१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रधानमन्त्री ओलीले उपचारका लागि सरकारी अस्पताल रोज्दा सर्वत्र प्रशंसा, कसले के भने ?


१ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक आफ्नै देशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली चिकित्सक र नेपालको स्वास्थ्य संरचनालाई विश्वास नगर्ने राजनीतिक वृत्त र विदेश गएर उपचार गर्ने पहुँचवालालाई यसले गतिलो पाठ पढाएको छ । नेपाली चिकित्सक र नेपालका अस्पताल विदेशका भन्दा कुनै कुरामा पनि कम छैनन् भन्ने सन्देश यसले प्रवाह गरेको छ ।

सानोतिनो स्वास्थ्य समस्यामा पनि राज्यको कोषबाट विदेश गएर उपचार गर्ने नेता, मन्त्री, सांसद, पूर्वभीआईपीलाई पनि उपचारमा विदेश जानुअघि एकपटक सोच्न बाध्य तुल्याएको छ । प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपण सहज थिएन । उहाँलाई धेरै समस्या थिए । धेरैको अनुमान थियो कि प्रधानमन्त्रीले अमेरिका, सिङ्गापुारजस्ता विकसित देशमा गएर मिर्गौला प्रत्यारोपण गराउनुुहुन्छ । यस्ता अनुमान अहिले हावा खाएका छन् । उहाँले स्वदेशकै शिक्षण अस्पताल महारजगन्जमा मिर्गौला प्रत्यारोपण गराउनुभयो । यसले जस्तोसुकै उपचार पनि नेपालमै गराउन/गर्न सकिन्छ भन्ने वातावरण तयार गरेको छ ।

दोस्रो मिर्गौला प्रत्यारोपण नेपालकै सरकारी अस्पतालमा गराएर प्रधानमन्त्रीले नेपाली चिकित्सक र नेपालका अस्पतालप्रति ठूलो विश्वास जगाएको भन्दै चिकित्सकहरूले पनि प्रशंसा गरिरहेका छन् । यसलाई ऐतिहासिक अवसर भएको उनीहरू बताउँछन् । ‘पहिले–पहिले नेताहरू विदेश जाने गर्दथे,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भन्नुभयो, ‘नेता तथा पहुँचवालाले नजिकको तीर्थ हेलाँ गरेकाले नेपाली चिकित्सकको विश्वासमा कमी आएको थियो ।’

पछिल्लो समय आँखा रोगको उपचारमा नेपाल ‘मेडिकल हब’का रूपमा स्थापित भइसकेको छ । तराई क्षेत्रका आँखा अस्पतालमा ७० प्रतिशत बिरामी भारत, बङ्गलादेश, श्रीलङ्काबाट आउँछन् । यस्तै मिर्गौला प्रत्यारोपणका लागि पनि भारतलगायत देशबाट उपचार गराउन मानिस आउन थालेका छन् । सम्पूर्ण चिकित्सकहरूको नेतृत्व गर्ने छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेर नेपाली चिकित्सकहरूका लागि ठूलो अवसर र उपलब्धि भनेको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीको उपचारमा संलग्न शिक्षण अस्पतालका चिकित्सक तथा नर्सहरूको अनुभवलाई यहाँ प्रस्तुत गरिएको छ ।

प्रा.डा. प्रेम खड्का
निर्देशक, त्रिवि शिक्षण अस्पताल
प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गर्न पाउँदा धेरै खुसी र उत्साहित भएका छौँ । उहाँले नेपाली चिकित्सकलाई विश्वास गरेर हामीलाई ठूलो अवसर दिनुभएको छ । प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै हुँदा भीआईपीहरू सानो समस्या देखिँदा पनि विदेश जाने प्रवृत्तिको अन्त्य हुन सक्छ । नेपालमा प्रविधि र दक्ष चिकित्सक भएकाले प्रधानमन्त्रीको उपचार सफल भएको हो । यसले अन्य विदेश जानेहरूलाई नेपालमै उपचार गर्न र नेपालको स्वास्थ्य संस्थालाई अझ सुदुढ बनाउन पाठ सिकाएको छ ।

डा. उत्तमकुमार शर्मा
विमागीय प्रमुख, युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जरी
देशको बहालवाला प्रधानमन्त्री आएर शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनु हाम्रा लागि खुसीको कुरा हो । उहाँले हामीहरूलाई विश्वास गरेर आउनुभएको हो । प्रधानमन्त्रीले नेपालमै मिर्गौला प्रत्यारोपण गराउनु ठूलो चुनौती र अवसर पनि हो । प्रधामन्त्रीले मिर्गौला प्रत्यारोपण गर्नुअघि मलाई ‘नडराउनूस् है’ भन्नुभएको थियो । प्रधानमन्त्रीमा पनि ‘हाइप्रोफाइल’ व्यक्तिको मिर्गौला प्रत्यारोपण गराउँदा चिकित्सकहरू डराउने हुन् कि भन्ने परेको रहेछ । उहाँले प्रत्यारोपण नेपालमै गरेर नेपाली चिकित्सकहरूले धेरै ठूलो अवसर प्राप्त गरेका छन् ।

डा. दिव्यासिंह शाह
मिर्गौला रोग विशेषज्ञ
पूर्वयोजनाअनुसार नै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको हो । नेपाली चिकित्सकहरू जस्तोसुकै उपचार गर्न पनि सक्षम हुन्छन् भन्ने सन्देश दिन सकेका छौँ । प्रत्यारोपणपछि हेर्ने सबै सूचकाङ्कहरू अहिले ठीक छ । नयाँ मिर्गौलाले काम गरेको छ कि छैन भन्ने परीक्षण गरिरहेका छौँ । मिर्गौला प्रत्यारोपणपछि धेरै परीक्षण गर्नुपर्ने हुन्छ । सङ्क्रमणका मापदण्डहरू हुन्छन् । एउटै परीक्षण गरेरमात्र हुँदैन । मिर्गौलासहित मुुटु, कलेजोको परीक्षण पनि गर्नुपर्ने हुन्छ । एउटा मानिस जीवित रहनका लागि सबै अङ्गले राम्रो काम गरिरहेको हुनुपर्छ ।

प्रा.डा. प्रेमराज ज्ञवाली
युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन
हाम्रो समूह शल्यक्रिया गर्न सफल भयो । त्यो ठूलो कुरा हो । सर्वसाधारणको र प्रधानमन्त्रीको शल्यक्रिया एउटै हो । त्यसमा कुनै फरक विधिबाट गर्ने होइन । मिर्गौला प्रत्यारोपण कुनै एउटा
व्यक्तिले गर्ने होइन । समूहले गर्ने हो । कसले काट्यो, कसले
थुत्यो, कसले निकाल्यो भन्ने विषय होइन । सबै समूहले मात्र गर्न सकेको हो ।

सहप्राध्यापक डा. पवनराज चालिसे
युरोलोजिस्ट तथा प्रत्यारोपण सर्जन
प्रधानमन्त्रीको सफल शल्यक्रिया भएपछि सर्वसाधारणको पनि विश्वास बढ्छ । अब शिक्षण अस्पतालमा विशिष्टीकृत मिर्गौला प्रत्यारोपण सेन्टरको आवश्यकता छ । सरकारले यसको व्यवस्था गरिदिनुपर्छ । हामीले शिक्षण अस्पतालबाट सातवटै प्रदेशमा आवश्यक जनशक्ति उत्पादन गर्न सक्छौँ । अहिले जनशक्ति उत्पादन गरिरहेका छौँ । शिक्षण अस्पतालमा बुधबारमात्र मिर्गौला प्रत्यारोपण हुने गरेको छ । अब हप्ताको एक दिनमात्र प्रत्यारोपण गरेर सम्भव छैन । नियमित गर्नका लागि सरकारले आवश्यक व्यवस्था गरिदिनुपर्छ । प्रधानमन्त्रीले नेपालमा मिर्गौला प्रत्यारोपण गराउनु गर्व गर्नलायक विषय हो । प्रधानमन्त्रीको यो निर्णयले नेपाली चिकित्सक अब्बल छन् भन्ने विषयलाई पुष्टि गरेको छ । देशको बहालवाला प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नु चुनौती त थियो तर बाहिर धेरै जमघट, सुरक्षाकर्मीहरू भए पनि भित्र शल्यक्रिया कक्षमा भने सामान्य बिरामी र प्रधानमन्त्रीको उपचार एउटै हुने हो । अब देशको स्वास्थ्य प्रणाली सुधार गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ ।

डा. सुवास आचार्य
क्रिटिकल कियर युनिट
मिर्गौला प्रत्यारोपणअघि हाम्रो काम धेरै थिए । आईसीयूको व्यवस्थापनलगायत काम हुन्छन् । शल्यक्रिया गर्ने दुई दिन अघिदेखि हामी कसरी सफल बनाउन सकिन्छ भन्ने योजनामा लागेका थियौँ । देशको प्रधानमन्त्रीजस्तो व्यक्ति आफ्नो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउन आउनुहँुदा हामी हर्षित पनि भयौँ । त्यो सँगसँगै हामीलाई ठूलो दबाब पनि थियो । त्यसमा लुकाउनुपर्ने कुरै छैन । जति राम्रो तयार गरिए पनि केही बिग्रिएला कि भन्ने डर भइहाल्छ । अहिलेसम्म पनि उहाँको स्वास्थ्यलाई सफल बनाउनेतर्फ लागिरहेका छौँ । नेपाली अस्पतालमा नेपाली चिकित्सकले उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्छन् भन्ने सन्देश दिन सक्यौँ ।

डा. अनिल श्रेष्ठ
एनेस्थेसिया प्रमुख
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै हुने भयो भनेर थाहा पाएको हामीले तीन÷चार दिनअघि मात्र हो । यो खबर सुनेर हामीलाई धेरै खुसी लाग्यो । हाम्रो देशका प्रधानमन्त्रीले शिक्षण अस्पतालमा शल्यक्रिया गर्नु ठूलो विषय थियो । खुसीसँगै दबाब पनि थियो । देशको सरकार प्रमुखजस्तो व्यक्ति हाम्रो अस्पतालमा शल्यक्रिया गर्न आउँदै हुनुहुन्छ । हामीले कुन–कुन विषयमा योजना बनाउने भनेर छलफल ग¥यौँ । त्यसका लागि जुट्यौँ । शल्यक्रिया कक्ष र आईसीयूमा के–के कुराको अपुग भइरहेको छ भन्ने खोज्यौँ । कहिलेकाहीँ कुनै औषधि नपाउने पनि भइरहेको हुन्छ । त्यस्ता औषधि खोज्नुपर्ने हुन्छ । सङ्क्रमण नहोस् भन्नेतर्पm पनि सचेत हुनैपर्छ । मिर्गौलादाता र ग्रहणकर्ता दुवैको परीक्षण ठीक भएपछि शल्यक्रिया गरिएको हो ।

रविना महर्जन
नर्सिङ अधिकृत रिसिपेन्टतर्फ
अप्रेसन थिएटरमा काम गर्न थालेको १० वर्ष भइसक्यो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा काम गर्न पाउँदा खुसी, उत्साह र गौरव लागेको छ । अर्को विषय नियमित अप्रेसन थिएटरमा काम गरेजस्तै भएकाले सबै तयारी त्यस दिन पनि गर्नुपर्ने थियो । हल्का दबाब त सबैजनालाई भएको थियो ।
म ‘रिसिपिन’मा भएकाले प्रत्यक्ष रूपमा सहभागी थिएँ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण समूहले गरेको हो । चिकित्सक, नर्स, कार्यालय सहयोगीदेखि सबैको भूमिका महŒवपूर्ण रहेको छ । सधैँभरि गर्ने काम भएकाले त्यस्तो केही नयाँ लागेन । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने हो भन्ने मनमा थियो तर गर्ने प्रक्रिया त एउटै हो ।

पुनम सिंह
नर्सिङ इन्चार्ज
अप्रेसन थिएटरमा धेरै काम नर्सहरूले गर्नुपर्ने हुन्छ । शल्यक्रियाको क्रममा चाहिने सामान मिलाउने, औजारहरू गन्नेदेखि धेरै काम गर्नुपर्ने हुन्छ । आमजनतालाई प्रत्यारोपण गर्ने र प्रधानमन्त्रीलाई गर्ने एउटै प्रक्रिया हो । कुनै त्यस्तो नयाँ अनुभव केही पनि भएन । सुरक्षाकर्मीहरू हुनुहुन्थ्यो । प्रधानमन्त्री अप्रेसन थिएटर भित्र जाँदा सबैतिर हेर्नुभयो । हामीहरूले शुभकामना दियौँ । त्यसपछि एनेस्थेसियाको काम हुन्छ । एनेस्थेसियापछि हाम्रो काम हुन्छ । हामीहरूले काम थाल्यौँ ।

रोजिना दाहाल
नर्स डोनरतर्फ
अरू बिरामीभन्दा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा काम गर्दा अलि फरक अनुभव भयो । काम गर्दा खुसी, गर्व लाग्यो । तर, खुसीसँगै केही डर पनि लागेको थियो । भीभीआईपीको शल्यक्रिया गर्नेक्रममा मनमा केही चसक्कजस्तो हुने रहेछ ।

डा. भोजराज लुइँटेल
युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन
नेपालमा स्वास्थ्य क्षेत्र पछाडि पर्नुका कारण राजनीति हो । राजनीतिक प्रणालीले स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन चाहे तत्काल हुन्छ । अहिलेसम्म स्वास्थ्यलाई हेर्ने दृष्टिकोण फरक थियो । प्रधानमन्त्रीको शल्यक्रिया नेपालमै भएपछि अन्य नेतालाई विदेशभन्दा नेपालमै उपचार गर्न सकिन्छ, विदेश जान पर्दैन भन्ने सन्देश गएको छ ।

कविता देवकोटा
नर्सिङ निर्देशक
प्रधानमन्त्रीले शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नु नेपालीका लागि ठूलो कुरा हो । उहाँलाई कसरी सफल शल्यक्रिया गर्न सकिन्छ र डिस्चार्ज गर्न सकिन्छ भन्नेमा लाग्यौँ । अप्रेसनपछि तीव्र रूपमा नर्सहरूले काम गरिरहेका थियौँ । सबै युनिटका नर्सहरू अहोरात्र खटेर मिर्गौला प्रत्यारोपण सफल बनायौँ । यो समाचार शनिबारको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका हुन । 

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १९:०८