावना खोज्दै बागलुङ–ढोरपाटन साइकलयात्रा


२ चैत, गलकोट । बागलुङ जिल्लामा पछिल्लो सयम पर्यटन सम्भावना र गतिविधि बढ्दो छ । शनिबार मात्र नेपालका विभिन्न स्थानबाट आएका उत्साही युवाको टोलीले नयाँ पर्यटन ‘रुट’ र गन्तव्यको खोजी गर्दै बागलुङबाट ढोरपाटनसम्मको साइकलयात्रा तय गरेका छन् ।  साइकल पर्यटनमा लामो समय सक्रियरूपमा लाग्नुभएका पद्येन्द्रनाथ कर्माचार्य, कवि मर्हजन, रविकर तामाङ र शरद चन्दको समूह पाँचदिने अध्ययनका क्रममा साइकलयात्रामा ढोरपाटन निस्किएका हुन् ।

जिल्ला सदरमुकामबाट नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनसम्म पुग्ने साइकलयात्राका विभिन्न स्थानको गन्तव्य ‘रुट’ पहिचानका लागि साहसिक साइकलयात्रा तय गरिएको युवा टोलीले जनाएको छ । पाँचदिने साइकलयात्राका क्रममा साइकलमार्फत ढोरपाटन पुग्नका लागि आवश्यक रुट, आवास तथा विश्रामस्थललगायतका सम्भावनाको पहिचान गरिने ट्रेकिङ व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो । “हामीले बागलुङबाट ढोरपाटनसम्मको पाँचदिनको साइकल यात्राका क्रममा लाग्ने समय, सडकको अवस्थाको खोजी गर्नेछौँ”, शर्माले भन्नुभयो, “हामीले साइकलयात्राको सम्भावना खोज्न साइकलयात्राको अनुभवनै उत्तम हुनेछ ।”

साहसिक पर्यटनमा रुचि भएका स्वदेशी तथा विदेशी पाहुनालाई साइकलमार्फत बागलुङबजार, काठेखोला गाउँपालिका–४ फापरखेत, बिहुँको घोडाबाधे, गलकोट, नमूना शहर बुर्तिवाङ हुँदै ढोरपाटन पु¥याउनका लागि सम्भावनाको खोजी गरिने टोलीको लक्ष्य छ । यो यात्रामा निस्किएका युवा ट्रेकिङ व्यवसाय तथा लामो समयदेखि विभिन्न स्थानमा साहसिक साइकलयात्रासहितको पर्यटन प्रवद्र्धनमा सक्रिय छन् ।

नेपालमा साहसिक पर्यटनअन्तर्गत साइकल पर्यटनसमेत महत्वपूर्ण भएकाले बागलुङ हुँदै ढोरपाटनसम्म साइकलमार्फत पर्यटक पु¥याउने उद्देश्य राखेर अध्ययनका लागि साइकलयात्रामा हिँडेको १० वर्षदेखि साइकल पर्यटन व्यवसायसँग आबद्ध तथा ललितपुर साइकल समूहका सचिव पद्येन्द्रनाथ कर्माचार्यले बताउनुभयो । कर्माचार्यका अनुसार साइकल रुटको अवस्था, साइकलयात्रामा लाग्ने समय, बीचमा बस्ने स्थान तथा ढोरपाटनको सम्भावनालगायतका विषयमा अध्ययन गरिनेछ ।

अध्ययनपश्चात साइकल पर्यटनको सम्भावना देखिएमा विदेशी तथा स्वदेशी पर्यटक साइकलमार्फत ढोरपाटन पु¥याउने लक्ष्य राखेको अर्का साइकल व्यवसायमा आबद्ध साइकलयात्री कवि मर्हजनले जानकारी दिनुभयो । सडकमार्गका माध्यमबाट ढोरपाटन पुग्न सकिने भए पनि कतिप पर्यटक साइकलमार्फत पर्यटकीयस्थल पुग्न रुचाउँछन् । बागलुङ बजारबाट ढोरपाटन १४० किलोमिटरको दूरी छ । गाडीमा एक दिनको यात्रामा पुग्न सकिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १०:४८